कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिनियाँ पेट्रोल आउन अझै एक साता

राजु चौधरी

काठमाडौं — चीनले अनुदानमा दिने भनेको पेट्रोल ढुवानीका लागि आवश्यक ट्यांकरको चाँजोपाँजो मिलाउन नसक्दा राजधानी आइपुग्न अझै एक साता लाग्ने भएको छ। चीनले ट्यांकर, चालक र सहचालकको विवरण मागिरहेको छ भने ढुवानी व्यवसायीले उनीहरूको सुरक्षा र बिमाको माग गरिरहेका छन।

अब सरकारले एकातर्फ चीनलाई ट्यांकर, चालक र सहचालकको विवरण पठाउनुपर्ने छ भने अर्कोतर्फ स्वदेशी व्यवसायीलाई ढुवानीका लागि रिझाउनुपर्नेछ। लामो समय चीनसँग वार्ता नै नगरेको सरकारी टोली बेइजिङ पुगे पनि ढुवानीको भरपर्दो व्यवस्था नहुँदा यहाँका सवारी साधन तत्काल चिनियाँ पेट्रोलले गुड्न नपाउने भएका हुन।नेपाल आयल निगमले ढुवानी व्यवसायीसँग ट्यांकरको नम्बर, चालक र सहचालकको विवरण मागिरहेको छ। उक्त विवरण आएपछि त्यसलाई निगमले चीन पठाउनेछ।‘इन्धन ढुवानी गर्नका लागि चालक/सहचालकको कागजी प्रक्रिया, बिमा, रुट प्रमिटलगायत मिलाउनु छ। सबै प्रक्रिया पूरा गरेर चीनलाई पठाउने छौं,’ निगमका प्रवक्ता दीपक बरालले भने, ‘त्यसपश्चात् ढुवानी गर्न बाटो खुल्नेछ।’ उनले सबै कागजातहरू व्यवसायीहरूसँग मगाएको बताए। ढुवानी गर्न जाने सबैको विवरण सत्यतथ्य हुनुपर्छ। विवरणअनुसार उपस्थित नहुँदा बोर्डरबाट प्रवेश गर्न पाइँदैन।
निगमका अनुसार भारतबाट इन्धन आयात गर्दा ट्यांकरमा निगमको ‘लोगो’ देखेपछि ढुवानीमा कुनै रोकछेक थिएन। तर, चीनबाट पहिलोपटक आयात गर्न लागेकाले सबै प्रक्रिया मिलाउन अनिवार्य भएको निगमले जनाएको छ। सहयोग स्वरूप आउने इन्धन केरुङ नाकाबाट आउँछ। चीन सरकारको पूर्ण स्वामित्वमा रहेको चाइना नेसनल पेट्रोलियम कर्पोरेसनबाट लासा हुँदै केरुङ नाकामा पठाउँछ। प्रवक्ता बरालका अनुसार लासाबाट केरुङसम्म इन्धन ढुवानी गर्न चिनियाँ ट्यांकरलाई ३ दिन लाग्छ। ढुवानी गर्नका लागि धेरै समय लाग्ने भएकाले नेपालबाट ट्यांकर पठाउनु अघि ३ दिनअघि नै चिनियाँ पक्षलाई खबर गर्नुपर्छ। चिनियाँ पक्षले पनि सोहीअनुसार व्यवस्थापन मिलाइने बरालले बताए।

चीनले केरुङको आफ्नो डिपोमा तेल खन्याउने छ। उक्त डिपोमा नेपाललाई दिने ट्यांकरमा इन्धन भरिने छ। नेपाली ट्यांकरले सोहीअनुसार लोडिङ गरेर उपत्यका भित्र्याउने भएका छन्। बरालका अनुसार १२ किलो लिटरको दैनिक २० देखि २५ वटा ट्यांकर पठाइने छ। ती इन्धन ५/६ ट्रिपमा उठने जनाएको छ। केरुङबाट इन्धन आयात गर्न १२ किलोलिटरसम्म बोक्ने ट्यांकर चाहिन्छ। हाल भारतबाट १२ देखि २० किलो लिटरसम्म बोक्न सक्ने ट्यांकरले ढुवानी गर्दै आएका छन्।
मुलुकमा करिब १४ सय ट्यांकरबाट इन्धन ढुवानी हुन्छ। पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्वप्रसाद अर्यालले पनि अनुदानको इन्धन तत्काल आउने सम्भावना नरहेको बताए। ‘निगमले इन्धन आयात गर्ने भनिए पनि त्यहाँको कामदारसम्बन्धी कानुन, बिमाबारे निगम र वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्योलमा छ,’ महासचिव अर्यालले भने, ‘अहिलेका तयारी हेर्दा यो साता इन्धन आउँने सम्भावना छैन।’ सरकारले नीतिगत व्यवस्था नगरुन्जेल ट्यांकर पठाउन नसकिने उनको भनाइ छ। महासंघका अनुसार तिब्बतको कानुनसँग निगम जानकार छैन। दोहोरो प्रवेश पनि गर्न पाइँदैन। इन्धन बोकेका ट्यांकर बाटो बिग्रेको अवस्थामा वर्कसप र खाना बस्नेका लागि पनि सुविधा छैन।
महासचिव अर्यालका अनुसार काठमाडौंबाट टिमुरे बोर्डर (नेपालको बोर्डर) १ सय ३० किलो मिटर छ। त्यहाँबाट केरुङ बजार २८ किलोमिटर छ। ती बाटोमा सुख्खा पहिरो आइरहने समस्या छ। ‘इन्धन ढुवानीका लागि बाटो अवस्थाबारे अनभिज्ञ छौं। टिमुरेपारीको अवस्था हामीलाई थाहा छैन,’ महासचिव अर्यालले भने, ‘त्यहाँ जानका लाागि धेरै तयारी आवश्यक छ।’ यस्तै, निगमले मौखिक रूपमा
ट्यांकर तयार पार्न भने पनि औपचारिक रूपमा पत्रचार नगरेको उनले बताए।
यता निगमले भने ट्यांकर तयारी अवस्थामा राख्नका लागि दसैंअघि नै औपचारिक पत्रचार गरेको दाबी गरेको छ। यस्तै, इन्धनको बिमा पनि निगम आफैंले गर्ने जनाएको छ। ‘इन्धनको बिमा निगमले गर्छ।
ट्यांकरको बिमा पहिलेदेखि नै हुन्छ,’ उनले भने, ‘पर्मिटबाहेक कुनै समस्या छैन।’ निगमका अनुसार चीनले युरो–४ मापदण्डको पेट्रोल दिने बताएको छ।
वाणिज्य तथा आपूर्ति सचिव ङइन्द्र उपाध्ययाले आपूर्ति व्यवस्था सहज बनाउन सबै वैकल्पिक व्यवस्था अपनाएको बताए। ‘आपूर्ति सहज बनाउन मन्त्रालयले अपनाउनुपर्ने सबै प्रक्रिया (नीतिगत/कानुनी) प्रयोग गरेका छौं। सहसचिवको नेतृत्वमा सयन्त्र पनि बनाएका छौ,’ उनले भने।

प्रकाशित : कार्तिक ११, २०७२ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?