कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

महिलालाई उद्यमी बनाउँदै उपमहानगर

रुपा गहतराज

नेपालगन्ज — नेपालगञ्ज उपमहानगरपालिका–१, धम्बोजीकी ४० वर्षीया नानीमाया पुरी विवाहको सगुन श्रृंगारका सामाग्री निर्माण गर्ने सीप सिक्दैछिन् । उनको पढाइ स्नातकसम्म हो । तर सरकारी जागिर प्रवेश गर्ने उनको धोको भने पूरा भएन ।

महिलालाई उद्यमी बनाउँदै उपमहानगर

‘खरदारदेखि सुब्बासम्मको परीक्षा लेखेँ, तर भाग्य रहेनछ,’ उनले भनिन्, ‘पहिले पसल थियो, छोराछोरी हेर्दै चलाउन सकिएन । अहिले छोराछोरी पनि हुर्किए, तर हातमा सीप नभएपछि तत्कालै गरिहाल्ने काम केही पनि छैन । त्यहीकारण यो सीप सिके अल्मलिने आधार बन्छ जस्तो लाग्यो ।’

उनले जरिवाला माला, दुलहीको घुम्टो, साइपाटा सुपोको सजावट, दक्षिणा राख्ने डाला लगायत सामाग्रीहरु बनाउन सिकिरहेकी छिन् ।

धम्बोजीकै ४३ वर्षीया हेमा बिसी पनि उनीसँगै सीप सिक्दैछिन् । बिहेअघि राहत कोटामा शिक्षक थिइन् । तर बिहेपछि त्यो पनि छोडेर पूर्णकालीन गृहिणी बनिन् । अहिले उमेर ढल्किँदै जाँदा हातमा सीप भए दुई पैसा कमाइ हुने आशाले उनलाई पनि सीप सिक्न प्रेरित गरेको छ । स्नातकसम्म पढेकी उनले पनि सरकारी जागिर खाने रहन पूरा गर्न सकिनन् । एक छोरा र एक छोरीकी आमा हेमा पनि अब सीप सिकेर जीवनलाई सजिलो बनाउने प्रयासमा छिन् ।

जरिवाला माला बुनिरहेकी हेमाले भनिन्, ‘पढेर पनि जागिर खान पनि मुस्किल रहेछ, अब यही सीपबाट भएपनि आफ्नो लागि आफैँले कमाउने हो,’ उनले भनिन्, ‘आफ्नो क्यारियरको बारेमा सोच्ने बेला बच्चा हुर्काउन ठीक्क भयो । अरुको भरमा बाँच्नुभन्दा आफूले जानेको सीप गरेर खानु राम्रो हो जस्तो लाग्यो ।’ ४० वर्षीया इन्द्रा खनालले अनमी पढेकी हुन् । तर आफ्नो अनुकूल जागिर नभएपछि उनी पनि हेमा र नानीमायासँगै सीप सिक्दैछिन् ।

उनीहरुलाई नेपालगञ्ज उपमहानगरपालिकाले सीपमूलक तालिमको आयोजना गरी प्रशिक्षित गरिरहेको छ । पढाइ लेखाइ भएर पनि बिहे गरेर गृहिणी बनेपछि रोजगारीबाट बञ्चित भएका महिलाहरुलाई उद्यमी बनाउने पहलअन्तर्गत आयोजित तालिममा ११ जना सहभागी छन् ।

उनीहरूलाई सीप सिकाइरहेकी प्रशिक्षक संगिता गौतमले भारतबाट कच्चा पदार्थ ल्याएर महिलाहरुले आफैँले दुलही श्रृंगार सामाग्री उत्पादन गर्न सक्ने अवस्था रहेको बताइन् । ‘यो साधारण काम हो । सजिलो छ, थोरै लगानीबाट राम्रो कमाइ गर्न सकिन्छ,’ उनले भनिन्, ‘१५ सय रुपैयाा लगानी गरेर चार हजार रुपैयाँ कमाउन सकिन्छ । बजारको समस्या पनि हुदैन ।’

उपमहानगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले विपन्न तथा पढेर पनि जागिर खान नसकेका महिलाहरुलाई लक्षित गरी यस्तो तालिमको आयोजना गरेको हो ।

‘महिलाहरूले घरमै भएपनि सीप सिकेर दुईचार पैसा आम्दानी गर्न सकुन्, उनीहरुलाई आत्मनिर्भर बन्न सहयोग पुगोस् भन्ने उद्देश्य हो,’ उपमहानगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मन्जु पाण्डेले भनिन्, ‘बजारको माग बमोजिमको सीप सिकाइरहेका छौँ ।’

प्रकाशित : वैशाख ९, २०८१ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?