कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धान बेच्न रातभर रातभर बयलगाडामा सुत्नुपर्ने

कमल पन्थी

राजापुर (बर्दिया) — नयाँगाउँ २ चैनपुरका किसान पहलमान थारू धान बेच्न खाद्य संस्थान राजापुरमा आएको दुई दिन भयो । पालो नपाउँदा उनी पुसको कठ्यांग्रिदो चिसोमा बयलगाडामै रात कटाउन बाध्य छन् ।बदालपुरका किसान सोमबहादुर थारूको अवस्था पनि उस्तै छ । दुई दिनदेखि पालो कुरिरहेका छन् । एक रात त बयलगाडामै सुतेर बिताए । दौलतपुरकी ५५ वर्षीया रमैया थारूले सोमबार दिउँसो बल्लतल्ल खाद्य संस्थानमा पालो पाइन् ।

धान बेच्न रातभर रातभर बयलगाडामा सुत्नुपर्ने

नयाँगाउँ २ चैनपुरका किसान पहलमान थारू धान बेच्न खाद्य संस्थान राजापुरमा आएको दुई दिन भयो । पालो नपाउँदा उनी पुसको कठ्यांग्रिदो चिसोमा बयलगाडामै रात कटाउन बाध्य छन् ।बदालपुरका किसान सोमबहादुर थारूको अवस्था पनि उस्तै छ । दुई दिनदेखि पालो कुरिरहेका छन् । एक रात त बयलगाडामै सुतेर बिताए । दौलतपुरकी ५५ वर्षीया रमैया थारूले सोमबार दिउँसो बल्लतल्ल खाद्य संस्थानमा पालो पाइन् ।

तर, धान खरिद गर्ने समय सकिएकाले राति उनको बास पनि बयलगाडामै बित्यो । उनीहरू जस्ता सयौं किसानको बिचल्ली भएको छ । संस्थान प्रवेश गर्ने मूलद्वारदेखि दुवैतर्फ झन्डै तीन सय बढी बयलगाडा धान बेच्ने पर्खाइमा छन् ।नेपाल खाद्य संस्थान आधुनिक धान चामल कारखाना राजापुरले गत मंसिर १६ गते मूल्य निर्धारण गरेपछि धान बेच्नेको भिड लागेको छ ।
विगतमा संस्थानले ग्रामीण क्षेत्रमा राख्दै आएका खरिद डिपोहरू यस वर्ष नराखेका कारण स्थानीय किसानले सास्ती पाएका हुन् । मसिनो, मध्यमलगायत धान खरिद गर्दै आएको संस्थानले यस वर्ष राजापुर क्षेत्रमा बढी उत्पादन हुने मकवानपुर धान खरिद गरेको छ । मकवानपुर धानको मूल्य प्रतिक्विन्टल २ हजार १ सय कायम गरिएको छ । बजारमा व्यवसायीले सस्तोमा खरिद गर्ने गरेकाले खाद्य संस्थानमा धान बेच्न किसानको भिड लागेको हो । धान बोकेका बयलगाडाले राजापुर भरिभराउ छ ।विगतमा लक्ष्यअनुसार धान खरिद नभएका कारण संस्थानले ग्रामीण क्षेत्रमा डिपो नराखेको जनाएको छ । गत वर्ष ७२ हजार क्विन्टल खरिद गर्ने लक्ष्य रहेकामा ३६ हजार ४ सय क्विन्टल भएको थियो । यस वर्ष भने ३० हजार क्विन्टल खरिद गर्ने लक्ष्य राखेको छ ।
लक्ष्य सकिन लागेकाले केन्द्रको अनुमतिले दुई दिनभित्र पुन: धान खरिद गर्ने प्रक्रिया बढाइने संस्थानले जनाएको छ । खेत जोत्नेदेखि रोपाइँ, मल र कटाइसमेत गर्दा निकै सास्ती भोग्ने किसानले सहजै धान बेच्न नपाएकामा आक्रोश पोखेका छन् ।
धान जोख्न तीन वटा मात्र काटा राखेकोले किसानले सास्ती भोग्नुपरेको हो । धान बेच्न आएका किसानको भिडलाई हेरर जोख्ने काटाको संख्या बढाउनुपर्ने किसानको माग छ । संस्थानका प्रमुख भोजराज पाण्डेले जति सक्यो त्यति सुविधा दिएर किसानले ल्याएको धान खरिद गरेको बताए । ‘गत वर्ष लक्ष्यअनुसार धान खरिद भएन,’ उनले भने ‘यस वर्ष ठूलो संख्यामा किसान धान बेच्न आउँछन् भन्ने आशा पनि थिएन ।’
संस्थानले मकवानपुरबाहेक मसिनोलगायत धान खरिद नगर्दा व्यापारीले किसान ठग्ने मौका पाएको गुनासो छ । कर्णाली र यसको भँगालो गेरुवा नदीले घेरिएको राजापुर नगरपालिकासहित पाँच गाविसमा वार्षिक विभिन्न जातका ४ लाख क्विन्टल धान उत्पादन हुने गरेको खाद्य संस्थानले जनाएको छ । किसानको मेहनत र महँगीअनुसार धानको मूल्य नपाएको राजापुर १४ का हरिराम थारूले बताए ।


प्रकाशित : पुस १६, २०७२ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?