कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

दुर्गन्धित बन्दै सिद्धार्थनगर

तिलोत्तमा — रुपन्देहीको सिद्धार्थनगर नगरपालिका दुर्गन्धित बन्दै गएको छ । पालिकामा घरघर तथा टोलमा थुप्रिएको फोहोर नउठेपछि दुर्गन्ध फैलँदै गएको हो । चार दिनयता पालिकाको सरसफाइका लागि खटिने टोलीले फोहोर उठाउन सकेको छैन । 

दुर्गन्धित बन्दै सिद्धार्थनगर

बुद्धचोक, गल्लामण्डी, बैंकरोडलगायतका स्थानमा सडकमै फोहोरको थुप्रो देखिन थालेको छ । यसले स्थानीय तथा अन्यत्रदेखि भैरहवा जाने मानिसको स्वास्थ्यमा समस्या सिर्जना गर्न सक्ने भएकाले फोहोर संकलन गरिहाल्नुपर्ने स्थानीय सिद्धार्थ गौतमले बताए ।

वडा नम्बर-१ मा रहेको डण्डा पुलनजिक फोहोर फाल्ने गरिएकोमा स्थानीयको अवरोधपछि फोहोर उठाउन नसकिएको नगरपालिकाका फोहोर व्यवस्थापन अधिकृत केशवप्रसाद पौडेलले बताए । 'वडा नम्बर १ मा स्थान छ, वडा नम्बर २ को सिमाना पर्छ,' उनले भने, 'बस्तीका मानिसले फोहोर फाल्न रोकिदिएकाले व्यवस्थापनको थलो भेटेका छैनौं ।'

नगरपालिकाले ठाउँ प्रबन्ध गर्नासाथ फोहोर उठ्ने भन्दै उनले नागरिकस्तरमा पर्न गएको समस्याका लागि पालिकाले गम्भीर रूपमा सोचिरहेको बताए ।

चार दिनदेखिको फोहर सडकमै थुप्रिंदा स्थानीयद्वारा बिरोध र नाराबाजी

नगरपालिकाले फोहर फ्याक्ने गरेको स्थान उपयुक्त नभएको भन्दै स्थानीयले रोक लगाइरहेको अवस्थामा सिद्धार्थनगर नगरपालिकाले एकलौटी ढंगले फोहर फ्याक्न लागेपछि आइतबार राती सिद्धार्थनगरको पक्लिहवा क्षेत्र करिब चार घण्टासम्म तनावपूर्ण बन्यो । नगरपालिकाका प्रमुखविरुद्ध उनीहरुले नाराबाजी पनि गरेका थिए ।

नगरमा जम्मा भएको फोहर संकलन गरेर आइतबार राती सुरक्षाकर्मीको साथमा नगरपालिकाले फ्याक्न लागेको अवस्थामा सिद्धार्थनगर नपा–२ र १ मा पर्ने झण्डीबजार, मेउडीहवा, रानीगाउ, पक्लिहवा लगायत्का स्थानीयवासी बिरोधमा उत्रिदै नाराबाजी गरेका हुन् ।

सिद्धार्थनगर नपा–२ का स्थानियवासी तथा पूर्व वडाअध्यक्ष दिपक थापाले नगरपालिकाले नेपाल प्रहरी र शसस्त्र प्रहरी समेतको परिचालन गरेर राती ट्याक्टरबाट फोहर फ्याक्न लागेको थाहा पाएपछि स्थानीयले बिरोध गरेको बताए । ‘राती साढे ८ बजेदेखि स्थानीय जम्मा भएर फोहर फ्याक्नमा रोक लगाएपछि राती १२ बजेतिर सुरक्षाकर्मी फर्किए’ थापाले भने, ‘स्थानीयवासीन्दा भने रातभरि नै डम्पिङ साइड क्षेत्रमा कुरेर बसे ।’ फोहोर लिएर गएको १० वटा ट्याक्टर पनि फोहर सहित फर्केको छ ।

नगरपालिकाले नगरको वडा नम्बर १ र २ को सिमानामा पर्ने डन्डा नदी किनार (पक्लिहवा क्षेत्र) मा फोहर विसर्जन गर्दै आएको थियो । फोहरले १ र २ नम्बर वडाका झण्डीबजार, मेउडीहवा, रानीगाउ, पक्लिहवा लगायत्का बस्ती र कृषि क्याम्पस र शसस्त्र प्रहरी बलको २२ नम्बर गण प्रभावित छ ।

नगरपालिकाले फोहर व्यवस्थापन गर्दै आएको स्थान उपयुक्त नभएको र स्थानीवासीलाई प्रतिकूल असर पारेको भन्दै स्थानीयले नै रोक लगाएपछि सिद्धार्थनगर क्षेत्रमा फोहर व्यवस्थापनको समस्या जटिल बनेको छ ।

नगरपालिकाबाट फोहोर फ्याँक्ने गरिएको स्थानका वरपरका बस्तीमा दुर्गन्धले खाना खान समेत नसकिने अवस्था आएको र फोहरकै कारण स्थानीयमा क्यान्सर, छालाको संक्रमण, स्वास प्रश्वास लगायतका स्वास्थ्य समस्या आउन थालेको स्थानीयको भनाइ छ ।

नगरपालिकाले फोहर व्यवस्थापनको स्थायी समाधान गर्नेतर्फ चाशो नदिएको र स्थानीयवासीसँग पटक पटक गरेको सहमतिको कार्यान्वयन नगरपालिकाले नगरेको आरोप स्थानीयबासीको छ ।

सिद्धार्थनगर नपा–२ का वडा अध्यक्ष छेदीलाल श्रीबास्तवले फोहोर विसर्जन गर्ने गरिएको वरिपरीका स्थानीयबासी फोहरको व्यवस्थापन स्थायी रुपमा गर्न भनेर पटक पटक नगरपालिकालाई मौका दिदापनि कुनै वास्ता नगरेको र नगरपालिकाले फ्याँक्ने गरेको फोहरका कारण स्वास्थ्यमा गम्भिर प्रतिकूल असर पारेको भन्दै फोहर फ्याँक्न नदिएको बताए ।

‘फोहर व्यवस्थापनको समस्या जटिल बनेको छ’ श्रीबास्तवले भने, ‘स्थानीयवासीले फोहर फ्याँक्न रोक्नु भन्दा अघिल्लो दिन नै नगरपालिकामा गइ पूर्व जानकारी दिएका थिए ।’

उनका अनुसार, नगरपालिकाको अघिल्लो कार्यकालमा पनि फोहर बिर्सजनको बैकल्पिक स्थान खोज्दै स्थायी समाधान खोजिनुपर्ने भन्दै स्थानीयबासीले करिब दुइ सातासम्म फोहर फ्याँक्नमा रोक लगाएका थिए । त्यतिबेला वैकल्पिक स्थान खोजिने र स्थायी समाधान नहोउन्जेलसम्म त्यही प्रयोग गर्ने सम्झता गरिएको थियो । तर, समाधानको कुनै व्यवस्था नगरि अघिल्लो पदाधिकारीको कार्यकाल सकिएको थियो ।

अहिलेको पदाधिकारीको कार्यकालपनि १४ महिना बित्न लाग्दापनि स्थायी समाधानकोबारेमा कुनै जानकारी नभएको स्थानीयको भनाइ छ ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौडेलले नगरको फोहर व्यवस्थापनकालागि तत्काल र स्थायी दुवै किसीमबाट व्यवस्थापन गर्नेबारे पहल जारी रहेको बताए ।

‘तत्काल समाधानकालागि स्थानियवासीन्दासँगपनि कुरा भईरहेको छ’ पौडेलले भने, ‘दीर्घकालिन समाधानका लागि छिमेकी रोहिणी गाउपालिकासँग दुई–तीन दिन भित्र सम्झौता हुने क्रममा छ ।’

प्रकाशित : श्रावण १, २०८० १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?