कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

विश्व एथलेटिक्स च्याम्पियनसिप : १०० मिटरमा आयुषको ११.०७ सेकेन्ड

ध्रुव तुलाधर

काठमाडौँ — नेपाली धावक आयुष कुँवरले शनिबार विश्व एथलेटिक्स च्याम्पियनसिपको पुरुष १०० मिटर दौड ११.०७ सेकेन्डमा पूरा गरेका छन् ।हंगेरीको बुढापेस्टस्थित नेसनल एथलेटिक्स सेन्टरमा भइरहेको विश्व एथलेटिक्स च्याम्पियनसिपमा आयुष नेपालका एक्लो प्रतिद्वन्द्वी हुन् ।

विश्व एथलेटिक्स च्याम्पियनसिप : १०० मिटरमा आयुषको ११.०७ सेकेन्ड

१०० मिटर दौडको प्रारम्भिक हिटमा उनले उक्त टाइमिङ निकालेका थिए । हिट नम्बर २ मा उनी चौथो स्थानमा रहे । उक्त हिटबाट मलेसियाका अजिम फामी (१०.२४) र बेलिजका ब्रेन्डन जोन्स (१०.९४) अर्को चरणलाई छनोट भए ।

प्रारम्भिक हिटमा दुरी पार गर्ने २६ प्रतिस्पर्धीबीच समग्रमा आयुष १५ औं स्थानमा रहन सफल भए । १०.९४ सेकेन्डअगाडि दुरी पार गर्ने १० खेलाडी भने अघिल्लो चरणका लागि छनोट भएका छन् ।

नेपालको राष्ट्रिय कीर्तिमानलाई तोड्ने लक्ष्यमा अगाडि बढिरहेका आयुषले गत महिना (जुलाई १३) को टाइमिङभन्दा सुधार गरेका छन् ।

‘विश्वका एकसेएक धावकको बीचमा प्रतिस्पर्धा गर्नु नै ठूलो अवसर थियो । मैले आफूले सक्दो राम्रै प्रदर्शन गरें, ११ सेकेन्डभन्दा अघि नै पूरा गर्छु भन्ने थियो, यसपालि सकिनँ,’ आयुषले कान्तिपुरसँग भने, ‘तर गुरुहरूले अहिलेको नेपालकै उत्कृष्ट टाइमिङ आएको छ, चिन्ता नलिनु भन्नुभएको छ । त्यसैले खुसी लागेको छ ।’

आफ्नो प्रदर्शनमा अझै धेरै सुधार गर्न बाँकी रहेको उनले बुझेका छन् । उनले भने, ‘अफ सिजनमा म आफू त्यसमै केन्द्रित हुन्छु । त्यहीअनुसार राष्ट्रिय प्रतियोगितालाई तयारी गर्छु,’ उनले भने ।

बैंककमा सम्पन्न एसियन एथलेटिक्स च्याम्पियनसिपमा उनले १०० मिटर दुरी ११.२० सेकेन्डमा पूरा गरेका थिए । एसियन च्याम्पियनसिप नेपालबाट प्रतिनिधित्व गरेको उनको पहिलो अन्तर्राष्ट्रिय सहभागिता थियो । जहाँ उनले २०० मिटर दौडमा पनि प्रतिस्पर्धा गरे ।

त्यसका लागि आयुष दशरथ रंगशालामै ट्रेनिङ गरेर बैंकक गएका हुन् । उनीसहित ६ नेपाली खेलाडीले बैंककमा प्रतिस्पर्धा गरेका थिए ।

१०० मिटर दौडमा नेपालको राष्ट्रिय कीर्तिमान १०.७१ सेकेन्डको छ । सन् १९९९ मा नेपालमै भएको आठौं दक्षिण एसियाली खेलकुदमा यो कीर्तिमान रामकृष्ण चौधरीले बनाएका थिए । जुन आजका दिनसम्म स्थापित छ ।

अमेरिकाको क्यालिफोर्नियामा अध्ययन गरिरहेका आयुष त्यतैबाट सिधै हंगेरी पुगेका हुन् । वाइल्ड कार्ड कोटामार्फत विश्व च्याम्पियनसिप खेलेका उनले हंगेरी जानुअघि भनेका थिए, ‘विश्व च्याम्पियनसिपमा मेरो पहिलो लक्ष्य त वर्षौंदेखि स्थापित राष्ट्रिय कीर्तिमान तोड्नु हुनेछ । त्यसपछि अरू कुरा सोच्ने छु ।’ स्पोर्टिङ नेसन्सको रूपमा नेपाल धेरै पछाडि रहेकाले त्यसबाट देशलाई चिनाउने आफ्नो धोको रहेको उनले सुनाएका थिए ।

आयुषले नवौं राष्ट्रिय खेलकुदमा पनि १०० मिटर दौडमा प्रतिस्पर्धा गरेका थिए । उनी चौथो स्थानमा रहे । जहाँ एपीएफका शिवराज पार्कीले स्वर्ण जितेका थिए । एसियन च्याम्पियनसिपमा भने शिवराज (११.२२ सेकेन्ड) लाई आयुषले उछिनेका थिए ।

२८ वर्षीय धावक आयुषको १०० मिटरको व्यक्तिगत उच्च प्रदर्शन भने ११.०१ सेकेन्डको हो । उनले यो टाइमिङ गत मार्च १८ मा क्यालिफोर्नियामै भएको ट्र्याक एन्ड फिल्डमा निकालेका थिए । उनले क्यालिफोर्नियामा अध्ययनसँगै रनिङ करिअर अगाडि बढाइरहेका छन् ।

अमेरिकामा भएको अघिल्लो संस्करणको विश्व एथलेटिक्स च्याम्पियनसिपमा नेपालबाट म्याराथन धावक कृष्णबहादुर बस्नेतले भाग लिएका थिए ।

प्रकाशित : भाद्र २, २०८० २२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?