कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनाङलाई केही सजिलो, थ्रीस्टारलाई अझै गाह्रो

मनाङ मर्स्याङ्दी १–० थ्रीस्टार, एनआरटी २–१ सातदोबाटो
हिमेश

काठमाडौँ — विश्वास गर्न पनि गाह्रो छ, नेपाली घरेलु फुटबलका दुई ठूला हस्ती मनाङ मर्स्याङ्दी र थ्रीस्टारलाई रेलिगेसनको तनाव हुनेछ भनेर । सहिद स्मारक लिग ‘ए’ डिभिजनको कथा यही हो । आइतबार यिनै दुई क्लब भिडे । मनाङ विजयी रह्यो । यसले उसलाई केही राहत भएको छ ।

मनाङलाई केही सजिलो, थ्रीस्टारलाई अझै गाह्रो

थ्रीस्टार पराजित रह्यो । उसलाई भने अझै गाह्रो छ । जितले मनाङको २८ अंक भएको छ र १० स्थानमा उक्लेको छ । कीर्तिमान आठपल्टको च्याम्पियन मनाङ रेलिगेसन क्षेत्रबाट चार अंक मात्र अगाडि छ । ‘हाम्रो रेलिगेसन तनाव सकिएको छैन,’ क्लबका प्रमुख प्रशिक्षक विष्णु गुरुङले पनि माने ।

चेतनकुमार थारूले ३८ औं मिनेटमा निर्णायक गोल गरे । थ्रीस्टार भने २६ अंकमै सीमित रह्यो र ११ औं स्थानमा झरेको छ । तीनपल्टको च्याम्पियन थ्रीस्टार भने रेलिगेसन क्षेत्रबाट दुई अंकको दूरीमा मात्र छ । थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले भने आफ्नो टिमले बाँकी खेलमा राम्रो गर्नेमा विश्वास रहेको बताए ।

थ्रीस्टारको ठीक पछाडि संकटाको पनि २६ अंक छ । रेलिगेसन क्षेत्रमै रहेकामध्ये फ्रेन्ड्सको २४ र खुमलटारको २१ अंक छ । दुवैले समान रूपमा एक खेल कम खेलेका छन् । मनाङले लगातार सात खेलको बराबरीपछि यो जित निकालेको हो । प्रशिक्षकका रूपमा आएयता मनाङका लागि गुरुङको यो पहिलो जित पनि हो । यसको ठीकविपरीत थ्रीस्टार भने लगातार ११ खेलमा जितविहीन रहेको छ । उसको यो लगातार चौथो हार पनि हो ।

प्रशिक्षकले उठाएको जोखिम

प्रशिक्षक केसीले थ्रीस्टारको प्रदर्शनमा धेरै गुनासो नरहेको पनि बताए । उनले भने, ‘हाम्रो प्रदर्शन साह्रै नराम्रो भन्ने पनि होइन । हाम्रा खेलाडीले कडा मिहिनेत गरेका हुन् । मैले सुरुमै क्लब सम्हाल्दा टिमको प्रदर्शन खराब हुन सक्ने अनुमान गरेको थिएँ । तर पनि मैले जोखिम लिएर टिमको जिम्मेवारी सम्हालेको हो । हामीले ठीकै टिम मात्र बनाएका थियौं । लिगको एक मोडमा हामी उपाधिको दाबेदार जस्तो पनि देखिएका थियौं । तर त्यसपछि हाम्रो प्रदर्शन समान रहेन ।’

उनले वर्तमान थ्रीस्टार टिमको सबैभन्दा ठूलो समस्या नै आक्रमणमा रहेको पनि स्विकारे । उनले ठीकै पनि भनेका हुन्, किनभने टिमले पछिल्ला लगातारका चार हारमा कुनै गोल गरेको छैन । थ्रीस्टारले लिगमा गोल नगरेको ३ सय ८१ मिनेट पुगेको छ । आर्मीविरुद्ध १८ औं चरणको बराबरीमा लाकेन लिम्बूले थ्रीस्टारका लागि अन्तिम पटक गोल गरेका थिए । त्यसयता क्लबमा गोलको खडेरी लागेको छ । क्लबमाथि आइपुगेको रेलिगेसन तनावलाई उनले अर्कै फरक प्रसंगमा विश्लेषण गर्न खोजे ।

‘यसपल्ट लिगमा सहभागी सबै टिम समान छन् । पहिलो स्थानमा रहेको र पुछारको टिमबीच खासै अन्तर छैन । त्यसैले यस्तै केही पनि भन्न सकिन्न,’ केसीले भने । उनको समकक्षी गुरुङका लागि भने डेब्यु जित दोहोरो खुसी लिएर आएको थियो । एक त उनको यो मनाङका लागि पहिलो जित रह्यो नै, त्यसमाथि यो उनको विवाहको दसौं वर्षको दिनमै प्राप्त उपलब्धि रह्यो । ‘म यो खुसी आफ्ना खेलाडीसँग ड्रेसिङ रुममा साट्न चाहन्छु,’ उनले भने ।

एनआरटीको फड्को

एनआरटीले दोस्रोपल्ट लगातार जित निकाल्नका लागि सातदोबाटोको चुनौती पन्छाएको हो । यस जितसँगै एनआरटीले फड्को मारेको छ र आठौं स्थानमा उक्लेको छ । उसको २९ अंक भएको छ । दोस्रो हाफको ६३ औं मिनेटमा निकोलस सङ्गले पहिलो गोल गरेयता सोनाम लिम्बूले ६७ औं मिनेटमा दोस्रो गोल थपे । शिव सुवेदीले ७७ औं मिनेटमा सातदोबाटोको तर्फबाट एक गोल फर्काए । सातदोबाटोले लय गुमाएको छ र लगातार तेस्रो हार बेहोरेको छ ।

आजका खेल

  • खुमलटारविरुद्ध हिमालयन शेर्पा
  • पुलिसविरुद्ध फ्रेन्ड्स

प्रकाशित : जेष्ठ १५, २०८० ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?