१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३५

मेसी मियामी जानुको ‘अर्थ’

अमेरिकाका लागि लियोनल मेसी अब आधुनिक ‘पेले’, इन्टर मियामीको ख्याति बढ्ने
द गार्डियन

(मियामी) — इन्टर मियामी अमेरिकी खेल फ्रेन्चाइजमध्ये सर्वाधिक पछ्याइएको पाँचौं क्लब भएको छ । केही अगाडिसम्म इन्स्टाग्राममा मेजर लिग सकर (एमएलएस) को यस टोलीलाई पछ्याउने ९ लाख थिए । अब ९० लाख पुगिसकेका छन् । मियामीले आफ्नो रंगशालाको दर्शक क्षमता बढाउने निर्णय गरिसकेको छ । 

मेसी मियामी जानुको ‘अर्थ’

यस सिजनका बाँकी खेलकै लागि भए पनि सिजनल टिकटको मूल्य ३ सय ५० डलर पुगिसकेको छ । हामी त्यही क्लबको कुरा गरिरहेका छौं, जुन इस्टर्न कन्फ्रेन्सको सबैभन्दा पुछारमा छ । यो टिम लगातार पराजित छ । लगातारको हारको खेलसंख्या पनि ११ पुगिसकेको छ, भर्खरै सेन्ट लुइस सिटीसँग पराजित रह्यो । तर, अर्जेन्टिनी लियोनल मेसी आउने भएपछि क्लब र यसका समर्थकमा व्यापक उत्साह छ । मेसीको प्रभाव अथाह देखिन थालेको छ ।

एमएलएस कमिस्नर डन बारबर मान्छन्, मेसी अमेरिका आउनुको ठूलो अर्थ छ । यसको अर्थ क्लब र लिग लोकप्रिय हुनुमा मात्र सीमित छैन, आर्थिक प्रगतिमा पनि उत्तिकै केन्द्रित छ । उनी भन्छन्, ‘मेसी आउनु भनेको व्यापारको ठूलो अवसर हो ।’

फेरि मेसी मियामी जानुको अर्को एक विशेष अर्थ पनि छ । अहिले फुटबलका धेरैभन्दा धेरै ठूला नाम साउदी अरेबिया पुगिसकेका छन्, त्यहाँको प्रो–साउदी लिग खेल्न । साउदी क्लबहरू अचम्मले विश्वविख्यात खेलाडीलाई मोटो पारिश्रमिक दिन तयार छन् । तर, मेसी साउदी अरेबिया गएनन् । भलै, उनी यो देशको सद्भावना राजदूत भने हुन् । त्यस अर्थमा मियामीका लागि मेसी आउनु एक प्रकारको जित हो । अमेरिकाका लागि मेसी अब आधुनिक पेले भएका छन् ।

अमेरिका आएपछि मेसीले कति कमाउने छन् त ? यसमा अहिले सबैको ध्यान केन्द्रित छ । अनुमान के गरिएको छ भने यी अर्जेन्टिनी स्टारले एक वर्षको ५ देखि ६ करोड डलर पारिश्रमिक पाउनेछन् । त्यतिमात्र होइन, मेसीलाई क्लबको सेयर अंश पनि दिइनेछ । एमएलएसले एडिडास र एप्पलबाट जति कमाउँछ, त्यसको केही अंश पनि मेसीले पाउनेछन् । अझ यहाँको हार्ड रक क्याफेमा मेसीको सम्मानमा विशेष स्यान्डविच पनि बनाइएको छ । मैदानमै हुने फुटबलको कुरा गर्ने हो भने मेसीले कस्तो खेल पस्कने हुन्, त्यसबारे जिज्ञासा छ ।

प्रश्न छ, के मेसी र जोसेफ मार्टिनेजले सँगसँगै फुटबल खेल्न सक्नेछन् त ? मेसीले कसरी बेन क्रमास्चीसँग दायाँतर्फ साझेदारी गर्नेछन् ? मियामीको ‘ब्याक फोर’ राम्रो कि बीचको ‘थ्री’ ? यस्ता धेरै प्रश्न छन् । प्रश्न के पनि महत्त्वपूर्ण छ भने मेसी आएयता मियामीको प्रदर्शन के हुनेछ ? उनले के ल्याउनेछन् मियामीमा ? एउटा तथ्य भुल्नुहुन्न, मेसी लामो समय बार्सिलोनाका लागि समस्या रहे ।

यसैबीच उनी सन् २०२१ मा पेरिस सेन्ट जर्मेन (पीएसजी) गए । मेसी आएयता पीएसजीले खासै केही अद्भूत खेल प्रदर्शन गर्न सकेन । सन् २०१२ मा पेप ग्वार्डिओलाले बार्सिलाना छाडेयता मेसीको प्रदर्शन खस्केको मानिन्छ । मेसीसहितको पीएसजी युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा लगातार पराजित रह्यो । कतार विश्वकपमा अर्जेन्टिनाका लागि भने मेसीले सबथोक गरे, उपाधि पनि जिताए । तर यसमा उनका सहकर्मी खेलाडीको पनि उत्तिकै योगदान थियो ।

त्यसैले मेसी मियामी आउनुको ठ्याक्कै के अर्थ हुन्छ भन्न गाह्रो छ । मेसी आएपछि मियामीको प्रदर्शन एकाएक राम्रो हुने विश्वास गर्न सकिन्न । खासमा मियामीमा मेसीलाई मैदानमा साथ दिने स्तरीय खेलाडीको पनि अभाव छ । तर अहिलेका लागि विश्वास गरौं, मेसी आएयता तिनै खेलाडी अब्बल दर्जाको प्रदर्शन गर्न प्रेरित हुनेछन् । कम्तीमा इन्टर मियामीको ख्याति भने बढ्नेछ । एमएलएस आफैं अझ चर्चित हुनेछ । आखिरमा अचेल फुटबल भनेको व्यापार पनि त हो ।

तस्बिरहरू : एपी

प्रकाशित : श्रावण २, २०८० ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?