२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८७

११औं कान्तिपुर हाफ म्याराथन जेठ ६ मा हुने

काठमाडौँ — कान्तिपुर पब्लिकेशन्सले आयोजनामा ११ औं कान्तिपुर हाफ म्याराथन आउँदो जेठ ६ गते हुने भएको छ । दशक यात्रा पार गरिसकेको कान्तिपुर हाफ म्याराथनको यसपालि मुख्य नारा ‘लेट्स गो ग्रिन टुगेदर’ रहेको बुधबार पत्रकार सम्मेलनमा पब्लिकेशन्सका सीईओ महेश स्वाँरले जानकारी गराए ।

११औं कान्तिपुर हाफ म्याराथन जेठ ६ मा हुने

प्रतियोगितामा यसपालि पहिलो पटक कलेज रन विधा थपिएको छ । ७ किलोमिटर दुरीमा हुने यस विधामा १८ वर्षमाथिका विद्यार्थीले दौडन पाउनेछन् । यसबाहेक हाफ म्याराथन (२१.१ किमी), कर्पोरेट (५ किमि) र ह्विलचेयर (३ किमि) गरी अन्य विधा यथावत नै रहेको स्वाँरले बताए । उनले विभिन्न देशमा हुने सिटी म्याराथनको अवधारणामा कान्तिपुर म्याराथनले दशक यात्रा पार गर्नु आफैंमा ठूलो उपलब्धि भएको बताए ।

हाफ म्याराथन पुरुष र महिला दुवैका विजेताले जनही १ लाख रुपैयाँ पुरस्कार पाउने छन् । दोस्रोले ५० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार, पाँचौंले १० हजार र छैटौं हुने खेलाडीले ५ हजार रुपैयाँ पाउने छन् । शारीरिक रूपमा फरक क्षमता हुने ह्विलचेयरतर्फ पहिलोदेखि तेस्रो स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार पाउनेछन् ।

कलेज रनतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले केएफसीबाट फुड गिफ्ट भौचर पाउनेछन् । कर्पोरेटतर्फ विजेतालाई केएफसी र ह्याम्स अस्पतालको तर्फबाट विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिने छ । सबै विधामा गरी ३ हजारभन्दा बढीले भाग लिने आयोजकको अपेक्षा छ । खेलाडी दर्ताका लागि जेठ १ गतेसम्म समयसीमा रहेको र खेलाडी दर्ता निःशुल्क रहेको जनाइएको छ ।

कान्तिपुरको मुख्यालय थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु हुने कान्तिपुर हाफ म्याराथन माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमि, सल्लाघारी चोकबाट फन्को लगाएर कोटेश्वर, तीनकुने, बानेश्वर, मण्डला माइतीघर हुँदै सेन्ट्रल बिजनेस पार्कमै आएर दौड टुंगिने छ ।

कर्पोरेट, कलेज रन र ह्विलचेयर रन पनि सेन्ट्रल बिजेनस पार्कबाट सुरु हुनेछ । कर्पोरेट सिभिल हस्पिटल अगाडिबाट फन्को लगाएर सेन्ट्रल बिजनेस पार्कमा आएर टुंगिने छ । ह्विलचेयर रेस माइतीघर मण्डला फन्को लगाएर आउनेछ । कलेज रन तीनकुनेबाट फन्को लगाएर सोही रुटबाट फर्कने एथलेटिक्सका प्रमुख प्रशिक्षक चन्द्र गुरुङले बताए ।

गत वर्ष पुरुषमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की र महिलामा नेपाल पुलिस क्लबकी राजपुरा पछाईं विजेता भएका थिए । नवौं संस्करणमा माल्दिभ्सका दुई खेलाडी पनि सहभागी भएका थिए ।

२०६७ सालमा आयोजित पहिलो संस्करणमै १ हजारभन्दा धेरैले भाग लिएका थिए । २०६८ सालमा १ हजार ५ सय जना दौडिए । २०६९ सालमा सहभागी संख्या २ हजारभन्दा बढी पुगेको थियो । मुख्य स्पर्धा हाफ म्याराथन (२१.१ किमि) मा मात्रै ८ सय १२ धावकले प्रतिस्पर्धा गरेका थिए । २०७० सालमा १ हजार ३ सय ६५ जना पुगेको थियो । त्यस्तै २०७१ सालमा २ हजार ३ सय जना दौडिएका थिए भने २०७२ सालमा १ हजार ६ सय ५७ जना सहभागी भएका थिए । २०७३ सालमा १ हजार ५ सय बढी दौडिएका थिए ।

२०७५ सालमा २ हजार ५ सय ६० सय जनाले कान्तिपुर हाफ म्याराथनमा सहभागिता जनाएका थिए ।

महिलातर्फ यसअघि आफूले भाग लिएको आठमध्ये ५ संस्करणमा कान्छीमाया कोजुले उपाधि जितेकी छन् । पुरुषतर्फ हरिकुमार रिमालले चार पटक उपाधि जितिसकेका छन् ।

हाफ म्याराथनमा १८ वर्ष पुगेका खेलाडीले मात्र भाग लिन पाउने जनाइएको छ । कान्तिपुर पब्लिकेशन्सले पहिलो सात संस्करण आफ्नो वार्षिकोत्सवसँगै फागुन ७ गते नै कान्तिपुर हाफ म्याराथन गर्दै आएको थियो । यसलाई छुट्टै विधा बनाउनुपर्छ भनेर त्यसपछि फरक मितिमा प्रतियोगिता गर्दै आएको सीईओ स्वाँरले बताए ।

कान्तिपुर हाफ म्याराथनको प्रमुख प्रायोजक ग्लोबल आईएमई बैंक रहेको छ । प्रायोजकको तर्फबाट बोल्दै बैंकका डेपुटी सीईओ सुरेन्द्रराज रेग्मीले कान्तिपुर हाफ म्याराथन जस्तो प्रतिष्ठित प्रतियोगितासँग जोडिन पाउँदा गर्व महसुस गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सहयोग गरेको बताए ।

नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने कान्तिपुर हाफ म्याराथनमा सिटिजन लाइफ इन्स्योरेन्स, एपेक्स मेडिकल एन्ड इन्जिनियरिङ, केएफसी चिकेन, पिजा हट, होन्डा मोटरसाइकल, एनटीएनसी, नेपाल खाद्य संस्थान, गमला घर, वेलडन एडभरटाइजिङ, हाम्रो बजार डटकम, ह्याम्स हस्पिटल पार्टनरका रुपमा रहेका छन् ।

पूर्व हाफ म्याराथन विजेताहरूः

वर्ष विजेता (पुरुष/महिला)

२०६७ अर्जुनकुमार बस्नेत/कान्छीमाया कोजु

२०६८ हरिकुमार रिमाल/बृन्दा श्रेष्ठ

२०६९ कल्याण बानियाँ/कान्छीमाया कोजु

२०७० अनिश थापामगर/कान्छीमाया कोजु

२०७१ हरिकुमार रिमाल/विश्वरुपा बुढा

२०७२ गोपीचन्द्र पार्की/रेशु बस्नेत

२०७३ हरिकुमार रिमाल/कान्छीमाया कोजु

२०७४/७५ हरिकुमार रिमाल/कान्छीमाया कोजु

२०७६ अनिश थापामगर/विश्वरुपा बुढा

२०७९ गोपीचन्द्र पार्की/राजपुरा पछाई

प्रकाशित : वैशाख २७, २०८० १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?