निगमको दुबई-काठमाडौं उडान गर्ने महिला पाइलटलाई सम्मान- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निगमको दुबई-काठमाडौं उडान गर्ने महिला पाइलटलाई सम्मान

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको महिला क्रुले दुबई-काठमाडौं उडान गर्ने महिला चालक दललाई सम्मान गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आइतबार बबरमहलस्थित मुख्यालयमा आयोजित कार्यक्रममा पाइलट भावना गिरी पन्त र को-पाइलट सिर्जना रावतलाई सम्मान गरेका हुन् ।

उनीहरुले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका दिन निगमको उडान नम्बर आरए-२३० दुबई-काठमाडौं उडान सम्पूर्ण महिला चालकदलका सदस्यहरु (ककपिट क्रु र क्याबिन क्रु) को टिमले काठमाडौंमा अवतरण गराएका थिए ।

हाल निगममा कुल ९ जना महिला पाइलट रहेकामा १ जना ए-३३०, ४ जना ए-३२० र ४ जना आन्तरिक उडानका विमानमा कार्यरत रहेका छन् । यसैगरी निगममा कार्यरत १४५ क्याबिन क्रूमध्ये ९६ जना महिला रहेका छन् । हाल नेपालमा ५० हाराहारी महिलाले जहाज र हेलिकप्टर उडाउँदै आएका छन् । आन्तरिक उडानमा महिला चालक दलले नेतृत्व गरे पनि नेपालबाहिर नेपाली वायु सेवामा कार्यरत महिला पाइलटले त्यसअघि उडान भरेका थिएनन् ।

प्रकाशित : फाल्गुन २८, २०७९ २१:५२
प्रतिक्रिया
पठाउनुहोस्

अल नेपाल नोभिस बक्सिङ प्रतियोगिताको तयारी पूरा

प्रताप विष्ट

हेटौंडा — हेटौंडामा मंगलबारबाट हुने अल नेपाल नोभिस बक्सिङ प्रतियोगिताको तयारी पूरा भएको बताइएको छ । हेटौंडा उपमहानगरपालिका-४ परिजातपथस्थित कभर्ड हलमा पत्रकार सम्मेलनको आयोजना गरी मकवानपुर जिल्ला बक्सिङ संघका अध्यक्ष दीपेश जोशीले प्रतियोगिताका सबै तयारी पूरा भएको जानकारी दिए ।

मकवानपुर जिल्ला बक्सिङ संघ र वाग्मती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा हुने प्रतियोगिताको वाग्मती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगितामा २३ जिल्लाबाट ३७ वटा क्लबका १ सय ७८ जना खेलाडीहरु सहभागी हुने अध्यक्ष जोशीले बताए । जसमा २८ जना महिला खेलाडी रहनेछन् । प्रतियोगितामा १७ वर्षदेखि २१ वर्ष उमेरसम्मका खेलाडीले सहभागिता जनाउने छन् ।

नोभिस प्रतियोगिता सहभागी खेलाडीको पहिलो औपचारिक प्रतिस्पर्धाको रुपमा रहनेछ । प्रतियोगितामा सहभागी खेलाडीहरुले १६ विधामा प्रतिस्पर्धा गर्ने अध्यक्ष जोशीले जानकारी गराए । पुरुषतर्फ ९ र महिलातर्फ ७ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा मकवानपुरका ७ जना खेलाडीले सहभागिता जनाउनेछन् । विधागत प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः १० हजार, ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसैगरी उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट महिला र पुरुष खेलाडी, उत्कृष्ट टिम, उत्कृष्ट रेफ्री र बेष्ट लुजरलाई ३ हजार रुपैयाँ प्रदान गरिने जनाएको छ । राम्रो खेल्दा–खेल्दै पनि हारेका एक जना बेष्ट लुजरलाई पुरस्कृत गरिने अध्यक्ष जोशीले बताए । प्रतियोगिता हरेक वर्ष आयोजना गरिने बताइएको छ ।

जिल्ला बक्सिङ संघका उपाध्यक्ष एवम् हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष सुशील घिमिरेले प्रत्येक दिन खेलको म्यान अफ द म्याचलाई ३ हजार रुपैयाँ उपलब्ध गराउने बताए। बक्सिङका पूर्वअन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका घिमिरेले मकवानपुरका २३ जना खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेलमा मेडल जितेको जानकारी दिएका थिए । मेडल जित्न सफल खेलाडीहरुलाई प्रतियोगितामा सम्मान गरिनेछ ।

प्रकाशित : फाल्गुन २८, २०७९ २१:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×