क्षतिपूर्तिको माग गर्दै आफन्तले शव बुझेनन्

महेश केसी

रुकुम पश्चिम — रुकुम पश्चिमको मुसीकोट नगरपालिका–३ छेराका ६१ वर्षीय लोकबहादुर खत्री चैत १ गते घाँस काट्न भनेर घरबाट निस्किएका थिए । तर दिउँसोसम्म उनी फर्किनन् ।

त्यसपछि आफन्तहरुले खोजी गरे कतै भेटेनन् । चैत २ गते जिल्ला प्रहरी कार्यालयमा खत्री हराएको जानकारी गराइयो । प्रहरीले ५ दिनपछि ७ गते दिउँसो २ बजेतिर खत्रीलाई मृत अवस्थामा माटोले पुरिएको भेटायो ।

राप्ती लोकमार्गको सडक खण्ड निर्माणको काम भइरहेको स्थलमा चलिरहेको डोजरले लागेर उनको मृत्यु भएको हुन सक्ने आफन्तको पूर्वानुमान अनुसार नै हराएको ६ दिनपछि शव भेटिएपछि प्रहरीको अनुसन्धान निर्माणस्थालतर्फ सोझियो । जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईले शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । तर आफन्तले जाहेरी नदिएका कारण पोष्टमार्टम हुन सकेको छैन ।

गत चैत १ गते नै घटना भएको र सडक निर्माणकर्ताले घटना लुकाउन खोजको आरोप मृतकका आफन्तको छ । खत्रीकी बुहारी पार्वती केसीले भनिन्, ‘यो त सोझै हत्या हो । दुर्घटना भएको भए ६/६ दिनसम्म किन हामीलाई जानकारी गराइएन र शव लुकाइयो ।' खत्री दुर्घटनामा परेपछि आफन्तलाई खबर गर्नुको साटो सडकमुनि लगेर गाडेको उनीहरुले आरोप लगाएका छन् ।

डीएसपी भट्टराईका अनुसार शव सडकभन्दा करिब १५ मिटर तल पुरिएको अवस्थामा भेटिएको हो । ‘माथिबाट आएको माटोले नै उनी पुरिएको अवस्थामा शव भेटिएको छ ।' डीएसपी भट्टराईले भने, ‘मान्छे सजिलै जान नसक्ने ठाउँमा शव भेटिएकाले पछि लगेर गाडिएको भन्दा पनि दुर्घटनामा परेर पुरिएको हाम्रो अनुमान छ । यस विषयमा हामी थप अनुसन्धान गर्दैछौं ।'

यतिबेला मृतकका आफन्तले लोकमार्ग निर्माणको काम गरिरहेको ठकेदार कम्पनी यति विल्डर्ससँग क्षतिपूर्तिको माग गरिरहेका छन् । अन्जानमा दुःखद् घटना घटेको भन्दै आफूहरु क्षतिपूर्ति दिन तयार भएको यति विल्डर्सका प्रतिनिधि चन्द्रबहादुर खत्रीले पीडितद्वारा ठूलो रकम माग भएकाले आफूहरुलाई समस्या परेको बताए । उनले भने, ‘माथि काम गरिरहेका बेला तल मान्छे पुरिएको हामीलाई थाहै भएन । पछि शव भेटिएपछि पो थाहा पायौं ।'

आफन्तले जाहेरी नदिएका कारण शवको पोष्टमार्टम हुन नसकेको प्रहरीले बताएको छ । आफूहरुको पालनपोषण गर्ने मुख्य जिम्मेवारीमा रहेको अभिभावकको नै मृत्यु भएपछि यसको उचित क्षतिपूर्ति नभएसम्म शव नबुझ्ने मृतकका छोरा भीमबहादुर केसीले बताए ।

प्रकाशित : चैत्र ९, २०७९ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्

टेलरको बहुचर्चित टुर

नयाँ एल्मबसहित ‘एराज’ टुरमा निस्केकी टेलर स्विफ्टले आफूलाई यसरी प्रस्तुत गरिरहेकी छन्, जुन एकातर्फ पुरानो इतिहास र अर्कोतर्फ नयाँ भविष्य बन्नेछ । अहिले विश्व संगीतमा केहीको बढी चर्चा भइरहेको छ भने स्विफ्टको यही टुरको । उनका समर्थक निकै खुसी छन्, अनि मिडियामा पनि उत्तिकै चर्चा छ ।
हिमेश

काठमाडौँ — टेलर स्विफ्ट फेरि एकपल्ट टुरमा निस्केकी छन्, त्यो पनि ६ वर्षपछि । विश्वास नहुन सक्छ, उनको अन्तिम टुर सन् २०१८ मा थियो । यस समयबीच उनी खाली स्टुडियोमै मात्र व्यस्त रहिन् । स्विफ्ट पनि कन्सर्ट भनेपछि हुरुक्कै हुने खालकी हुन् । तर किन हो किन, बाहिर निस्केर खुला हावामा गाउने साइत भने जुरिरहेको थिएन । यसको एउटा ठूलो कारण त, कोरानो संक्रमणको महामारी र त्यसै कारण भएको लकडाउन पनि थियो ।


उनको अहिलेको टुर पछिल्लो शुक्रबार मात्र सुरु भएको हो, त्यसको पहिलो कन्सर्ट एरिजोनाको स्टेट फार्म हाउसमा भएको थियो । यो यही स्टेडियम हो, जहाँ एक महिना अगाडि सुपर बउलको खेल भएको थियो । आइतबार फेरि त्यही स्टेडियममा दोस्रो कन्सर्ट पनि राखिन् । टुरको नाम रहेको छ, ‘एराज’ । अर्थात् युगहरू । स्विफ्टको अब नयाँ निस्कने एल्बम हुनेछ, ‘लभर’ । अब टुरमा यसकै गीत बढी गाइनेछ, एल्बमको प्रचारका रूपमा पनि ।

तर यो टुरको विशेषता यही भने होइन । अहिलेसम्म उनका १० अल्बम निस्के, त्यसमध्ये टुरका क्रममा सबैको प्रतिनिधित्व गरिनेछ । पहिलो कन्सर्टपछि ३३ वर्षीया अमेरिकी गायिका तथा गीतकार केही भावुक पनि बनिन् । अलिकति अन्योल पनि देखिइन् । उनको भनाइ थियो, ‘म अहिले के कस्तो अनुभव गरिरहेकी छु, त्यो भनै सक्दिनँ ।’ कन्सर्टको साढे तीन घण्टामा आफ्ना ४४ गीत गाइन् । सबै गीत पूरा भने गाइनन् । यसअघिका तीन एल्बमका लागि उनले कन्सर्ट नै गरिनन् ।

नोभेम्बरमा सबैलाई आश्चर्यमा पार्दै एकाएक यो टुरको घोषणा गरेकी थिइन् र यसको नाम पनि सुनाएकी थिइन्, त्यही ‘एराज’ । यस्तो नाम किन त ? उनकै भनाइमा, टुरका क्रममा स्विफ्टले आफूलाई यसरी प्रस्तुत गर्नेछिन्, जुन एकातर्फ पुरानो इतिहास हुनेछ, अर्कोतर्फ नयाँ भविष्य पनि हुनेछ । अहिले विश्व संगीतमा केहीको बढी चर्चा भइरहेको छ भने स्विफ्टको यही टुरको भइरहेको छ । उनको समर्थक पनि खुसी नै छन्, मिडियामा पनि मस्त चर्चा छ ।

खासमा गीतको मज्जा त्यति बेला बढी हुने गर्छ, जति बेला आफूलाई मन परेको गायक अथवा गायिकाले ‘लाइभ’ गाइरहेको हुन्छ । दोस्रो कन्सर्टसम्म आइपुग्दा स्विफ्ट नयाँ चुनौतीलाई लिएर अभ्यस्त पनि देखिइन् । त्यसैले उनको अनुहारमा केही खुसीको अंश पनि देखियो, पहिलो कन्सर्टको तुलनामा । त्यसै क्रममा उनले भनिरहेकी थिइन्, ‘प्रत्येक कन्सर्टमा केही न केही नयाँ गर्ने योजना छ । सायद तुरुन्त तुरुन्तै म एउटै गीत दोहराएर गाउने पनि छैन । त्यसको अर्थ के भने प्रत्येक कन्सर्ट यसअघिको कार्यक्रमभन्दा फरक हुनेछ ।’

विश्वास गरौं, त्यस्तै हुनेछ र यो त उनका समर्थकका लागि मिठो उपहार नै हो । एक थोक भने समान हुनेछ । फेरि त्यही पहिलो कन्सर्टमा फर्कन हो भने, त्यसको अन्त्य भएको थियो, ‘कर्मा’ गीतबाट । अर्थात् कर्म । उनी प्रत्येक कन्सर्ट यही गीतबाट टुंग्याउन योजनामा छिन् । यो गीत उनको पछिल्लो अल्बम ‘मिडनाइट्स’ बाट हो । अक्टोबर २१ मै मात्र रिलिज भएको हो । गीत के एकपल्ट जारी भयो, यो रातारात चर्चित भयो, सफल रह्यो ।

व्यावसायिक रूपमा पनि यो उत्तिकै अब्बल रह्यो । अमेरिकामै पनि यो गीत लगभग तुरुन्त जस्तै शीर्ष १० भित्र आरामले परेको थियो । यो गीतको लेखनमा स्विफ्टको मात्र हात छैन, उनलाई यस काममा उनका केही खासखास साथीहरूले मद्दत पनि गरेका छन् । विशेषतः ज्याक एटोनोफले । पश्चिमेली विश्वमा कर्म शब्द खुबै चर्चित छ, अचेल । बौद्धधर्मको सबैभन्दा ठूलो सिद्धान्त हो, कर्म । यसअनुसार जसले जे गर्छ, ठीक त्यस्तै नियति त हुन्छ ।

सायद स्विफ्टलाई पनि बौद्धधर्ममा केही न केही आस्था छ । त्यसो नभए, कम्तीमा कर्मको सिद्धान्तमा त विश्वास छ । त्यसैले उनले कर्म शब्दमा खेल्न थालेको अहिले होइन । सन् २०१४ मा उनको पाँचौं अल्बम निस्केको थियो र यसको नाम थियो, ‘१९८९’ । यो पनि व्यावसायिक रूपमा सानदार ढंगले सफल रह्यो । आलोचकले पनि मन पराए । तर उनी यसै क्रममा लगातार विवादमा पनि परिन्, धेरैसँग विवाद पनि गरिन्, परे झगडा पनि गरिन् ।

सन् २०१६ आइपुग्दा नपुग्दै उनी यस्ता विवाद, व्यर्थका चर्चाबाट आजित भइन् । अनि एक अन्तर्वार्तामा भनिन् पनि, ‘कर्म साँच्चै हुँदो रहेछ ।’ एक प्रकार यसबीच उनको व्यक्तिगत जीवन पनि निकै उतारचढावबाट गुज्रेको थियो । स्थिति कस्तोसम्म भयो भने स्विफ्टले सामाजिक सञ्जालबाटै अलग हुने घोषणा गरिन् । सन् २०१७ मा उनको नयाँ अल्बम आयो, ‘रेपुटेसन’ नामले । त्यसमा एउटा गीत छ, ‘लुक ह्वाट यु मे मि डु’ नामले ।यो गीतमा पनि कर्म शब्द प्रयोग भएको छ । अब त पूरापूर गीतकै नाम रहेको छ, ‘कर्मा’ ।

रोलिङ स्टोन पत्रिकाले यसलाई सन् २०२२ कै सर्वाधिक उत्कृष्ट गीतमध्ये एक मानेको छ । अझ केहीले त यसलाई स्विफ्ट अहिलेसम्मकै कोसेढुंगा गीत हो पनि भनेका छन् । उनलाई नजिकबाट चिन्नेहरू भन्छन्, स्विफ्टमा पछिल्लो समय धेरै परिवर्तन आएको छ, विशेषतः उनका धार्मिक आस्था केही हदसम्म फेरिएको छ ।

एक समय उनी निकै धार्मिक थिइन्, विशेषतः किशोर उमेरमा । समयसँगै उनी पनि फेरिन् र यसकै एउटा उदाहरण त हो, ‘फल्स गड’ गीत । स्विफ्ट पक्कै पनि पूर्ण बौद्धमार्गी भएकी छैनन् । सायद हुने पनि छैनन् । तर उनलाई कर्मको सिद्धान्तमा बेजोडले विश्वास हुन थालेको छ । यी त भए, उनको केही निजी कुरा । एक गायिका तथा गीतकारका रूपमा उनी अब्बल दर्जाकी छन्, यसमा कुनै शंका छैन । यसो हुँदैन थियो त, उनका २० करोडभन्दा बढी रेकर्ड बिक्री हुने थिएनन् ।

त्यसैले उनी पश्चिमेली संगीतका खुबै चल्तीका स्टार हुन् । फेरि अनुहार पनि त हिस्सी परेको छ । अझभन्दा सुन्दर भनौं । विशेषतः आँखा मनमोहन छन् । त्यसैले अहिलेको आधुनिक समाजमा उनको जबरजस्त प्रभाव पनि छ । फेरि उनको अहिलेको टुरमै फर्कने हो भने यसको नामैले सबथोक भनिरहेको छ, युगहरू । यी युगमा समय र अनुभवसँग स्विफ्ट धेरै फेरिएकी छन् । यो यस्तो टुर हो, जसले स्विफ्ट कसरी फेरिइन्, त्यसको कथा भनिरहनेछ ।

प्रकाशित : चैत्र ९, २०७९ ११:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×