कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

पाल्पाको रिब्दीकोट र सिद्धेश्वरमा तीन दिनदेखि लागेको डढेलो नियन्त्रणमा ल्याउन सकिएन

बस्ती जोगाए पनि जंगलमा लागेको डढेलो नियन्त्रण गर्न कठिन
माधव अर्याल

पाल्पा — पाल्पाको रिब्दीकोट गाउँपालिका अन्तर्गतको रिब्दीकोट जंगल क्षेत्र र रैनादेवी छहरा गाउँपालिका –१ सिद्धेश्वरका विभिन्न स्थानमा लागेको डढेलो तीन दिनदेखि नियन्त्रण गर्न सिकिएको छैन । रिब्दीकोट जंगल क्षेत्रमा लागेको डढेलोले मानवीय क्षति गरेको छैन ।

पाल्पाको रिब्दीकोट र सिद्धेश्वरमा तीन दिनदेखि लागेको डढेलो नियन्त्रणमा ल्याउन सकिएन

गाउँ कार्यपालिका सदस्य सुनिल बस्यालले बस्तीतर्फ डढेलो आएपनि सबै मिलेर जोगाउन सकिएको बताए । बतासे, डबका, नयाँ टोललगायतका स्थानबाट डढेलो लागेको हो ।

स्थानीयले बस्तीतर्फ आउनबाट जोगाए पनि जंगलमा पुगेर भने डढेलो निभाएका छैनन् । चर्को गर्मी, हावाहुरीका कारण जंगलमा पुगेर डढेलो निभाउन नसकिएको पालुङमैनादी, डबकाकी सीता कुँवरले बताइन् । उनका अनुसार बस्ती, बजारतर्फ आएको डढेलो निभाउन सबै जुटेका थिए । तर रिब्दकिोटको चार स्थानमा तीन दिनदेखि डढेलो लागिरहेको स्थानीय प्रकाश कार्कीले बताए । उनका अनुसार जलेश्वर क्षेत्रका साथै अन्य विभिन्न भागमा डढेलो लागि रहेको छ । ठिमुरे, पालुङमैनादी, कुसुमखोला अन्तर्गत रिब्दीकोट जंगल पर्छ । स्थानीयका अनुसार डढेलो लागेपछि पानीको मुहान, पाइपलाइनमा असर गरेको छ ।

तीन दिनदेखि सिद्धेश्वरका विभिन्न स्थानमा डढेलो लागेको छ । स्थानीयले दिनरात प्रयास गर्दा पनि नियन्त्रणमा ल्याउन नसकिएको गाउँपालिका उपाध्यक्ष युवराज थापाले बताए । घरबस्तीमा आउनबाट जोगाएको तर जंगलमा हावाहुरीका कारण नियन्त्रणमा लिन नसकेको उनले बताए । आइतबार बेलुकी लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीलगायतको टोली सिद्धेश्वरमा डढेलोको अवस्था बुझ्न पुगेका छन् । यहाँ डढेलो निभाउने क्रममा रैनादेवी छहरा–१ सिद्धेश्वरका ५५ वर्षीय टोपबहादुर बुढा घाइते भएका छन् । घाइते बुढाको छहरा अमलावासमा उपचरपछि तानसेनस्थित मिसन अस्पताल पठाइएको वडाध्यक्ष सोमबहादुर दर्लामीले बताए ।

सिद्धेश्वरको साउने, मोहरे, मगरान, सोलाभन्ज्याङ, मर्याङ्दी, चिसापानी लगायतका क्षेत्रका सामुदायिक वनमा भीषण डढेलो लागेको छ । डडेलो बस्तीमा पसेपछि भविश्वर पाण्डेय र रामनाथ पाण्डेको घर गोठ जलेर नष्ट भएको वडाध्यक्ष दर्लामीले बताए । सिद्धेश्वर क्षेत्रमा लागेको डढेलो सोमबार बिहानसम्म नियन्त्रणमा आउने सकेको छैन । माथागढी गाउँपालिकाको झडेवा क्षेत्रमा ५ जनाको घरगोठ जलेर पूर्णरूपमा नष्ट भएको छ । घरगोठमा लागेको डढेलो नियन्त्रणमा आएपनि उक्त जंगलमा नियन्त्रणमा आउन सकेको छैन । डढेलो निभाउने क्रममा माथागढी–४, मा पूर्णबहादुर कामु सामान्य घाइते भएका छन् ।

पाल्पाकै सिलुवामा लागेको डढेलोले दुई घर र एक गोठ खरानी बनाएको छ । भैसी लगायत पशु चौपाया पनि जलेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । पाल्पाकै बगनासकालीको चिर्तुङ्गधारा, पोखराथोक, रिब्दीकोटको कुसुमखोला, पालुङमैनादी, रिब्दीकोट जंगल क्षेत्रमा लागेको डढेलो लागेको छ । तिनाउ गाउँपालिकाको दोभान, झुम्सा, कचलमा पनि सामुदायिक वन क्षेत्रमा डढेलो लागेको छ । रैनादेवी छहरा गाउँपालिकाको जुठापौवा, सत्यवती, बल्ढेङगढी क्षेत्रको सामुदायिक वनमा डढेलो लागेको छ ।

प्रकाशित : वैशाख १०, २०८१ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?