कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कर्मचारी छनोटमा अनियमितता भएको भन्दै गाउँपालिकामा तालाबन्दी

वसन्तप्रताप सिंह

बझाङ — प्राविधिक शिक्षा पढाउने एक विद्यालयको कर्मचारी छनोटको क्रममा अनियमितता भएको भन्दै बझाङको छविस पाथीभेरा गाउँपालिकामा तालाबन्दी गरिएको छ ।

कर्मचारी छनोटमा अनियमितता भएको भन्दै गाउँपालिकामा तालाबन्दी

स्थानीय बान्नीचौर साधारण तथा प्राविधिक विद्यालयमा सिभिल इन्जिनियरिङ ल्याव असिस्टेन्ट कर्मचारीमा कागजात नपुगेको उम्मेदवारलाई छनोट गरिएको भन्दै असन्तुष्ट पक्षले तालाबन्दी गरेको हो । तीन वर्षदेखि रिक्त रहेको उक्त पदमा २०७९ जेठ ३१ विज्ञापन गरिएको भए पनि २०८० साउन १८ गतेमात्रै परीक्षा भएको थियो ।

तीन जना उम्मेदवारको दरखास्त परेकोमा स्थानीय विमल जोशीलाई छनोट गरिएपछि असन्तुष्ट पक्षले पालिकामा नाराबाजीसहित आइतबार तालाबन्दी गरेका हुन् ।

‘विज्ञापन भएको एक वर्षसम्म कर्मचारी छनोट नगरेर अहिले रातारात आफ्ना मान्छेलाई भर्ना गरिएको छ । छनोट भएको व्यक्तिसँग तोकिएको योग्यता पुग्ने डकुमेन्ट पनि छैन,' स्थानीय हिक्मत बोहराले भने, ‘पहिला पनि यस्तो भएको छ । हरेक ठाउँमा योग्यता नहेरी आफ्ना मान्छेमात्रै भर्ना गर्न थालेपछि हामीले तालाबन्दी गर्न बाध्य भएका हौं ।'

गाउँपालिका अध्यक्ष बसन्त चलाउनेले भने कर्मचारी छनोटमा कुनै अनियमितता नभएको भन्दै आफ्नो उम्मेदवार छनोट नभएको झोकमा पालिकामा तालाबन्दी गरिएको बताए ।

‘मैले बुझ्दा कर्मचारी छनोट प्रक्रिया नियमसंगत नै छ । त्यहाँ कुनै अनियमितता भएको छैन,' अध्यक्ष चलाउनेले भने, ‘आफूले चाहेको मान्छे छनोट भएन भन्दै एउटा समूहले पालिकामा ताला लगाउने काम गरेको छ । यो राम्रो होइन ।'

उनले छनोट भएका उम्मेदवार र असफल उम्मेदवार एउटै विद्यालयमा पढेर सँगै उत्तीर्ण भएको जनाउँदै उम्मेदवारको योग्यताका प्रमाण परीक्षा समितिसँग रहेको दाबी गरे । अराजक समूहले पालिकामा लगाएको ताला तोड्नका लागि आफुले प्रहरीलाई जानकारी गराइसकेको उनको भनाइ छ ।

प्रकाशित : श्रावण २१, २०८० १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?