चार प्राध्यापक कालोसूचीमा

काठमाडौं — विश्वविद्यालय अनुदान आयोगले 'बौद्धिक चोरी'को आरोपमा चार प्राध्यापकलाई कालो सूचीमा राखेको छ ।

उनीहरू चारै जनालाई आगामी दिनमा अनुसन्धान कार्यका लागि अयोग्य घोषणा गरिएको छ ।
कालोसूचीमा परेकाहरूमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस रसायनशास्त्रका प्राध्यापक मेघराज पोखरेल, देवबहादुर खड्का र केदारनाथ घिमिरे तथा काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनका प्राध्यापक धनपति सुवेदी छन् पहिल्यै गरेको कामको हुबहु नक्कल गरी अनुसन्धानपत्र बुझाएकाले उनीहरू कालोसूचीमा परेको आयोगले जनाएको छ । सुवेदीले आफ्नो एमफिलको थेसिसलाई हुबहु नक्कल गरी आयोगमा बुझाएका थिए । उनले एमफिलमा 'माध्यमिक शिक्षामा संस्थागत नागरिकको व्यवहार' शीर्षक शोधलाई आवरण र कथन परिवर्तन गरी बुझाएको आयोगले जनाएको छ ।
त्यसैगरी त्रिविका पोखरेल, खड्का र घिमिरेले यसअघि संयुक्तरूपमा अनुसन्धान गरेको शोधपत्रलाई नक्कल गरी आयोगमा बुझाएका थिए । उनीहरूले केही वर्षअघि 'प्राकृतिक पोलिमरको रसायनिक परिवर्तन र खानेपानी खेर गएका पानीमा त्यसको प्रयोग' शीर्षक अनुसन्धान पत्र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)लाई बुझाएका थिए ।
नास्टका पूर्वसचिव प्राध्यापक कृष्णबहादुर मानन्धर नेतृत्वको टोलीले ती अनुसन्धान पत्र मूल्यांकनका क्रममा फेला पारेको हो । प्राध्यापकहरूले आफ्नो उद्देश्य प्रस्ट्याउन नसकेपछि मूल्यांकन कमिटी र आयोगको अनुसन्धान परिषद्को बैठकबाट प्राज्ञिक मर्यादा उल्लंघन गरेको भन्दै चारै प्राध्यापकलाई आगामी दिनमा अनुसन्धान कार्यका लागि अयोग्य घोषणा गरिएको हो । शोधकार्यका निम्ति प्राध्यापकहरूले आयोगबाट १० लाख रुपैयाँ बराबरको अनुसन्धान अनुदान पाएका थिए । उनीहरूले अनुदान बापतको आधा रकम लिइसकेको जनाइएको छ ।

प्रकाशित : मंसिर २८, २०७० ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?