कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

यार्सा संकलकबाट एक करोड रुपैयाँ राजश्व संकलन

डोल्पा — बहुमूल्य जडीबुटी यार्सागुम्बा टिप्न जानेहरुबाट सरकारले एक कराेड भन्दा धेरै रुपैयाँ राजश्व संकलन गरेको छ । डोल्पाका पाटन क्षेत्रमा यो वर्ष ७ हजार ४ सय जना यर्सा संकलन भित्रिएका छन् । उनीहरुबाट एक करोड २५ लाख ८७ हजार ५ सय रुपैयाँ राजश्व असुली भएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । 

यार्सा संकलकबाट एक करोड रुपैयाँ राजश्व संकलन

गत वर्ष यहाँ यार्सा टिप्न करिब ४ हजार यार्सा संकलकर्ता आएका थिए । उनीहरुबाट ८५ लाख रुपैयाँ राजश्व संकलन भएको थियो । तर यसपटक गतवर्षको तुलनामा यार्सा संकलन र राजश्व दुवै बढेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका बरिष्ठ संरक्षण अधिकृत बिश्वबाबु श्रेष्ठले कान्तिपुरलाई बताए ।

गत वर्षको तुलनामा यो पटक दोब्बर यार्सा संकलककर्ता पाटन प्रवेश गरेको र राजश्व पनि गत वर्षको तुलनामा झण्डै ४१ लाख रुपैयाँ बढी संकलन भएको उनले बताए । यार्सा गुम्बा व्यवस्थापन (संकलन तथा ओसार पसार) निर्देशिका-२०७३ बमोजिम निकुञ्ज क्षेत्र भित्रका ब्यक्तिलाई प्रति ब्यक्ति ५ सय र निकुञ्ज भन्दा बाहिरका स्थानीयलाई प्रति ब्यक्ति २ हजार र डोल्पा जिल्ला भन्दा बाहिरका स्थानीयलाई प्रति ब्यक्ति ३ हजारका दरले प्रवेश शुल्क उठाएको बरिष्ठ संरक्षण अधिकृत श्रेष्ठको भनाइ छ ।

कुल संकलन भएको राजश्व मध्ये ३० देखि ५० प्रतिशत रकम निकुञ्ज क्षेत्रको सामुदायिक विकासमा खर्च गरिने व्यवस्था उल्लेख गरिएको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयले यार्सा संकलक र राजश्व विवरणको विस्तृत विवरण अनुसार डोल्पाको तोइजम क्षेत्रबाट १५ सय यार्सा संकलन पाटन प्रवेश गरेको र त्यहाँबाट १५ लाख राजश्व उठेको छ ।

मुगुको मुगुम कार्मारोङ गाउँपालिकाको डोल्फू क्षेत्रबाट १ सय जना यार्सा संकलक पाटन प्रवेश गर्दा १ लाख ९४ हजार राजश्व उठेको छ । त्यसैगरी शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रको मुख्य कार्यालय क्षेत्रबाट २ हजार ४१ जना यार्सा संकलक पाटन प्रवेश गरेको र उनीहरुबाट २९ लाख ७४ हजार ५ सय राजश्व संकलन भएको निकुञ्जले जनाएको छ ।

डोल्पाको क्षेप्का क्षेत्रबाट ४ सय ७३ जना यार्सा टिप्न पाटन जाँदा ३ लाख ७९ हजार राजश्व असुली भएको छ । फोक्सुण्डो तालको रिम्मु क्षेत्र बाट १ सय ३ जना यार्सा संकलक पाटन प्रवेश गरेको र उनीहरु बाट १ लाख ७७ हजार राजश्व उठेको छ ।

डोल्पाको त्रिपुरा क्षेत्रबाट ४ सय ५० जना यार्सा संकलक पाटनतर्फ जाँदा तिनीहरुबाट २ लाख ५५ हजार राजश्व असुली भएको छ । त्यसैगरी डोल्पाको दोरेन्जपोष्टबाट २७ सय जना यार्सा संकलक पाटन जाँदा ७० लाख ३७ हजार राजश्व संकलन भएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

डोल्पा जिल्लाका ३२ स्थानमा यार्सा पाइने गरेको छ । मुगु जिल्लाको तुलनामा डोल्पा यार्सा बाट बढी राजश्व असुली हुने गरेको छ । डोल्पाको पाटन क्षेत्रमा यार्सा टिप्न करिव ७ जिल्लाका स्थानीय प्रवेश गर्ने गरेका छन् ।

प्रकाशित : जेष्ठ १४, २०८१ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?