२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

ओभलमा टी टेन क्रिकेट खेलाउँदै नेपाली

नविन पोखरेल

लन्डन — दक्षिण लन्डनको ल्याम्बेथ बरोमा अवस्थित अन्तर्राष्ट्रिय क्रिकेट ग्राउण्ड ओभलमा नेपाली प्रतियोगिता गराउने तयारी भइरहेको छ । सन् १८४५ मा स्थापना भएयता सरे काउन्टी क्रिकेट क्लबको घरेलु मैदान बनेको उक्त स्थानमा माया इभेन्ट्सले टी टेन क्रिकेट प्रतियोगिता गर्न लागेको हो । 

ओभलमा टी टेन क्रिकेट खेलाउँदै नेपाली

आयोजक माया इभेन्ट्स तथा माया सपोर्टेड लिभिङ लि. का निर्देशक राज पाण्डेले नेपालस्थित 'द अरफन्स होम'को सहयोगार्थ आउँदो जुन २०२४ मा टी टेन प्रतियोगिता गर्ने तयारी भइरहेको जानकारी दिए ।

पाण्डेका अनुसार, नेपाल र विदेशमा रहेका अन्तर्राष्ट्रिय खेलाडीसहित ६ टिम ओभल स्टेडियममा खेल्नेछन् ।

उक्त प्रतियोगिताको अनुमानित खर्च झण्डै एक लाख १० हजार पाउण्ड हुनेछ । नेपालीले निजी क्षेत्रबाट संयुक्त अधिराज्य (यूके) मा गर्न लागेको यो ठूलो महत्वकांक्षी इभेन्ट हो । प्रतियोगितालाई बेलायती प्राविधिकको सहयोगमा प्राइम टिभीबाट लाइभ गर्ने तयारी छ ।

नेपालले क्रिकेटमा ठूलो फड्को मारिरहेका बेला बेलायतमा यो स्तरमा प्रतियोगिता गर्दा नेपाली खेलाडीको एक्पोजर थप बढ्ने विश्वास पाण्डेको छ ।

'मेरो उद्देश्य नेपाली खेलाडीलाई बेलायतसँग लिंकअप गराउने हो,' पाण्डेले भने, 'यस्ता प्रतियोगिताले खेलाडीको मनोबल पनि बढ्नेछ ।'

यही प्रतियोगिताका लागि आफूले छिट्टै पूर्व कप्तान तथा नेपाल क्रिकेट संघ (क्यान) का नवनिर्वाचित सचिव पारस खड्का लगायत पदाधिकारीलाई भेट्ने पाण्डेले बताए ।

माया सपोर्टेड लिभिङ लि. ले अगष्ट पहिलो साता ब्रिटिश नेप्लिज प्रिमियर लिग पनि प्रायोजन गरेको थियो । सो अवसरमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल सोही कम्पनीको ब्राण्ड एम्बासडर बनेका थिए । यस्तै, गत सेप्टेम्बरमा तेस्रो माया सुपर सिक्स क्रिकेट पनि भएको थियो ।

प्रकाशित : आश्विन १९, २०८० ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?