कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३४०

बर्दिया निकुञ्जमा पर्यटक बढे, व्यवसायी उत्साही

कमल पन्थी

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेसँगै पर्यटन व्यवसायीहरु उत्साही बनेका छन् । कोरोना महामारी, आर्थिक मन्दीका कारण थिलथिलो बनेको पर्यटन व्यवसायमा चालु आर्थिक वर्षदेखि विस्तारै आशा पलाएको हो ।

बर्दिया निकुञ्जमा पर्यटक बढे, व्यवसायी उत्साही

कोरोनाकालमा मुस्किलले पर्यटक आउने यहाँ हिउँदे मौसम र नयाँ वर्ष मनाउने पर्यटकले विस्तारै होटल भरिन थालेको छ । निकुञ्ज आसपासमा साना ठूला गरी करिब ३० वटा होटल रहेका छन् ।

निकुञ्जको तथ्यांकअनुसार चैत महिनामा नेपाली पुरुष तथा महिला २ हजार ३ सय जनाले अवलोकन भ्रमण गरेका छन् । साउनयता नेपाली नागरिक १४ हजार १ सय ६९ जनाले बर्दिया निकुञ्जको भ्रमण गरेको सहायक संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले बताए ।

यसैगरी साउनयता सार्क मुलुकबाट १ हजार १ सय ५ र विदेशी ४ हजार ९ सय ५३ पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् । चाल आवको चैत मसान्तसम्म नेपाली, विदेशी र सार्क मुलुकका गरी २० हजार २ सय २७ पर्यटकले निकुञ्जको अवलोकन गरेको सहायक संरक्षण अधिकृत वाग्लेले बताए ।

आव ०७९/८० मा साउनदेखि चैत मसान्तसम्म नेपाली पर्यटक १ हजार ७ सय ९५, सार्कबाट ८ सय ४१ र विदेशी ४ हजार ८ सय ४ विदेशी पर्यटक भित्रिएको निकुञ्जले जनाएको छ । उक्त आवको चैत मसान्तसम्म नेपाली, विदेशी र सार्क मुलुकका १८ हजार ४ सय ४० पर्यटक आएका थिए ।

नयाँ वर्ष २०८१ को स्वागत गर्न शुक्रबार बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको पर्यटन व्यवसायी बासुदेव भट्टराईले बताए । उनका अनुसार यहाँका अधिकांश होटलमा आन्तरिकसँगै विदेशी पर्यटकले भरिँदै गएको छ ।

होटल व्यवसायीले पर्यटकका लागि शुक्रबार राति १२ बजेसम्म नाचगानलगायत थारु संस्कृति झल्कने कार्यक्रम राखिने उनले जनाए ।

पर्यटन व्यवसायी रामजी थापाले नयाँ वर्ष मनाउन आन्तरिक पर्यटकसँगै विदेशीले एक साताअघि होटल बुक गरेको बताए ।

९ सय ६८ वर्ग किमि ओगटेको निकुञ्जमा बाघ, गैंडा, हात्ती लगायतका जनावर सहजै हेर्न पाउँदा स्वदेशी र विदेशी पर्यटक आकर्षित हुने गरेको सहायक प्रमुख संरक्षण अधिकृत वाग्लेले बताए । उनका अनुसार बर्दियामा आउने अधिकांशको रोजाई बाघ हेर्ने रहेको छ । बर्दिया निकुञ्जमा १ सय २५ वटा बाघ रहेका छन् ।

प्रकाशित : चैत्र ३०, २०८० १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?