मोटरसाइल चोरी आरोपमा ८ पक्राउ- प्रिन्ट संस्करण - कान्तिपुर समाचार

मोटरसाइल चोरी आरोपमा ८ पक्राउ

कान्तिपुर संवाददाता

विराटनगर — मोटरसाइकल चोरी गर्ने समूहका ८ जनालाई उर्लाबारी प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । मोरङका विभिन्न ठाउँबाट मोटरसाइल चोरी गर्ने क्रम बढेपछि प्रहरीले खोजीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

एक वर्षदेखि उर्लाबारी, पथरी, बेलबारी, मधुमल्ला, झापाको दमकलगायत क्षेत्रमा मोटरसाइकल चोरी गर्ने समूह सक्रिय थियो । प्रहरी निरीक्षक राजकुमार राईका अनुसार पक्राउ पर्नेमा मोरङ मधुमल्ला–५ का शुक्र लिम्बू, उर्लाबारी १ का राजकुमार राई र शम्भु राई तथा उर्लाबारी–२ का सुजित राई छन् ।
उनीहरूले रातको समयमा तथा घरमा कोही नभएको मौका छोपी लक लगाएर राखेका मोटरसाइक चोरी गर्ने गरेका थिए । चोरी गरिएका मोटरसाइकल इलामको चुलाचुली र कमलझोडा क्षेत्रमा लगेर २० देखि २५ हजार रुपैयाँसम्ममा बेच्ने गरेका थिए । चोरीका मोटरसाइकल किनबेच गर्ने काममा संलग्न आरोपमा प्रहरीले मधुमल्ला–७ का इन्द्र भनिने योगेन्द्र विश्वकर्मा र रोशन कार्की तथा इलाम चुलाचुली–१ का कुमार लाबुङ र अटल नेम्बाङलाई समेत पक्राउ गरेको छ ।
यसैगरी लमजुङमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगअन्तर्गत २, चोरीमा २ र लागूऔषध ओसारपसारमा १ जनालाई मुद्दा चलाएको छ ।
प्रहरीका अनुसार चिती–७ घर भई हाल बेसीशहरमा डेरा गरि बस्ने २५ बर्षीय सन्तोष परियार र उनका भाई १९ बर्षीय राजु परियारलाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाएको हो । दाजुभाइले मंसिर २४ मा सिम्पानी–५ घर भई बेसीशहरमा मजुदुरी गर्दै आएका २२ बर्षीय राजेन्द्र थापालाई ढुंगाले हानेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । ती दुईलाई थप अनुसन्धानका लागि मंगलबार अदालतबाट ८ दिनको म्याद थप भएको प्रहरी निरीक्षक कमलबहादुर रजौरेले बताए । घाइते थापाको अवस्था गम्भीर अवस्थामा मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित : पुस १६, २०७२ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्

अपांगता बालकलाई उपचार समस्या

कान्तिपुर संवाददाता

काभ्रे — खर्च अभावमा पूर्ण अपांगता भएका एक बालकको उपचार हुन सकेको छैन । दाप्चा काशिखण्ड ६ का २ वर्षीय बालक सम्राट तामाङ र उनको परिवार सहयोगीको प्रतीक्षामा छ ।

जन्मेदेखि नै जन्डिस र निमोनियाँले टाउको नअडिने समस्या भएका सम्राट बोल्न, सुन्न पनि सक्दैनन् । आँखा पनि नदेख्ने उनका हात र खुट्टाका आंैला सीधा छैनन् । ‘१ महिना धुलिखेल अस्पतालमा राखेर निको हुन्छ भनेपछि फर्काएर ल्यायौँ तर सुधार आएन,’ आमा सुजिताले भनिन्, ‘त्यति बेला उपचार गर्न २ लाख ऋण लाग्यो, फेरि उपचार गर्न पैसा नभएकाले त्यतिकै बसेका छौँ ।’ सुजिताका अनुसार बुबा, ठूलोबाबु पनि छोराको उपचार गर्दा लागेको ऋण तिर्न मलेसिया गएका छन् । ‘

उपचारमा लागेको ऋण र विदेश जाँदाको ऋण तिर्न नै नसकिने भयो,’ आमाले दुखेसो गरिन्, ‘यस्तो अवस्थामा छोराको थप उपचार गर्न सक्ने अवस्था छैन ।’ पैसा भए उपचार सम्भव भएको सुनेकी सुजिता सहयोगी हातको पर्खाइमा छिन् । 


 

प्रकाशित : पुस १६, २०७२ ०९:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×