पीडालुसँग चामल

विमल खतिवडा

कोराक (चितवन) — कोराक ६ स्थित नौलपुरका कामधन चेपाङले यो बर्ष ३ क्विन्टल पिँडालु फलाए । बिक्रिका लागि बजार जानु परेन । गाउँमै चामलसँग पिँडालु साटे । तीन क्विन्टल पिँडालुबाट उनले २ क्विन्टल १० केजी चामल पाए ।

‘पहिला मकै कोदो फलाउँदा खान पुग्दैन थियो,’ उनले भने, ‘अहिले समस्या छैन, पिँडालु लगाउन थालेपछि अनिकाल टरेको छ ।’ पहिला असोजबाट अनिकालले सताउने गथ्र्यो । १० जनाको परिवार पाल्न उनलाई समस्या थियो ।

‘पिँडालु फलाएपछि गाउँमै चामल आइपुग्छ,’ उनले भने, ‘त्यही भएर पिँडालु अहिले अनिकाल टार्ने माध्यम बनेको छ ।’ यसरी व्यावसायिक रूपमा पिँडालु लगाउन थालेको ३ वर्षभन्दा बढी भएको उनले बताए । उनले मात्र पिँडालु लगाएका छैनन् । कोराकको ४, ५ र ६ र त्यस्तै सिद्धिको ३, ४ र ५ वडामा लगाइएको पिँडालु एकै ठाउँमा जम्मा गरेर गाउँलेलाई चामल उपलब्ध गराउने गरिएको छ ।
गाउँलेले फलाएको पिँडालु जम्मा गरेर बजारमा लगी बिक्री गर्ने गरिएको पिँडालु संकलनकर्ता अर्जुन चेपाङले बताए । ‘पैसा दिँदा किलोको २५ रुपैयाँ पर्छ,’ उनले भने,‘ पैसा लिनेभन्दा चामल लिने धेरै छन् ।’
उनका अनुसार ५० किलो पिँडालुको ३५ किलो चामल दिने गरिएको छ । पहिला गाउँलेले डोकोमा बोकेर जिल्लाको पर्सा, बीरेन्द्रनगर, खुरखुरे बजार लगेर बिक्री गर्ने गर्थे । अहिले गाउँमै मोटरबाटो पुगेपछि काठमाडौं, पोखरा लग्ने गरिएको छ । पुस पहिलो साताबाट यसको बिक्री सुरु गरिन्छ । अहिले गाउँलेलाई चामलसँग पिँडालु साट्न भ्याइनभ्याई छ । माघे संक्रान्तिमा यसको माग बढी हुने भएकाले गाउँलेको पिँडालु जम्मा गरेर माग भएको बजारमा पुर्‍याउने गरिन्छ ।

प्रकाशित : पुस १६, २०७२ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?