प्लास्टिकबाट डिजेल, खोटोबाट पेट्रोल- प्रिन्ट संस्करण - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्लास्टिकबाट डिजेल, खोटोबाट पेट्रोल

दुर्गालाल केसी

दाङ — घोराही ११ का २४ वर्षीय मार्सल रोकाले खेर गएको प्लास्टिकबाट डिजेल उत्पादन गरेका छन् । यसअघि सल्लाको खोटोबाट पेट्रोल उत्पादन गरेर नियमित मोटरसाइकलमा परीक्षण गरिरहेका रोकाले मंगलबार प्लास्टिकबाट डिजेल निकाली ट्याक्टर चलाएका हुन् ।

यसअघि विभिन्न ३७ उपकरण आविष्कार गरेर ‘युवा वैज्ञानिक’ का रूपमा परिचित रोकाले ३८ औं आविष्कारका रूपमा प्लास्टिकबाट डिजेल उत्पादन गरेका हुन् । देशमा इन्धन संकट भइरहेको बेला स्थानीय स्रोत साधनबाट इन्धन उत्पादन गर्ने अभियानमा लागेको उनले बताए । प्रयोग गरेर फालेको प्लास्टिकलाई सफा गरेर मसिनो गरी काट्ने र त्यसलाई पकाएर निस्केको बाफमा दुई प्रकारका रसायन मिलाएर डिजेल उत्पादन हुने उनले बताए ।
१० प्रकारका प्लास्टिकबाट डिजेल उत्पादन गर्न सकिने उनले बताए । ‘१२ किलो प्लास्टिकबाट १२ लिटर डिजेल उत्पादन हुन्छ,’ उनले भने, ‘एक लिटरलाई ६० रुपैयाँमा बिक्री गर्न सकिन्छ ।’ विद्युतीय भट्टीमा पकाउने भएकाले प्लास्टिकबाट प्रदूषण नहुने रोकाले बताए । एक लिटर डिजेल उत्पादन गर्न एक युनिट विद्युत् खपत हुने उनले जानकारी दिए ।
नगरभित्र फोहोर गरिरहेको प्लास्टिकलाई ऊर्जामा परिणत गर्न लामो समयदेखि परीक्षणमा लागेको उनले बताए । खेर गएको नसड्ने फोहोरबाट डिजेल उत्पादन गर्ने ‘युवा वैज्ञानिक’ को काममा उत्साह थप्न सरकारी तहबाट भरपूर सहयोग गरिने प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले बताए । ‘यस्ता प्रतिभालाई हौसला र अवसर दिनुपर्छ,’ उनले भने, ‘यसतर्फ सबैको ध्यान जान जरुरी छ ।’
दुई महिनाअघि खोटोबाट पेट्रोल बनाएका रोकाले आफ्नो मोटरसाइकलमा नियमित प्रयोग गरिरहेका छन् । उनले आफ्नो मोटरसाइकलमा नियमित लामो समय प्रयोग गरेपछि अन्तमा २५ वटा मोटरसाकलमा पेट्रोल राखेर घोराही बजार परिक्रमा गराई सार्वजनि रूपमा परीक्षण गरेका थिए । 
सल्लाको खोटोलाई तताएर बाफबाट तरल पदार्थ निकाली त्यसमा केही रसायन मिसाएर पेट्रोल बनाएको रोकाले बताए । वाष्पीकरणबाट आएको तरल पदार्थमा १२ प्रकारका रसायन मिसाएको उनले बताए । वाष्पीकरणका क्रममा विभिन्न तहमा फरक फरक रंगको तरल पदार्थ आउँछ । सुरुमा गाढा रातो र पछि पानीजस्तै आउने उनले बताए । ‘८० प्रतिशत खोटो र २० प्रतिशत रसायनको मिश्रणबाट पेट्रोल तयार हुन्छ,’ उनले भने, ‘यसले अहिले प्रयोग भइरहेको पेट्रोलभन्दा १५ प्रतिशत बढी माइलेज दिन्छ ।’
खोटो प्रज्ज्वलनशील पदार्थ भएकाले नेपालमा इन्धन अभाव हुन थालेपछि यसको परीक्षणमा लागेको रोकाले बताए । दुई लिटर खोटोबाट एक लिटर पेट्रोल निस्कने गरेको रोकाले बताए । ‘४८ रुपैयाँमा एक लिटर पेट्रोल तयार हुन्छ । यसलाई बजारमा ७० रुपैयाँसम्ममा बिक्री गर्न सकिन्छ,’ उनले भने, ‘व्यावसायिक रूपमा ठूलो मात्रामा उत्पादन गर्ने हो भने योभन्दा सस्तो हुन्छ ।’
खोटो जलाउँदा बचेको सामान पनि आगो बाल्न र साबुन, पेन्ट बनाउन उपयोग हुने भएकाले खोटो खेर नजाने रोकाले बताए । उनले आफ्नो विवेक प्रयोग गरेर पेट्रोल उत्पादन गरे पनि सरकारले यसको थप परीक्षण गरेर यसलाई व्यावसायिक रूपमा उत्पादन गर्ने वातावरण बनाउनुपर्ने उनले बताए । परीक्षणको अनुरोध गर्दै उनले दुई लिटर तेल प्रधानमन्त्री कार्यालयमा समेत बुझाएका थिए ।    
उनले प्राकृतिक ग्यास उत्पादनका लागि सहयोग गर्न अनुरोध गर्दै उद्योग मन्त्रालयमा निवेदन दिएका थिए जसअनुसार मन्त्रालयले मंसिर २४ गते चलानी नं. ८७ को पत्रमार्फत खानी तथा भूगर्भ विभागलाई प्राकृतिक ग्यासको अनुसन्धान परीक्षणमा रोकालाई सहयोग गर्न अनुरोध गरेको छ ।
उनले यसअघि मोबाइल अपरेटिङ सिस्टम, क्ल्याप अपरेटिङ सिस्टम, ओकीटोकी सञ्चार सेट, एफएम रेडियो, ट्रान्समिटर, जासुसी उपकरण, आगो लागेको जानकारी दिने उपकरण, बाढी आएको जानकारी दिने उपकरण र घरको सुरक्षामा प्रयोग हुने सतर्कता मेसिन बनएका छन् । यसैगरी न्यु कन्सेप्ट भेहिकल, दृष्टिविहीनलाई बाटो देखाउने यन्त्र, हात थाप्दा पानी आउने धारा, जंगलमा आगो लागेमा निभाउन सकिने यन्त्र, जहाँबाट पनि बत्ती अन अफ गर्न सकिने यन्त्र, खेतीमा कति पानी चाहिने भन्ने जानकारी दिने यन्त्र, बिउ बिजनको सुरक्षा गर्ने मेसिनलगायतका उपकरण पनि बनाएका छन् ।
पाँच कक्षा पढ्दादेखि नै वैज्ञानिक उपकरण बनाउन थालेका रोका निरन्तर यही काममा क्रियाशील छन् । अहिले उनी बीबीएस प्रथम वर्षमा अध्ययनरत छन् । अवसर पाएमा अझै धेरै प्रविधि निर्माण गर्न सकिने रोकाले बताए । 

प्रकाशित : पुस १६, २०७२ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्

संविधान प्रचार अभियान राना थारूले खोजे आरक्षण

भवानी भट्ट

शंकरपुर (कञ्चनपुर) — ‘नयाँ संविधानमा राना थारूको अधिकार कतै उल्लेख छैन, त्यसमा थारू मात्रै भनिएको छ,’ शुक्रबार कञ्चनपुरको शंकरपुर गाविसमा नयाँ संविधानमा भएका व्यवस्थाबारे जानकारी दिन आयोजित कार्यक्रममा स्थानीय हंशराम रानाले भने, ‘कैलाली र कञ्चनपुरमा रानाथारूकै बस्ती ठूलो छ ।’

उनले संविधानमा रानाथारूका लागि आरक्षणलगायत अन्य अधिकारको पनि सुनिश्चितता नभएको गुनासो गरे । 

सरकारले संविधानमा भएका विभिन्न व्यवस्था र नागरिकका हकअधिकारबारे जानकारी दिन सुरु गरेको ‘जनताको संविधान जनताकै मझमा’ राष्ट्रव्यापी प्रचार अभियानका क्रममा शंकरपुर पुगेका सांसदसहितको टोलीसमक्ष अधिकांशले आफ्ना हकअधिकारकै विषयमा गुनासो गरे । स्थानीयले विभिन्न नदीनालामा आएको बाढीले जमिन कटान तथा पटान गरी सुकुम्बासी भएका विस्थापितका हकअधिकारका बारेमा पनि सांसद समक्ष गुनासो गरे । 
‘सरकारी निकायमा लोकसेवा लडा अहिले पनि हामीले आरक्षण कोटाका लागि प्रशासनबाट सिफारिस बनाउनुपर्ने अवस्था छ,’ स्थानीय निर्मल रानाले भने, ‘रानाथारू समुदायलाई आदिवासीमा सूचीकृत किन गरिएन ।’ उनले सरकारी निकायमा प्रवेश गर्दा अन्य क्षेत्रका थारू सरह यहाँका रानाथारूलाई हेर्न नहुने बताए । उनले पूर्वका थारूहरू शिक्षा र रोजगारीमा यहाँका थारूभन्दा धेरै अगाडि भएकाले सबै थारूलाई एउटै ठाउँमा राखेर प्रतिस्पर्धा गर्न नहुने बताए । ‘पूर्वका थारूसँग हामी प्रतिस्पर्धा गर्न सक्दैनौं,’ उनले भने । 
रानाथारू समुदायमा अहिले पनि विवाहदर्ता, जन्मदर्ता, सम्बन्ध विच्छेदलगायतका काम स्थानीय निकायमा हुँदैनन् । ‘अहिले पनि गाउँघरकै अगुवाले बसेर सम्बन्धविच्छेद गर्छन्,’ स्थानीय इन्द्रादेवी रानाले भनिन्, ‘त्यसपछि बालबालिकाको बिचल्ली हुन्छ, यस्ता समस्यामा परेका बालबालिका र पीडित महिलाको अधिकार कसरी सुनिश्चित हुन्छ भन्ने कुरा संविधानमा छ कि छैन ।’ 
शंकरपुरमा आयोजित कार्यक्रमका सहभागीहरूले सांसद समक्ष यस्तै विषयमा आफ्ना गुनासा गरेका थिए । उनीहरूले कुनै पनि ठाउँमा संविधानप्रति असन्तुष्टि जनाएनन् । सांसद रानाले आन्दोलनको साटो संविधानको कार्यान्वयनका लागि दबाब दिनुपर्ने भनेपछि सबैले ऐक्यबद्धता जनाए । ‘नयाँ संविधानमा पहिलोपटक ‘थारू’ शब्द उल्लेख गरिएको छ,’ सांसद रानाले भने, ‘यो पनि ठूलो उपलब्धि हो ।’ उनले रानाथारूका विषय छुट्टै व्यवस्था नभएकोप्रति आफू पनि चिन्तित रहेको र त्यसका लागि प्रयासरत रहेको बताए । 
स्थानीयले समानुपातिक समावेशिताका बारेमा राखेको जिज्ञासाको जवाफ दिँदै सांसद रानाले संविधानको प्रस्तावनादेखि नै समानुपातिक समावेशी सिद्धान्तको ग्यारेन्टी गरेको बताए । उनले महिलाहरूका लागि नयाँ संविधानको घोषणासँगै स्वर्णिम युग सुरु भएको बताए । ‘अहिलेको संविधानमा महिलाका लागि धेरै अधिकारको ग्यारेन्टी गरेको छ,’ उनले भने, ‘संविधानको प्रभावकारी कार्यान्वयन भए मात्रै महिला, थारू, मधेसी र मुस्लिमलगायत सबै पिछडिएका समुदायका अधिकारी सुनिश्चित हुन्छ ।’ उनले सबैभन्दा बढी मौलिक हक भएको संविधान नेपालको नयाँ संविधान नै भएकाले यसलाई जनताको संविधान भएको बताए । 

 

प्रकाशित : पुस १६, २०७२ ०९:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×