कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

मेयर कपको फाइनलमा धनुषा र बारा भिड्ने

सन्तोष सिंह

धनुषा — जनकपुरधाममा जारी दोस्रो मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा धनुषा र बारा साविककै विजेता र उपविजेता टिमबीच प्रतिस्पर्धा हुने भएको छ । 

मेयर कपको फाइनलमा धनुषा र बारा भिड्ने

शुक्रबार भएको दुई सेमिफाइनल खेलमा घरेलु टिम धनुषा र बारा विजयी भई फाइनलको यात्रा तय गरेका हुन् । प्रथम मेयर कपको उपाधि धनुषा उचालेको थियो भने बारा उपविजेता बनेको थियो।

पहिलो सेमिफाइनल खेलमा धनुषाले पर्सालाई ५ रनले पराजित गरेर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ भने बाराले सर्लाहीलाई ४४ रनले पराजित गरेर फाइनलमा पुगेको हो । धनुषाले टस जितेर सुरुमा ब्याटिङ गरेको थियो । उसले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर पर्सासमक्ष मात्र ९८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। खराब सुरुआत गरेको धनुषाका लागि अन्तिम विकेटको रुपमा आएका साइमोन रायले सार्वधिक १५ बलमा २०, पशुराम यादव १५ र विक्रान्त यादवले १२ रन बनाएका थिए । यी बाहेक धनुषाका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

धनुषाका अनुभवी खेलाडी हरिशंकर साह, हिमाशु दत्त, विशाल शुशलिङ र म्यान यादवले पनि ब्याटिङमा राम्रो प्रदर्शन गर्न सकेनन् ।

पर्साका लागि बलिङ गरेका सम्साद मन्सुरी र नसरुदिन अन्सारीले ३/३ विकेट लिए । ‘लो स्कोर’ पाएका पर्साका खेलाडीहरु जवाफी ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर मात्र ९२ रन बनाउन सके । पर्सा टिमले दुई विकेट शून्य रनमै गुमाएका थिए । पर्साका लागि रञ्जन यादवले सर्वाधिक ३९ बलमा नटआउट ३७, सोनु शर्मा २५ रन बनाएका थिए ।

धनुषाका लागि बलिङ गरेका रुपेश यादव ३, विशाल शुशलिङ २ र विक्रान्त यादवले पनि २ विकेट लिएका थिए । यस खेलको म्यान अफ दी म्याच धनुषाका विशाल शुशलिङ घोषित भएका थिए ।

यस्तै, शुक्रबारकै दोस्रो सेमिफाइनल खेलमा सर्लाही टिमले टस जितेर बारालाई ब्याटिङको लागि आमन्त्रण गरेको थियो । बाराले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रनको लक्ष्य सर्लाहीसमक्ष प्रस्तुत गरेको थियो । उसका लागि अरनिको यादव सर्वाधिक ३३ बलमा ४९ रन, शाहिल पटेल १७ र निकेश गुप्ताले नटआउट १६ रन बनाए ।

सर्लाहीका लागि बलिङ गरेका चक्रराधर यादवले २ विकेट लिए भने विशाल पटेल, अभय यादव, गोपिकान्त मुखिया र राहुल महतोले समान १ विकेट लिए ।

जवाफी ब्याटिङका लागि उत्रेका सर्लाही टिम १५ ओभर २ बलमा सबै विकेट गुमाएरमात्र ९६ रन बनाउन सके । सर्लाहीका लागि कैफ मिकरानी १७, राहुल महतो २० र सञ्जीव दासले ३१ रन बनाए ।

बाराका लागि कसिलो बलिङ गरेका अरनिको यादव ४ ओभरमा १९ रन खर्चेर ४, निखिल सिंह ३ र पवन सराफले २ विकेट लिए । यस खेलको म्यान अफ दी म्याच बाराका अरनिको यादव घोषित भएका थिए ।

शनिबार रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्य रंगशालामा उपाधिको लागि धनुषा र बाराबीच बिहान ९ बजेदेखि प्रतिस्पर्धा हुने छ ।

प्रकाशित : चैत्र २३, २०८० २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?