‘रास्वपालाई प्रश्न सोध्नै नहुने ?’- भिडियो - कान्तिपुर समाचार

‘रास्वपालाई प्रश्न सोध्नै नहुने ?’

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहभागिता र बहिर्गमनको औचित्यबारे प्रश्न उठाएका छन् । लोकतन्त्र संवाद केन्द्रले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको विचार गोष्ठीमा महामन्त्री थापाले रास्वपाले सरकारमा जानु र बाहिरिनुको औचित्य पुष्टि गर्न नसकेको बताएका हुन् ।

‘सरकारमा जाँदा पनि किन गयौ भन्न नमिल्ने अनि छाड्दा पनि किन छाड्यौ भनेर सोध्नै नहुने हो ?’ उनले प्रश्न गरे ।

रास्वपा सभापति रवि लामिछानेले आइतबार पत्रकार सम्मेलन गर्दै पत्रकारिता क्षेत्रका विषयमा दिएको अभिव्यक्तिमाथि टिप्पणी गर्दै उनले राजनीतिक दलहरूले प्रेस स्वतन्त्रताको सम्मान गर्नुपर्ने बताए ।

‘प्रेसले हामीलाई क्वेस्चन सोध्ने ? भनेर हामीले प्रतिशोधपूर्ण रुपमा हेर्न थाल्यौं भने प्रेस र राजनीतिकर्मीका डाइनामिक सम्बन्धहरू बिग्रन्छ । प्रेस स्वतन्त्रता हाम्रा लागि महत्त्वपूर्ण छ ।’

प्रकाशित : माघ २५, २०७९ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्

भुपीको कवितामा नाटक

कान्तिपुर संवाददाता

काठमाडौँ — मण्डलामा नयाँ नाटक मञ्चन सुरु भएको छ । रोज स्वाइट्स निर्देशित 'गलत लाग्छ मलाई मेरो देशको इतिहास'मा कलाकार राजकुमार पुडासैनीको एकल प्रस्तुति छ । वान वर्ल्ड थिएटरको प्रस्तुति रहेको यो नाटक माघ २१ देखि २८ गतेसम्म मञ्चन हुनेछ ।

नाटक कवि भुपी शेरचनको त्यही शीर्षकको कवितामा आधारित छ । देशमा तानाशाही राणा शासन, राजतन्त्र ढलेर प्रजातन्त्र आयो । तर जस्तो व्यवस्था आए पनि जनताको अवस्था जस्ताको त्यस्तै । व्यस्था फेरिए पनि आम जनताको जीवनस्तर परिवर्तन हुन नसकेको विषयलाई नाटकमा मृत(लास) पात्रमार्फत देखाइएको छ । कात्रोमा बेरिएका उनी बिस्तारै चिताबाट उठेर देशको इतिहास लेख्ने प्रयासमा देखिन्छ । हातमा कलम छ, प्वाल परेका कापीहरु छन् ।

त्यही कापीमा केही लेख्न खोज्छ, तर सक्दैन । झट्ट हेर्दा उनी लेखिसकेको त्यही इतिहासलाई पुन:लेखनको अभ्यासमा देखिन्छ । विगतमा लेखिएको इतिहासलाई भत्काउन खोज्ने यो बिम्वले ती तमाम लेखिएका घट्नाहरुमा पुनर्विचार गर्न लगाउँछ । सेतो कात्रोमा बेरिएको मृत चरित्रले मृत इतिहास, लेख्नेहरुको देख्न नसकेको सत्य र लेखिन बाँकी तथ्यहरुको दर्शकलाई डोर्‍याउँछ ।

नाटकमा खासै संवाद छैन । कविता छ । 'एब्सर्ड' शैलीको यो नाटकमा प्रमुख चरित्रले बारम्बार दोहोर्‍याइरहने क्रियाकलाप छन् । उनी हरेक पटक कसैलाई सिन्दुर लगाउँछन् । पोते लगाएर नयाँ व्यवस्थाले ल्याउने 'विकास'का कुरा गर्छ । पुजारी बन्दै हवनमा 'स्वाहा' गर्न भुल्दैनन् । चुरोट तान्दै 'रे'का कुरालाई धुवामा उडाइरहन्छन् । टोपी पहिरेर व्यवस्थाका कुरा गर्छन् । चितामा फन्को लगाइरहेको दृश्य नाटकमा सुरुदेखि अन्तिमसम्म दोहोरिन्छ । उनले निभाउने फरक चरित्र अनि फरक कृयाकलापका विभिन्न विम्बहरु छन् । तर, मञ्चमा बिना संवादले उनले दोहोर्‍याइरहने दृश्यको एउटे विम्ब हो,' आम मानिसको जीवन चक्र चलिरह्यो । व्यवस्था बद्लिरह्यो । तर फेरिएन मानिसका जीवनशैली' । मनोरञ्जनात्मक शैलीका नाटक हेर्ने दर्शकलाई यो शैलीमा ध्यान लगाउन मुस्किल पर्ला । तर, चरित्रले गर्ने हरेक क्रियाकलापका बुझ्दै जाने हो भने 'गलत लाग्छ मलाई मेरो देशको इतिहास'ले मन छुन सक्छ ।

प्रकाशित : माघ २५, २०७९ १६:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही भिडियोबाट
×