क्षतिपूर्तिमा सहमतिपछि आफन्तले बुझे खत्रीको शव

महेश केसी

रुकुम पश्चिम — जिल्लाको मुसीकोट नगरपालिका–३ छेराका लोकबहादुर खत्रीको शव बिहीबार साँझ आफन्तले बुझेका छन् । खत्रीको शव भेटिएको सडक निर्माण कम्पनी यती विल्डर्सले घटनाको जिम्मा लिने, पीडितका परिवारलाई १० लाख क्षतिपूर्ति दिनेलगायत सहमतिपछि उनका आफन्तले शव बुझेका हुन् ।

सहमतिबारे यति विल्डर्सका प्रतिनिधि चन्द्रबहादुर खत्रीले भने, ‘बिमामार्फत प्राप्त हुने ५ लाख र क्रिया खर्चबापत ५ लाख गरेर कुल १० लाख रुपैयाँ दिने सहमति भएको छ । हाम्रो तर्फबाट ५ लाख दिइसक्यौं । बाँकी बिमाको ५ लाख भने आवश्यक प्रक्रियापश्चात् आफन्तले पाउनुहुनेछ ।'

घरबाट घाँस काट्न भनेर चैत १ गते बिहान जंगलतर्फ गएका खत्री ६ दिनपछि घर नजिकैको निर्माणाधीन सडकको तलपट्टि मृत भेटिएका थिए । सडक निर्माणका क्रममा उनको मृत्यु भएको भन्दै आफन्तले घटना छानबिन तथा आवश्यक क्षतिपुर्तीको माग राखेर विरोध जनाउँदै शव बुझ्न मानेका थिएनन् ।

जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईका अनुसार आज (बिहीबार) मृतकका छोरा भूपेन्द्र खत्रीले ज्यानसम्बन्धी कसुरको जाहेरी प्रहरी कार्यालयमा आफन्तले दर्ता गराएका छन् । त्यसपछि शव पोस्टमार्टम गरी आफन्तलाई बुझाइएको डिएसपी भट्टराईले बताए । ‘पीडितबाट जाहेरी आएपछि हामीले पोस्टमार्टमका लागि प्रक्रिया अगाडि बढायौं,' उनले भने, ‘पोस्टमार्टमपछि पीडितका आफन्तले शव बुझ्नुभएको छ । अब हामी जाहेरीका आधारमा कानुनअनुसार अघि बढ्छौं ।'

क्षतिपूर्तिमा सहमतिपछि आफूहरुले प्रक्रियाअनुसार प्रहरीमा जाहेरी दिएको मृतकका छोरा भूपेन्द्रले बताएका छन् ।

प्रकाशित : चैत्र ९, २०७९ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्

सेनाको संख्या सरकारले तोक्ने हो, स्वघोषित विज्ञले होइन : प्रधानसेनापति शर्मा

कान्तिपुर संवाददाता

पोखरा — नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले सेनाको संख्या निर्धारण गर्ने काम स्वघोषित विज्ञ र गैरसरकारी संस्थाको नभई नेपाल सरकारको भएको टिप्पणी गरेका छन् । उनले समय समयमा कसैको इसारामा बाहिरी व्यक्तिबाट सेनाको संख्याबारे हुने टिप्पणी र अनर्गल प्रचारमा नलाग्न आग्रह गरे । 

‘संख्या यति हुनुपर्छ, उति हुनुपर्छ र यस्तो साइज हुनुपर्छ, राइट साइजिङ हुनुपर्छ र अन्य नचाहिँदो नचाहिँदो किसिमका कुराहरू पनि हुने गरेको छ । यसलाई प्रकाशित गर्ने गरेको पनि पाइएको छ । यो हेर्दा हाँस्यास्पद हो,’ पोखरामा बिहीबार भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘आफ्नो कार्य र जिम्मेवारी पूरा गर्न नेपाली सेना के कति चाहिन्छ भन्ने कुरा नेपाल सरकारले निर्धारण गर्दछ, न कि कुनै आईएनजीओ र एनजीओमा बसेर आफैँ स्वघोषित डाक्टर, स्वघोषित विज्ञ, सुरक्षाविज्ञ भन्नेहरूले होइन ।’

नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्नु नेपाली सेनाको संविधान प्रद्दत्त जिम्मेवारी भएको उनको भनाइ थियो । सँगसँगै विकास निर्माण, पर्यावरण संरक्षण तथा विशुद्ध शान्ति स्थापना र व्यवस्थापनलगायत नेपाली जनतालाई आवश्यक परेका अन्य कुराहरूमा सहयोग गर्ने जिम्मेवारीसमेत सेनाको भएको प्रधान सेनापति शर्माले जिकीर गरे ।

‘साथसाथै नेपाल सरकारबाट तोकिएका विभिन्न कार्यहरू गर्नु नै हामीले आफ्नो जिम्मेवारी हो भन्ने गरेका छौं,’ उनले भने, ‘यिनै जिम्मेवारी पूरा गर्न नेपाली सेना कटिबद्ध छ ।’

नेपाली सेनाले संविधानसम्मत निर्वाह गरिरहेका जिम्मेवारीहरूका बारेमा बेला मौकामा दूष्प्रचार गर्ने नियतले अनर्गल गाली हुने गरेकोप्रति उनले असन्तुष्टि व्यक्त गरे । ‘विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट हुने त्यस प्रकारका झुठा प्रचारबाजीहरूबाट तपाईंहरू टाढा रहनुपर्छ,’ भेलामा उनले भने, ‘हाम्रा वेबसाइटहरु, सम्बन्धित विभागहरूबाट गरिएका परिपत्र, नेपाल सरकारका आदेश र निर्देशनहरूबाट नै प्रस्ट रुपमा कुरा बुझ्न सकिन्छ, अनर्गल प्रचारको पछि नलाग्नुहोला ।’

पोखराको फूलबारी ब्यारेकमा भएको पश्चिम पृतना हेडक्वार्टरको प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलनमा मनाङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा स्थायी बसोबास गर्ने ३ हजार ८ सय ९४ भूपू सैनिक सहभागी थिए ।

उक्त अवसरमा प्रधान सेनापति शर्माले ज्येष्ठ नागरिक पूर्वसैनिक, परिवार, सबै सन्तान नेपाली सेनामा भर्ती गराएका अभिभावकलगायतलाई सम्मान गरेका थिए ।

प्रकाशित : चैत्र ९, २०७९ १८:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×