प्रदेशस्तरीय भलिबलमा नवलपुर र पर्वत विजयी
गोरखा — गण्डकी प्रदेशका जिल्लास्तरीय भलिबल प्रतियोगिताको पुरुषतर्फ नवलपुर र महिलातर्फ पर्वतले उपाधि जितेको छ । जिल्ला विकास समितिको समन्वय तथा प्रदेश समितिको आयोजनामा गण्डकी प्रदेश जिल्लास्तरीय भलिबल प्रतियोगिता गोरखाको वारपाकमा भएको थियो ।
बुधबार नवलपुर र स्याङजाबीच भएको फाइनल खेलमा ३–२ को सेटले नवलपुर पहिलो बनेको हो । पहिलो बनेको नवलपुरले एक लाख नगदको साथमा मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कार पाएको छ ।
दोस्रो बनेको स्याङजाले नगद ७५ हजार र तेस्रो बनेको म्याग्दीले ५० हजार नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्तसिंह बस्नेतले जानकारी दिए ।
महिलातर्फ पर्वत र म्याग्दीबीच भएको फाइनल खेलमा ३–२ सेटले पर्वत पहिलो बनेको हो । पहिलो बनेको पर्वतले एक लाख, दोस्रो बनेको म्याग्दीले ७५ हजार र तेस्रो बनेको स्याङजाले ५० हजार नगदको साथका ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाएका छन् ।
सोमबारबाट सुरु भएको भलिबल प्रतियोगितामा महिलातर्फ १० र पुरुषतर्फ १० जिल्लाका टिमले सहभागिता जनाएका थिए । सर्वोत्कृष्ट खेलाडी पुरुषतर्फ नवलपुरका हिमाल सुनारी बने भने महिलातर्फ पर्वतकी रिमा कुँवर बनिन् । उनीहरुलाई पनि नगद पुरस्कारका साथ पुरस्कृत गरिएको थियो ।
प्रकाशित : वैशाख १२, २०८१ २०:००