चिनियाँ सामान भारतमा थन्किए

ऋषिराम पौड्याल

काठमाडौं — वैशाख १२ को भूकम्पपछिको पहिरोले तातोपानी र रसुवा नाका अवरुद्ध भएकाले समुद्रको बाटो भएर दसंैका लागि आयात गरिएका चिनियाँ सामानहरू अझै नेपाल भित्रिन सकेका छैनन्। झन्डै ६० प्रतिशत चिनियाँ सामान भारतमा थन्किएका छन्। नाकाबन्दीका कारण करोडौं मूल्यका १ हजार ५ सय कन्टेनर सामान दसैं अगाडि नेपाल नभित्रने निश्चित भएको छ।

दसैंमा बिक्री हुनुपर्ने ती सामान नेपाल भित्रन नसकेपछि व्यवसायी लाखौं रुपैयॉ घाटा बेहोर्न विवश भएका छन्। यसबाट सामान बेच्न नपाएको मात्र होइनन्, आयातकर्ताहरू विलम्ब शुल्कबापत प्रतिकन्टेनर दैनिक १२ देखि १५ हजार भारतीय रुपैयॉ तिर्न बाध्य भएका छन्। विलम्ब शुल्कबापत उनीहरूले ढुवानी भाडाबाहेक प्रतिकन्टेनर ३ देखि ४ लाख रुपैयॉ तिर्न विवश छन्। नेपाल हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष कुमार कार्कीले २० कन्टेनर सामान ल्याउनेले ढुवानी भाडाबाहेक नै ८० लाख रुपैयाँ तिर्नुुपर्ने बताए। ‘भूकम्प र नाकाबन्दीले व्यवसायी सडकमै पुगेका छन्,’ उनले भने, ‘हामीले झिकाएको सामान नेपालको नाका र भारतका विभिन्न ठाउ‘मा अड्किएको छ। अझैं थप शुल्क कति लाग्ने हो यकिन छैन।’ भूकम्पले उत्तरका दुवै नाका बन्द भएपछि व्यवसायीहरूले गत जेठदेखि नै दक्षिणी नाका भएर सामान आयता गर्न थालेका थिए। सरकारले तातोपानी नाका खोल्न प्रयत्न नगरेको उनीहरूको गुनासो छ। ‘भूकम्प अगावै खासा ल्याइएका ५ सय भन्दा बढी कन्टेनर नेपाल भित्र्याउन सकिएको छैन,’ सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष कमलकुमार श्रेष्ठले भने, ‘नेपालतर्फको सडक खुल्दा पनि सरकारले माथिल्लो तहबाटै पहल नगर्दा व्यवसायी वर्षौंसम्म उठ्न नसक्ने गरी थला परेका छन्।’ सरकारले खासामा रहेका सामान ल्याउने दायित्व निर्वाह नगरेको उनले आरोप लगाए। उनले भने, ‘नाका खुलाउने विषय व्यापारीस‘ग मात्र जोडेर हेरिनु गलत हो।’
सामान भित्र्याएर बेच्ने बेलामा भारतको नाकाबन्दीले ठूलो आर्थिक घाटामा परेको व्यवसायीहरूको गुनासो छ। उनीहरू भन्छन्, ‘दसैंका लागि आयात गरिएका तयारी कपडा, जुत्ता, चप्पल, जिन्स तथा मखमल कपडा, फर्निचर, विनचिटर (पातलो ज्याकेट) मुख्य रूपमा नाकामा थन्केका छन्।’ व्यवसायी बुद्धराज बस्नेतका अनुसार नाकाबन्दीले उपत्यकाबाहिरका ग्राहक राजधानी नआएकाले ल्याइएका सामान पनि बिक्री भएका छैनन्।
नेपालको बजारमा पाइने तयारी पोसाकमध्ये ७० प्रतिशत चीनबाट आयात हुने गरेको अनुमान छ। पाइन्ट, सर्ट, विनचिटर लगायतका कतिपय तयारी पोसाक चीनबाट ल्याइएका कपडा सिलाउने गरिन्छ। बस्नेतका अनुुसार राजधानीमा यस्ता कारखाना धेरै खुलिसकेका छन्। ‘तर कपडा नै आयात नभएपछि यो वर्ष त्यस्ता सामान पनि बन्न सकेनन्,’ उनले भने। दसैंमा बढी बिक्री हुने सर्ट, टि–सर्ट, जिन्स पाइन्ट, बच्चाका कपडा विगतमा तातोपानी नाकाबाट आयात हुने गर्थे। हाल ती सामान सवै भारतीय नाकामा रोकिएका छन्। सबैभन्दा बढी चिनियॉ सामान वीरगन्ज र विराटनगर नाकामा अडिएको व्यवसायीहरू बताउँछन्। आयातीतमध्ये झन्डै ४० देखि ५० प्रतिशत वीरगन्जमा छ। ‘बैंकको ब्याज, स्टाफ, तलब, गोदाम भाडा कसरी तिर्ने? सीमापारका सचिव निरज राईले भने, ‘आर्थिक रूपमा व्यापारीहरूको टाट पल्टने निश्चित छ।’


प्रकाशित : कार्तिक १, २०७२ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?