कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तरकारीले भाउ पाएन

विप्लव महर्जन

बरला (सल्यान) — शारदा नगरपालिका ६ बरलाका किसान लोकबहादुर भण्डारीले ६ वटा प्लास्टिक टहरा बनाई केही महिनाअघि ८ सय टमाटरका बेर्ना लगाए। उनका टहरामा हिंजोआज दैनिक ३० किलोसम्म टमाटर पाक्ने गरेका छन्। तर, पाकेका टमाटरले बजारमा उचित भाउ पाउन नसक्दा उनी चिन्तित भएका छन्। उनलाई टहरो बनाउन लागेको खर्चसमेत नउठ्ने डर छ।

तरकारीले भाउ पाएन

उनी मात्र नभएर बरलामा टमाटरलगायत ताजा तरकारी उत्पादन गरेका सबै किसानहरूको साझा चिन्ता एउटै हो, भाउ नपाउनु। भाउ पाइन्छ कि भनेर उनीहरू डोकोमा तरकारी बोकेर सदरमुकाम, श्रीनगर र तुलसिपुरसम्म पुग्ने गरेका छन्। तर, खरिदकर्ताले पहिले सम्झौता गरे पनि त्यही अनुसार मूल्य नदिँदा तरकारीले भाउ नपाएको हो।
बजारमा टमाटर प्रतिकिलो २५, काउली २५ देखि ३०, करेला २०, लौका १०, बोडी ३०, सिमी २५ मा बिक्री भइरहेको किसान भण्डारीले बताए। ‘घिरौंला, चिचिन्डा लगायत जातका तरकारीले पनि मूल्य पाउन सकेका छैनन्। कतिपय तरकारी बिक्री नहँुदा किसानले घर फर्काउनु पर्ने अवस्था देखिएको छ। तरकारीले भाउ नपाउँदा लगानीसमेत डुब्ने खतरा भयो,’ उनले भने।जिल्ला कृषि विकास कार्यालयले तरकारी खेतीमा उत्साहित गर्ने, प्राविधिक सहयोग गर्ने तर बजार व्यवस्थापनमा चासो नदिँदा तरकारीले भाउ नपाएको अर्का स्थानीय टोपबहादुर केसीले बताए। ‘तरकारी खरिद गर्ने सम्झौता गरेका खरिदकर्ताले पनि धोका दिए,’ उनले भने।
बरला कृषि बहुद्देश्य सहकारी संस्थाका अध्यक्षसमेत रहेका केसीले संस्थाबाट २ लाख लगानी गरेको बताए। ‘सहकारीमार्फत १५ रोपनी जग्गामा १० वटा प्लास्टिकका घर बनाई टमाटर खेती गरेका छौं। टमाटर दैनिक पाक्ने गर्छन्, बिक्री गर्न गाह्रो छ। अहिले सबै किसान मर्कामा परेका छन्,’ उनले दु:खेसो पोखे। धेरै वर्षपहिले देखि तरकारी उत्पादन व्यवसायमा लागेका बरलाका किसानले समय–समयमा हुने बन्दले जिल्ला बाहिरका खरिदकर्ताहरू आउन नपाएपछि यसपालि तरकारीको भाउ घटेको र बिक्रीमा कठिनाइ भएको गुनासो गरे। बरलामा तरकारी बिक्री गर्न सातामा दुई पटक हाटबजार सञ्चालन गरे पनि प्रभावकारी नभएको उनीहरूले बताए। उनीहरूले तरकारी सीधै कपुरकोट सम्म पुर्‍याउने व्यवस्था मिलाइदिन कृषि कार्यालयसँग अनुरोध गरेका छन्।

प्रकाशित : आश्विन ७, २०७२ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?