१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

दुर्गमका सामुदायिक विद्यालयमा बस

विप्लव महर्जन

सल्यान — भौगोलिक विकटताले दुर्गममा पर्ने तीन सामुदायिक विद्यालयले विद्यार्थीको सहजताका लागि बस सेवा संचालनमा ल्याएका छन् । देशमै उत्कृष्ठ भएको कुमाख गाउँपालिका-२ रुमालगाउँस्थित नारायण मावि, बाग्चौर नगरपालिका-२ थारमारेस्थित जनकल्याण नमुना मावि र बन्गाड कुपिण्डे नगरपालिका-५ च्युरास्थित त्रिभुवन जनता माविले बस सेवा संचालनमा ल्याएका हुन् । 

दुर्गमका सामुदायिक विद्यालयमा बस

जनकल्याण माविले आफ्नै स्रोतमा बस किनेको थियो भने त्रिभुवन जनता मावि र नारायण माविलाई भारत सरकारले सहयोगस्वरुप बस उपलब्ध गराएको थियो ।

देशमै उत्कृष्ट विद्यालय भएकाले भारत सरकारले सहयोगस्वरुप उपलब्ध गराएको बस संचालनमा आए लगत्तै झन्डै दुई घन्टा हिँडेर विद्यालय आउन बाध्य भएका विद्यार्थीलाई धेरै राहत हुने नारायण मावि रुमालगाउँका प्रधानाध्यापक देबेन्द्र रावतले बताए । शिक्षकहरुके सक्रियताले विद्यालय उत्कृष्ट भएको र त्यहि कारण भारत सरकारको सहयोगमा बस प्राप्त भएको उनले जानकारी गराए ।

‘भौगोलिक विकटता र पालिका भित्रका सडक साँगुरो भएकाले सबै वडामा बस पुर्‍याउन त्यत्ति सहज छैन, तर बस पुग्न सक्ने स्थानसम्म लगेर विद्यार्थी ओसारपसार गर्ने छौँ,' उनले भने, ‘लामो समय हिडेर विद्यालय आउन बाध्य भएका विद्यार्थीले अबका दिनमा धेरै समय हिडनुपर्ने छैन ।’ भारत सरकारको सहयोगमा विद्यालयले बस पाएपछि शैक्षिक सुधारमा थप टेवा पुग्ने मात्र नभई आर्थिक वर्ष २०८०/०८१ मा ६ सय ९२ विद्यार्थी रहेका विद्यालयमा यस आवमा ८ सय विद्यार्थी पुर्‍याउने लक्ष्य रहेको उनको भनाइ छ ।

पालिकाले खनेका अधिकांश सडक साँघुरा भएकाले तत्कालका लागि विद्यालयले सल्लीबजार र गर्चे दुई स्थानबाट शैक्षिक सत्रको पठनपाठन सुरु भएसँगै बस संचालन गर्ने तयारी गरिरहेको त्रिभुवन जनता मावि च्युराका प्रधानाध्यापक गुमानसिंह बिष्टले बताए । टाढाबाट हिडेर आउने विद्यार्थीका लागि संचालित बस सेवाले धेरै राहत हुने उनले जानकारी गराए ।

‘पालिकाको केही स्थानबाट विद्यार्थीहरु दुई/ढाई घन्टा लामो समय हिडेर हतारहतार गरी विद्यालय आउछन । विहानै घरबाट निस्कनु पर्दा उनीहरुले राम्रोसंग खाना खान पाउँदैनन् । कतिपय त बाटैमा बिरामी पर्छन् । बस संचालनमा आउने बित्तिकै टाढाका विद्यार्थीले अब आधा घन्टा बढी हिड्नु पर्दैन,’ उनले भने । गत वर्ष १ हजार १ सय ६५ विद्यार्थी रहेको विद्यालयमा यो वर्ष बस संचालनमा ल्याएपछि बढाएर १ हजार २ सय पुर्याउने लक्ष रहेको उनको भनाइ छ ।

गत वर्षसम्म टाढाबाट पढन आउने विद्यार्थीले कोठा भाँडामा लिएर बस्नुपर्ने बाध्यता मात्र नभई आर्थिक भार बढेको र विद्यार्थी समयमै विद्यालय आउन सकुन् भनेर विद्यालयले आफ्नै स्रोतबाट १३ लाखमा ४२ सिटे बस किनेर संचालनमा ल्याएको जनकल्याण मावि थारमारेका प्रधानाध्यापक तुलसीराम कस्नेतले बताए । विद्यार्थी आउनसक्ने सबै स्थानमा बस पुर्‍याउने उनले जानकारी गराए ।

प्रकाशित : वैशाख १२, २०८१ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?