सुवेदीको मुद्दामा कारण माग- प्रिन्ट संस्करण - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुवेदीको मुद्दामा कारण माग

कान्तिपुर संवाददाता

काठमाडौं — किर्ते गरेर उमेर बढाएको विवादमा परेका वैदेशिक रोजगार विभागका महानिर्देशक सहसचिव भरतराज सुवेदीलाई असोज १५ देखि लागू हुने गरी अवकाश दिइनुको लिखित

कारण दुई दिनभित्र पेस गर्न सर्वाेच्च अदातलले सरकारका नाममा आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले सोमबार जारी गरेको आदेशमा सरकारको लिखित जवाफ आएपछि १३ गते अन्तरिम आदेश दिने/नदिनेबारे छलफलका लागि मुद्दा पेसीमा तोक्न भनिएको छ । निजामती ऐनअनुसार ५८ वर्षमा अनिवार्य अवकाश पाउने उमेर हदका कारण शुक्रबार सेवाबाट बाहिरिँदै गरेका सुवेदीले ३ वर्ष उमेर बढाएको प्रमाणित भएको थियो । सुवेदीले मोरङबाट २०३१ मा लिएको नागरिकतामा जन्ममिति २०१४ असोज १५ उल्लेख छ । तर उनले कानुन किताबखानामा सच्याएर २०१७ असोज १५ बनाएका थिए ।

प्रकाशित : आश्विन १२, २०७२ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्

एमाओवादीले प्रशिक्षण कार्यक्रम गर्ने

कान्तिपुर संवाददाता

काठमाडौं — एमाओवादीले संविधानबारे कार्यकर्ता पंक्तिलाई जानकारी गराउन विभिन्न चार स्थानमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

केन्द्रीय कमिटीको सोमबारको बैठकले इटहरी, सिमरा, कोहलपुर र काठमाडौंमा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको स्थायी समिति सदस्य देवेन्द्र पौडेलले जानकारी दिए ।

त्यसैगरी एमाओवादीले काठमाडौंमा आफ्ना फरक मत राख्दै तीन दलसँग संविधानबारे संयुक्त अन्तरक्रिया गर्ने निर्णयसमेत गरेको छ । बैठकमा भारतीय नाकाबन्दीबारे पनि कुरा उठेको थियो । स्वाधीनताको प्रश्नमा सम्झौता नगर्ने तर नाकाबन्दी खुलाउन कूटनीतिक रूपमा पहल गर्ने र यसबारे कांग्रेस–एमालेसँग पनि छलफल गर्ने निष्कर्ष निकालिएको छ । बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित भएको छ ।
बैठकमा आन्दोलनमा गएका मधेसी–थारू नेतासँग स्पष्टीकरण सोध्नुपर्ने कुरा उठे पनि निर्णय भने भएन । ‘कांग्रेस–एमालेसँग संविधानका विवाद नटुंगिएका बेला पार्टीकै निर्देशनमा मधेसी, थारू र जनजाति नेताहरूलाई पार्टी नेतृत्वले नै आन्दोलनमा जान निर्देशन दिएको हो । त्यसपछि अर्को निर्णय भएको छैन,’ पोलिटब्युरो सदस्य पौडेलले भने, ‘त्यसैले स्पष्टीकरण सोध्नु उचित हुँदैन । बरु उहाँहरूलाई बोलाएर कुरा सुन्नुपर्छ र मागको उचित सम्बोधनका लागि पहल गर्नुपर्छ भन्ने कुरा भयो ।’

प्रकाशित : आश्विन १२, २०७२ ०८:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×