बुद्धिचालमा सुदीप च्याम्पियन


काठमाडौँ — पहिलो कोप ब्लिट्ज रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि काठमाडौंका युवा खेलाडी सुदीप तामाङले जितेका छन् । सोमबार उनले नवौं चरणमा पुरुषोत्तम सिलवालसँग बराबरी खेले । उनले ६ खेलबाट साढे ७ अंक जोडेका थिए ।


सुदीपले १० हजार पुरस्कार जिते । राष्ट्रिय सहकारी महासंघ र नेपाल बुद्धिचाल महासंघले आयोजना गरेको प्रतियोगितामा समान साढे सात अंक जोडेका फिडे मास्टर क्षितिज भण्डारी दोस्रो भए ।
उनी सुदीपसँग प्रोग्रेसिप टाइब्रेकरमा पछाडि परे । उनले ७ हजार जिते । नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैसवाल तेस्रो भए । उनले अन्तिम चरणमा क्षितिजसँग बराबरी खेले ।
पुरुषोत्तम सिलवाल, सुश्रुत दाहाल, सजिन महर्जन, आशिष फुयाल, सूरवीर लामा, राजन पुरी र श्रीलंकाकी महिला आइएम एम सचिन रणसिंगे क्रमशः चौथोदेखि दसौं स्थानमा रहे । रणसिंगे महिलातर्फ विजेता भइन् । ५५ वर्ष उमेरमाथि भगवतीप्रसाद शर्मा उत्कृष्ट रहे । सहकारीतर्फ एनसीएफका सुरेश थापा विजेता भए ।
महिलातर्फ पुनम प्रसानी उत्कृष्ट भइन् । एक हजारदेखि १६ सयसम्मको रेटिङतर्फ खोमप्रसाद तिमल्सिना उत्कृष्ट भए । वेस्ट र्याङ्किङ सुधार गर्नेमा मनोजकुमार श्रेष्ठ रहे ।
प्रकाशित : जेष्ठ १५, २०८० २३:०९