कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९९
२०७९ लाई फर्केर हेर्दा

क्रिकेटमा हात परेको ऐतिहासिक उपलब्धि

हिमेश

काठमाडौँ — यसअघिका दुई वर्ष कारोना भाइरस संक्रमणका कारण नेपाली खेलकुद निकै बिथोलिएको थियो । वर्ष ०७९ मा भने नेपाली खेलकुद पूर्ण स्वाभाविक लयमा फर्कियो । एकपछि अर्को प्रतियोगिता भए ।

क्रिकेटमा हात परेको ऐतिहासिक उपलब्धि

अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पनि नेपालको उल्लेखनीय सहभागिता रह्यो । वर्ष ०७९ लाई नेपाली खेलकुदले फर्केर हेर्दा यसको सबैभन्दा ठूलो विशेषता यही रह्यो, खेलाडीले खेल्न पाए । र, यो वर्षलाई सम्झिने मुख्य कारण भने क्रिकेटमा नेपालको चमत्कारी प्रदर्शन रह्यो ।

आईसीसी क्रिकेट वर्ल्डकप २०१९-२०२३ को चार वर्षको चक्र काठमाडौं कीर्तिपुरको क्रिकेट मैदानमा टुंगियो । प्रतियोगिताको अन्त्यसम्म पुग्दा पनि नेपालसामु वान डे मान्यता खोसिने डर थियो । फेब्रवरीसम्म पुछारबाट दोस्रो स्थानमा थियो । यसैबीच प्रशिक्षकमा आए, मोन्टे देसाई । उनी के आएका थिए, नेपाली टिमको अविश्वसनीय उत्कृष्ट प्रदर्शन सुरु भयो । नेपालले आफूले खेलेका अन्तिम १२ खेलमध्ये ११ मा जित निकाल्यो र वान डे विश्वकपको ग्लोबल छनोटमा छनोट भयो ।

युवा रोहित कुमारको नेतृत्वमा नेपालको प्रदर्शनलाई समग्र क्रिकेट इतिहासकै सबैभन्दा अविश्वनीय पुनरागमन मानिएको छ र यस्तो प्रदर्शनलाई दुर्लभ मानिएको छ । पीएनजी र यूएई सम्मिलित अन्तिम शृंखलामा नेपालले क्लिन स्विप गरेको थियो र एकपछि अर्को खेलमा ब्याटिङ बलिङ दुवै उत्कृष्ट रह्यो । यूएईविरुद्ध अन्तिम खेलमा प्राप्त जित त अति नै नाटकीय रह्यो । यसमा नेपाल डकवर्थ लेविस नियममा अचम्मले विजयी रह्यो ।

यही शानदार प्रदर्शनपछि नेपालले यसमै टिकेर भविष्यबारे सपना बुन्न सक्नेछ । लगत्तै अर्को खुसीको समाचार पनि आयो, नेपाल यू-१९ विश्वकपका लागि छनोट पनि भयो । त्यसअघि नेपालमाथि रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को निलम्बन पनि फुकुवा भयो । यद्यपि क्रिकेटमा सबै खुसीकै समाचार मात्र रहेनन् । सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लाग्यो र लामो कानुनी प्रक्रिया सुरु भयो । अनि नेपाल ट्वान्टी ट्वान्टी आयोजना त भयो, तर यो खेल मिलोमताको काण्डमा फस्यो ।

अर्को लोकप्रिय खेल नेपाली फुटबल भने पूर्णतः विवाद र बेथितिमै अल्झिरह्यो । अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकज नेम्वाङ चुनिए । तर‚ उनी आएयता नेपाली फुटबलमा एकपछि अर्को विवाद मात्रै भयो, कार्यसमितिमा खाली बेमलमात्र रह्यो । कतारमा भएको विश्वकपको केही टिकट नेपाललाई प्राप्त भएको थियो । त्यसमै भएको अनियमितताले एन्फा आलोचित रह्यो । वर्षको सुरुमै मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका कारण विवाद सुरु भएको थियो ।

राष्ट्रिय टिममा सम्मिलित खेलाडीले उनीविरुद्ध नै विद्रोह गरे । पछि उनी पद छाड्न बाध्य रहे । नेपालले भुटान र लाओस सम्मिलित थ्री नेसन्स कपको उपाधि त जित्यो, तर आफूभन्दा कमजोर टिमविरुद्ध प्राप्त यस सफलताले कसैको मन जित्न सकेन । वर्ष ०७९ मै लगभग तीन दर्जनभन्दा बढी पुरुष खेलाडी विदेश पलायन भए, विशेषतः अस्ट्रेलियामा । बरू नेपाली महिला टिमको प्रदर्शन धेरै अर्थमा राम्रो रह्यो । काठमाडौंमै भएको वुमेन्स साफ च्याम्पियनसिपमा नेपाल दोस्रो भयो, फाइनलमा बंगलादेशको हातबाट पराजित भयो ।

नेपाल वुमेन्सकै यू-१५ कै उपाधि जित्न पनि सफल रह्यो । यी त भए, क्रिकेट र फुटबलका कुरा । वर्ष ०७९ को घरेलु खेलकुद निकै व्यस्त रहनुको कारण पोखरामा भएको नवौं राष्ट्रिय खेलकुद रह्यो । गण्डकी प्रदेशमा भएको राष्ट्रिय खेलकुदमा आर्मी १ सय ७२ स्वर्णसहित शीर्ष स्थानमा रह्यो र टिम च्याम्पियन बन्यो, त्यसपछि पुलिस र एपीएफ नै रहे । प्रतियोगिताको अव्यवस्थित ढंगले आयोजना भएकोमा त्यसको चर्को आलोचना पनि भयो ।

एथलेटिक्स र बक्सिङमा दुई ऐतिहासिक सफलता पनि प्राप्त भयो । नेपालले काठमाडौमा भएको एसियाली क्रस कन्ट्रीमा दुई स्वर्णसहित चार रजत र दुई कांस्य जित्यो । टिम स्पर्धासँगै नेपालका दीपक अधिकारले ऐतिहासिक स्वर्ण जितेका हुन् ।

नेपालले एसियाली स्तरको प्रतियोगितामा स्वर्ण जितेको यो नै पहिलो अवसर बन्यो । बक्सिङमा नेपालकी सुष्मा तामाङले थाइल्यान्डमा भएको एएसबीसी यू–२२ मा रजत पदक जितिन् ।

यति ठूलो स्तरको प्रतियोगितामा नेपाल फाइनल पुगेको यो नै पहिलो अवसर थियो । यत्तिकै ठूलो उपलब्धि पारा तेक्वान्दोमा पनि प्राप्त भयो । साउदी अरेबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा नेपालकी सिर्जना घिसिङले ऐतिहासिक स्वर्ण जितिन् । उनले ५२ केजीमुनि के-४४ क्याटगोरीमा विश्व नम्बर १ खेलाडी टर्कीकी मेर्येम बेटुललाई १२-० ले पराजित गरेकी थिइन् । विश्व पारा तेक्वान्दो ग्रान्ड पिक्समा नेपालले जितेको यो नै पहिलो स्वर्ण पदक हो ।

वर्ष ०७९ मै नेपालले खेलकुदका केही व्यक्तित्वलाई पनि गुमायो । कीर्तिमान ६ पल्टका ब्याडमिन्टन च्याम्पियन किशोरबहादुर सिंहको निधन भयो । नेपालका लागि १३ औं दक्षिण एसियाली खेलकुदमा भारोत्तोलनतर्फ ऐतिहासिक स्वर्ण जित्ने सन्जु चौधरीले आत्महत्या गरिन् । नवौं राष्ट्रिय खेलकुदकै क्रममा प्याराग्लाइडिङका आर्मी खेलाडी निसिम थापाको दुर्घटनामा निधन भयो । यस्तै केही सफलता र केही सफलताबीच वर्ष ०७९ लाई सम्झिने भनेको क्रिकेटको मैदानमा नेपाली टिमको प्रदर्शन नै हो ।

प्रकाशित : चैत्र ३०, २०७९ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?