कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

मैत्रीपूर्ण क्रिकेटमा नेपाल हङकङसँग पराजित

काठमाडौँ — मैत्रीपूर्ण टी–२० क्रिकेटमा नेपाल हङकङसँग पराजित भएको छ । हङकङले नेपाललाई ७३ रनले पराजित गरेको हो । हङकङमा शनिबार भएको खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै हङकङले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा दुई सय १२ रन बनायो । दुई सय १३ रनको लक्ष्य पाएको नेपालले १६ दशमलव चार ओभरमा सबै विकेट गुमाएर एक सय ३९ रनमात्र बनाउन सक्यो ।

मैत्रीपूर्ण क्रिकेटमा नेपाल हङकङसँग पराजित

नेपालका लागि विनोद भण्डारीले २२ बलमा ४१ रन जोडे । कप्तान रोहितकुमार पौडेलले ३० रन र आरिफ शेखले ३८ रन बनाए ।

यसअघि हङकङका लागि बाबर हयातले अर्धशतकीय पारी खेले । उनले ४९ बलमा तीन चौका र १३ छक्काको मद्दतमा एक सय १० रन बनाए । यस्तै मार्टिन कोइत्जीले ३१ र अंशी राथले ३९ तथा अजिज खानले अविजित २१ रन बनाए । बलिङतर्फ नेपालका लागि आजैको खेलमा टी–२० क्रिकेटमा डेब्यु गरेका आकाश चन्दले तीन विकेट लिए । त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली बिहीबार हङकङ गएको थियो । नेपाल, हङकङ र पपुवा न्यूगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० आई सिरिज सुरु हुँदैछ । त्यसअघि नेपालले आज हङकङसित एउटा मैत्रीपूर्ण खेल खेलेको हो । त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल फागुन २७ गते हङकङसँग खेल्ने छ ।

यस्तै नेपालले फागुन २९ गते पपुवा न्यूगिनीसँग खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुने छ ।

नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुल्सन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा छन् । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली त्रिकोणात्मक शृंखला खेल्नका लागि बिहीबार हङकङ गएको हो ।

प्रकाशित : फाल्गुन २६, २०८० १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?