१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३५

अप्रत्यासित नतिजाको महिला विश्वकप

आर्सनलका व्यवस्थापक जोनास एडिभाल भन्छन्, ‘महिला फुटबलले अहिले राम्रै प्रगति गरिरहेको छ, अब वरीयताको खास अर्थ रहेन’
द गार्डियन

लन्डन — शीर्ष १० मध्ये तीन टिम त महिला विश्वकप फुटबलबाट बाहिरिइसकेका छन् । त्यो पनि लिग चरणबाटै । दुईपल्टको डिफेन्डिङ च्याम्पियन अमेरिका पनि बाहिरिने डरबाट गुज्रिएको थियो । जर्मनी त फिफा वरीयताको दोस्रो स्थानमा रहेको टिम हो । यही टिमले लिग चरण पनि पार गर्न सकेन । जर्मनीले अहिलेसम्म नौपल्ट महिला विश्वकप खेलेकोमा लिग चरणमै रोकिएको यो नै पहिलोपल्ट हो । क्यानडा वरीयताको सातौं स्थानको टिम हो अनि ब्राजिल आठौं ।

अप्रत्यासित नतिजाको महिला विश्वकप

यी दुई टिमको यात्रा पनि लामो रहन सकेन । दुवै नकआउट चरणमा पुग्न असफल रहे । यसरी केही ठूला नाम प्रतियोगिताबाट चाँडै बाहिरिए । कोलम्बिया, दक्षिण अफ्रिका, जमैका, मोरक्को र नाइजेरियाजस्ता टिमले भने अन्तिम १६ मा आफ्नो चुनौती पेस गरिरहेका छन् । आर्सनलका व्यवस्थापक रहेका जोनास एडिभाल भन्छन्, ‘महिला फुटबलले अहिले राम्रै प्रगति गरिरहेको छ । अब वरीयताको पनि खास अर्थ रहेन ।’

उनी भन्छन्, ‘न त अमेरिकाले राम्रो गर्न सक्यो । जर्मनी र ब्राजिल जस्ता टिम पनि बाहिरिए नै । खासमा विश्व महिला फुटबलमा अन्य देश पनि अगाडि आइरहेका छन् ।’ प्रतियोगिता सुरु हुनुअगाडि जर्मनी, क्यानडा र ब्राजिल मात्र होइन, इटालीको पनि चुनौती लिग चरणमै सकिने छ भनेर कमैले मात्र सोचेका थिए । अझ धेरैका लागि यस्तो भन्नु नै अकल्पनीय थियो । दुईपल्टको विश्व च्याम्पियन जर्मनीले सुरुआत भने राम्रै गर्‍यो ।

टोलीले मोरक्कोलाई ६–० ले हराएको थियो । यस जितपछि धेरैले भन्न थालेका थिए, फेरि एकपल्ट जर्मनीले विश्वकप जिते आश्चर्य नमान्नु । तर, यही जर्मन टिम कोलम्बियाको हातबाट स्तब्धपूर्ण रूपमा २–१ ले पराजित भयो । एकाएक टोलीको स्थिति नाजुक बन्यो । लिग चरणको अन्तिम खेलमा जर्मनीको प्रतिद्वन्द्वी थियो दक्षिण कोरिया । चो यो–ह्युनको गोल मदतमा उक्त खेलमा कोरिया सुरुमै अगाडि रह्यो ।

कप्तान एलेक्जान्द्रा पपले जर्मनीका लागि बराबरी गोल त फर्काइन्, तर बराबरीको नतिजा आफैंमा जर्मनीका लागि पर्याप्त थिएन । जर्मनीको स्थानमा मोरक्को अगाडि बढ्यो । गत वर्ष युरोपेली च्याम्पियनसिपमा जर्मनी फाइनल पुगेको थियो । त्यस प्रदर्शनको आधारमा जर्मनीलाई अमेरिकाको सबैभन्दा ठूलो प्रतिद्वन्द्वी हुने लख काटिएको थियो । तर, पपको टिमले जत्तिकै खेल्ने प्रयास गरे पनि जर्मनी आखिरमा चाँडै घर फर्किन बाध्य रह्यो ।

सन् २०१९ को विश्वकपमा अन्तिम १६ पुगेको क्यानडा त्यसको दुई वर्षपछि ओलम्पिक च्याम्पियन नै बन्यो । तर क्यानडा यसपल्ट यस्तो समूहमा परेको थियो, जसलाई केहीले ‘ग्रुप अफ डेथ’ को संज्ञा पनि दिएका थिए । क्यानडाले वास्तवमै अस्ट्रेलिया, नाइजेरिया र आयरल्यान्डसम्मिलित समूहमा आफूलाई जोगाउन सकेन । अनुमान के थियो भने सहआयोजकका रूपमा अस्ट्रेलिया र क्यानडा नै अर्को चरण पुग्नेछ ।

क्यानडाले सुरुमा नाइजेरियासँग गोलरहित बराबरी खेल्यो भने त्यसपछि आयरल्यान्डलाई हरायो । क्यानडाको अन्तिम खेल अस्ट्रेलियाविरुद्ध थियो र त्यसमा निश्चित जित आवश्यक थियो । यही निर्णायक खेलमा क्यानडा ४–० ले नराम्रोसँग पराजित भयो । टोली सन् २०११ यता पहिलोपल्ट समूह चरणबाटै बाहिरियो । फेरि क्यानडाको घरेलु महिला फुटबल आफैं पनि विवादमा थियो । खेलाडी र क्यानडेली फुटबल संघबीच तनाव चलिरहेको थियो ।

महिला फुटबलको बजेट काटिएको थियो । टिमले पनि चाहिँदा अभ्यासका मौका नै पाएनन् । यता महिला फुटबलका सर्वकालीन महान् खेलाडी ब्राजिली मार्टाले पनि विश्वकपबाट बिर्सनलायक बिदाइ पाइन् । ब्राजिल पनि अन्तिम १६ पुग्न सकेन । यसअघि ब्राजिल लगातार छपल्ट विश्वकपको नकआउट चरण पुगेको थियो । ब्राजिलले आफ्नो पहिलो खेलमा पानामालाई ४–० ले हराएको थियो । तर, त्यसपछिका दुई खेलमा ब्राजिल फिक्का साबित भयो ।

फ्रान्सको हातबाट २–१ ले पराजित भएयता ब्राजिल जमैकासँगको खेलमा एक अंकमात्र बटुल्न सफल रह्यो । सन् २०१९ मा इटाली २० वर्षको अनुपस्थितिपछि विश्वकपमा फर्केको थियो । स्विडेनविरुद्धको खेल ५–० ले गुमाएपछि इटाली कमजोर स्थितिमा पुगिसकेको थियो, त्यसमाथि निर्णायक साबित खेलमा दक्षिण अफ्रिकाको हातबाट ३–२ ले पराजित रह्यो । इटाली वरीयताको १६ औं स्थानमा रहेको टिम हो भने दक्षिण अफ्रिकाको वरीयता छ ५० औं ।

त्यस खेलमा दक्षिण अफ्रिकाका लागि थेम्बी केगाटलानाले दोस्रो हाफको इन्ज्युरी समयमा निर्णायक गोल गरेकी थिइन् । यी सबै पृष्ठभूमिमा प्रश्न उठ्न थालेको छ, के यसपल्टको विश्वकप ‘अन्डर–डग’ टिमहरूको विश्वकप हो त ? वरीयताको शीर्ष ४० मा नपरेका तीन टिम अन्तिम १६ मा पुगेका छन् । मोरक्को ७२ औं स्थानको टिम हो र टोलीले कोलम्बियालाई १–० ले हराएर जर्मनीलाई घर फिर्ता पठाएको थियो ।

सन् २०१९ को विश्वकपमा दक्षिण अफ्रिकाले लिग चरणका सबै तीन खेल गुमाएको थियो । यसपल्ट टोलीको यात्रा अहिले नै सम्झनालायक भइसकेको छ । त्यही विश्वकपमा जमैका तीनै खेलमा पराजित भएर

शून्यको स्थितिमा थियो । टोलीले पनि यसपल्ट ब्राजिल र फ्रान्स जस्ता हेभिवेट टिमलाई गोलरहित बराबरीमा रोक्यो । अझ रमाइलो त के भने जमैकाले लिग चरणमा कुनै गोल पनि खाएको छैन । यसरी कुनै गोल नखाएर अन्तिम १६ पुग्ने दुई टिममध्ये जमैका आश्चर्यजनक रूपमा एक रह्यो । अझै पनि प्रतियोगितामा केही ठूला नाम भने बाँकी नै छन् । त्यसमा एक टिम त पूर्वविजेता जापान रह्यो । टोलीले पनि लिग चरणमा कुनै गोल खाएन । बरू उल्टै प्रतिद्वन्द्वीमाथि गोलको वर्षा गरेको छ । युरोपेली च्याम्पियनका रूपमा इंग्ल्यान्डको प्रदर्शन पनि राम्रो छ । जापान र इंग्ल्यान्ड दुवैले सर्वाधिक ९ अंक बटुलेका छन् । पछिल्लो विश्वकपको फाइनल खेलेको नेदरल्यान्ड्स पनि बलियो देखापरेको छ ।

प्रकाशित : श्रावण २०, २०८० ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?