कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कामका लागि विदेशिंदै पूर्वलडाकु

राजेन्द्र नाथ

बनकटुवा (बाँके) — कुनै बेला 'शोषित, पीडित जनताको मुक्तिका लागि बन्दुक' उठाएका वनकटुवा ९ लालपुरका भक्तबहादुर घर्ती अहिले परिवार पाल्न खाडी

मुलुक मलेसिया भास्सिएका छन् । परिवार पाल्न धौ-धौ भएपछि गाउँका अरू युवासँगै उनी मलेसियामा पसिना बगाइरहेका हुन् ।
सुर्खेतस्थित माओवादी लडाकुको दशरथपुर शिविरबाट ५ लाख रुपैयाँ लिएर स्वेच्छिक अवकाश लिएका भक्तले उक्त रकमबाट सम्झनाचोक नजिक घडेरी खरिद गरे । 'भएको रकम त्यसैमा सिद्धिएपछि परिवार पाल्न समस्या भयो,' गाउँमा रहेकी उनकी पत्नी तिलाले भनिन्, 'त्यसैले गत वैशाखमा मलेसिया जानुभयो ।'
पूर्व-पश्चिम राजमार्गको सम्झनाचोक उत्तरमा २०२४ सालमा बसालिएको यो बस्तीका तीन युवा 'मुक्तिको मीठो सपना मनमा साँचेर' माओवादी सेनामा गएका थिए । उनैमध्येका अर्का हुन्, चन्द्रबहादुर बुढा । शिविरबाट बाहिरिएपछि सडकमा आएका चन्द्रले पनि परिवारको गर्जो टार्न भक्तबहादुरको बाटो पछ्याए । उनी कामका लागि कालापहाड -भारत) हान्निएका छन् ।
अर्का युवा डण्डबहादुर परियार भने गाउँमा सिलाइको काम गरेर जेनतेन परिवार धानिरहेका छन् । सानो गाउँमा भनेजस्तो आम्दानी नभएपछि उनी पनि विदेशिने सुरमा छन् । 'पाँच वर्षसम्म घर-परिवार नभनी बन्दुक बोकेर जंगलै जंगल कुदियो,' उनले निराशा पोखे, 'ज्यान हत्केलामा राखेर युद्ध लडियो तर अहिले त्यसको कुनै अर्थ देखिएन । जहान-परिवार पाल्नसमेत मुस्किल भएपछि विदेशिनुको विकल्प छैन ।'
संविधानसभाको दोस्रो निर्वाचनसम्म आइपुग्दा उनीहरूले गाउँमा बसेर 'आफूहरूको राजनीतिक आस्था' बोकेको पार्टीलाई भोट दिनुपर्छ भनेरसमेत सम्झेनन् । 'साना केटाकेटीलाई भोकै राखेर कति दिन पार्टीमा लागिरहने ?,' भक्तबहादुरकी पत्नी तिलाले गुनासो गरिन्, 'पार्टीले उहाँहरूको त्यागको कदर नगरेपछि त्यहाँ बसिरहनुको औचित्य रहेन ।'
तिलाका तीन छोराछोरी छन् । मलेसिया जाँदा 'दलाल' ले १ लाख ३० हजार रुपैयाँ असुले । ७० हजार रुपैयाँमा जान सक्ने ठाउँमा त्यत्रो चर्को रकम तिर्नुपर्दा उनको परिवारलाई अतिरिक्त बोझ थपिएको छ । गाउँकै साथी-भाइसँग सरसापट गरेर त्यहाँ पुगेका भक्तले पत्नीसँग भएको अघिल्लो टेलिफोन वार्तामा भनेका थिए, 'बूढी यहाँ त काम कडा रहेछ । म चाँडै फर्किन्छु होला ।' आफ्ना पति खाडीमा के काम गर्छन्, तिलालाई जानकारी छैन । 'कामका बारेमा केही भन्नुभएको छैन,' उनले भनिन्, 'कडा काम भयो । यस्तो काम गर्न अब म सक्दिनँ होला मात्र भन्नुभएको छ ।'

प्रकाशित : पुस १६, २०७० ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?