कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

अपांगताले छेकेन मिहिनेती बन्न

अपांगता भए पनि ठेलामा तरकारी र फलफूल राखेर उनी सदरमुकामका घरघर पुग्छन् 
काशीराम डाँगी

रोल्पा — लिबाङका ४२ वर्षीय भक्तिराम रिजाल ६ कक्षा पढ्दा रुखबाट खसेर खुट्टामा समस्या भयो । एउटा खुट्टा बांगो हुँदा सजिलो गरी हिँड्न सक्दैनन् । त्यसैबेलादेखि उनले अपांगता भोगिरहेका उनी दैनिक मेहनत गरेर आम्दानी गर्ने कुरामा कसैभन्दा कम छैनन् । 

अपांगताले छेकेन मिहिनेती बन्न

अपांग हुँदा एकातिर अथाह सास्ती भोगेका छन् भने अर्कातिर आफन्तबाट नै छिछि र दूरदूरको व्यवहार समेत पाउनुपर्‍यो । तै पनि हिम्मत नहारेर दैनिक मेहनत गर्दै आएका छन् ।

पर्याप्त आम्दानी गरेर अरुलाई समेत सहयोग गर्न पछि नपर्ने उनी एक कुशल अभिभावक पनि बनेका छन् । १२ कक्षा उत्तीर्ण उनकी छोरी ममता हाल नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा खेलाडी बनेर जोडिएकी छन् । तेक्वान्दोकी खेलाडी उनले नेपालको प्रतिनिधित्व गर्दै भारतमा आयोजित खेल समेत भाग लिइन् । छोरा मनोज कक्षा-१० मा अध्ययनरत छन् ।

अपांगलाई हेँला गर्ने हाम्रो समाजमा उनलाई पनि हेँला नै गरियो । कतिसम्म भने, विहे गर्ने क्रममा आफन्तबाट अप्रिय प्रतिक्रिया समेत पाउनु परेको थियो । ‘मैले केटी ल्याइसकेपछि पाल्न सक्दैन भनेर फिर्ता गर्न खोजेको समेत सुन्नुपरेको थियो,’ उनी स्मरण गर्छन्, ‘मैले भने मेरी प्यारीलाई म पाल्न सक्छु, हामी दुवै पालिने हो भनेर आश्वस्त पारिसकेको थिएँ ।’

विहेपछि साथ दिँदै आएकी श्रीमती कमला पनि खुशी छन् । कडा मेहनत गरेर व्यवसाय संचालन गर्दा उनले पछि फर्केर हेर्नु परेको छैन । अपांगता बीच उनले सदरमुकामबासीका घरघरमा दैनिक तरकारी पुर्‍याउँछन् । बिहानै होस् वा बेलुकी अबेरसम्म, उनी ठेलामा तरकारी र फलफूल राखेर सबैका घर–घर पुग्छन् ।

दुई दशकदेखि उनले तरकारी र फलफूलको व्यापार गर्दै आएका छन् । आफूजस्तै अपांग, असहाय, बालबालिका र बृद्ध–बृद्धालाई निःशुल्क रुपमा तरकारी र फलफूल बाँड्दै पनि आएका छन् ।

कक्षा ६ मा पढ्दै गरेका बेला रुखबाट रुखबाट खसेका उनको खुट्टामा गम्भीर चोट लाग्यो । एउटा खुट्टा नचल्ने भयो । पछि उपचार गरेर केही मात्रामा चल्ने त भयो तर अपांग बन्नुपर्‍यो । रुखबाट खसेर अपांग बनेपछि भने उनीमाथि विद्यालय छोड्नुपर्ने अवस्था आइपर्‍यो । सानैमा बुबालाई गुमाएका उनलाई अपांग जीवनसँगै विद्यालय छोडेर घर व्यवहार चलाउनका लागि आमालाई साथ दिनुको विकल्प थिएन । उनले विद्यालय पुगेर पढ्नु भन्दा जीवन भोग्नुलाई रोजे । ३ दिदी र १ बहिनीका एक्ला उनलाई दिदीहरुले असाध्यै माया गर्छन् ।


भक्तिरामको पसल विगत २ दशकदेखि टुडिखेलको कुनामा छ । बाहिरबाट ल्याउने तरकारी र फलफूलको उनी थोक व्यापारी हुन् । पसलमा श्रीमती कमलाले सघाएका बेला ठेलामा फलफूल र तरकारी राखेर उनी बजारमा डुल्छन् । उनी आफैलाई लाग्छ–मेहनत गरेमा सफलता पाउन सकिने रहेछ । भक्तिरामले प्राप्त गरेका सफलता साँच्चिकै लोभलाग्दो छ । सुरुमा आफन्तहरु अपांगता भएको देखेर चिन्तित थिए । आमा हेमादेवी भन्छिन्, ‘एउटा छोरो त्यसैमा अपांग भयो । कति धेरै चिन्ता थियो सुरुमा । तर विद्यालय नपढेर पनि बाँच्न सक्ने सिपालु छ ऊ ।’

सुरुमा त आफैप्रति आफ्नै विश्वास गर्न नसकेको अवस्था भक्तिराम सम्झन्छन् । ‘मानिसहरुले मलाई जे सुकै भनून्’, उनी भन्छन्, ‘म अपांग छु भन्ने थाहा पाएदेखि नै कडा मेहनत गर्न थालेँ । कडा मेहेनत गरेरै प्रगति गरेको हुँ ।’ मेहनत गरेरै उनले समाजको आँखै अघिल्तिर सफलता पनि देखाइदिए । उनको मेहनतको कमाइबाट नै बजारमा दुई वटा पक्की घर बनाए ।

छोराछोरीलाई पढाउन सके र आफू पनि उच्च आत्मबलका साथ बाँच्न सके । यसरी सफलता पाउनेको सबै कारण मेहनत नै हो । उनमा बेलुका अलि अबेरसम्म र बिहानको आकाश खुल्नुअघि नै आफ्नो काममा लागिरहने बानी छ । ठेलामा तरकारी धकेलेर उनी घर आँगनमै पुग्दा उपभोक्ता उनकै प्रतीक्षा गरेर बसेका हुन्छन् । उनका नियमित ग्राहक लिबाङस्थित अधिवक्ता दामोदरप्रसाद सुवेदी प्रतिक्रिया दिन्छन्, ‘उनी मेहनतका बेजोड व्यक्ति हुन्, जसले अपांगतालाई जितेर समाजमा सफलता पाएका छन् । उनीबाट हाम्रो समाजले मेहनत गर्न सिक्नुपर्छ ।’

त्यस्तै लिबाङका स्वास्थ्यकर्मी एवं सामाजिक अगुवा केबी डाँगीको धारणामा भक्तिराम एक अविराम युवा हुन्, जसले समाजमा मेहनतको प्रतिफल पाउन सकिन्छ भन्ने उदाहरण आँखै अघि सबैलाई देखाउन सफल भएका छन् ।


त्यसो त भक्तिरामले यो अवस्थासम्म आइपुग्न निकै उचारचढाव व्यहोरेका छन् । भक्तिराम ती क्षणलाई फेहरिस्त बताउन सक्छन् । अपांगता भए पनि उनीमाथि सबैको हेर्ने दृष्टिकोण फेरिएको छ । उनीबारे चिन्नेहरु भन्छन्–काम गर्नु भक्तिराम जसरी र प्रगति गर्नु पनि भक्तिराम जसरी ।

दुःखमा परेकालाई सहयोग गर्ने क्रममा कोरोना कहरका बेला कैयौंलाई तरकारी सित्तैमा बाँडे । फलफूलको पनि व्यापार भएकाले आफू छेउ आइपुग्ने बालबालिका र बृद्धबृद्धालाई सौगात स्वरुप फलफूल प्रदान गर्छन् । बृछबृद्धालाई सम्मानपूर्वक प्रेम गर्नु उनको स्वभाव हो । अपांगता भएपछि सुरुमा तौल नाप्ने मेसिन बोकेर सडक छेउमा उभिने गरेका उनी कडा मेहनतबाटै प्रगति गर्न सफल भएका हुन् ।

तरकारी व्यापारका साथै उनी आध्यात्मिक क्षेत्रका पुस्तक पढ्न रुचाउँछन् । मौका निकालेर धार्मिक पुस्तक पढ्ने बानी छ । कैयौंपटक दोहोर्‍याएर उनले महाभारत, गीता, श्रीमद्भागवत, वेद, पुराण लगायतका पुस्तक पढ्न भ्याएका छन् । बाल्यावस्थामा पढ्न नपाए पनि स्वअध्ययन गर्न उनले छाडेका छैनन् ।

उनले हालसम्म ५ दर्जन जति कविता सिर्जना गरेका छन् । आफूले लेखेका सिर्जना उनी जुनसुकै बेलामा पनि कन्ठस्थ सुनाउँछन् । केही सिर्जना स्थानीय पत्रपत्रिका र रेडियोमा प्रकाशित र प्रशारित भइरहन्छन् । सिर्जनाले ज्ञान, सन्देश र चेतना दिने उनको बुझाइ छ ।

प्रकाशित : चैत्र १०, २०८० २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?