कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८७

लुम्बिनीमा अनलाइन टिकटको शुभारम्भ

माधव ढुंगाना

भैरहवा — लुम्बिनीमा पर्यटकका लागि अनलाइन टिकट प्रणाली संचालनमा ल्याइएको छ । लुम्बिनी विकास कोषले शनिबारदेखि लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि अनलाइन टिकट प्रणाली संचालनमा ल्याएको हो ।

लुम्बिनीमा अनलाइन टिकटको शुभारम्भ

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री हितबहादुर तामाङले शनिबार लुम्बिनीमा अनलाइन टिकट प्रणालीको शुभारम्भ गरेका हुन् । अनलाइन टिकट प्रणाली लागू भएपछि पर्यटकले घण्टौंसम्म लाइन बसेर टिकट काट्नु पर्ने बाध्यताको अन्त्य भएको छ ।

कार्यक्रममा सम्बोधन गर्दै मन्त्री तामाङले अनलाइन टिकट प्रणाली संचालनमा पूर्णरुपमा पारदर्शिता हुने विश्वास व्यक्त गरे । अनलाइन टिकट प्रणाली संचालनमा आएपछि स्वदेशी तथा विदेशी पर्यटकलाई लुम्बिनीको भ्रमण गर्न अझ सहज वातावरण बनेको उनको दाबी थियो । ‘पर्यटकलाई खर्च गर्ने सहज वातावरण बनाउनुपर्छ,’ लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री तामाङले भने, ‘टिकट काट्नका लागि पनि लाइनमा बस्नु पर्ने र अनेक झन्झट बेहोर्नु पर्दा पर्यटक पैसा भएर पनि आउन चाहँदैनन् ।’

लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारकाल लामाले लुम्बिनी आउने पर्यटकलाई सहज वातावरण बनाउनका लागि अनलाइन टिकटको व्यवस्था गरिएको र लुम्बिनीको महत्व र पहिचानलाई अन्तर्राष्ट्रियकरण गर्न जरुरी भएको बताए । लामाले भैरहवामा निर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान बनाउन पनि जरुरी भएको बताए ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धचरण भट्टराईले कोषको गर्त वर्षकै नीति तथा कार्यक्रमअनुरुप अनलाइन टिकट प्रणालीलाई लागू गरिएको बताए ।

लुम्बिनी आउने पर्यटकलाई मायादेवी मन्दिर परिसरमा प्रवेशका लागि कपिलवस्तु, रुपन्देही जिल्ला बाहेकका स्वदेशी विद्यार्थीलाई प्रतिव्यक्ति १० र नागरिकलाई २० रुपैयाँ शुल्क लाग्ने गर्छ ।

भारतीयलाई ४०, सार्क मुलुकका पर्यटकलाई ३ सय र तेस्रो मुलुकका पर्यटकलाई प्रतिव्यक्ति ६ सय रुपैयाँ शुल्क लाग्ने गर्छ ।

प्रकाशित : चैत्र १०, २०८० १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?