कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बाँकेमा गर्मीले सर्पदंशका बिरामी बढ्दै

रुपा गहतराज

बाँके — अत्यधिक गर्मीका कारण बाँकेमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । गर्मी बढेसँगै यहाँका भेरी अस्पताल, राँझास्थित सर्पदंश उपचार केन्द्र र शमशेरगञ्जस्थित सर्पदंश उपचार केन्द्रमा सर्पदंशको उपचारका लागि आउने बिरामी बढ्न थालेका हुन् ।

बाँकेमा गर्मीले सर्पदंशका बिरामी बढ्दै

अत्यधिक गर्मीका कारण सर्पदंशका बिरामी अस्पताल आउने क्रम बढ्दै गएको भेरी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट डा. कृष्णप्रसाद आचार्यले बताए । उनका अनुसार वैशाखको अन्तिम सातादेखि सर्पदंशका बिरामी अस्पताल आउने क्रम बढेको हो ।

एक महिनाको अवधिमा तीन जना गम्भीर प्रकृतिका सर्पदंशका बिरामीलाई उपचार गरी डिस्चार्ज गरिएको डा आचार्यले बताए । उनका अनुसार गर्मी बढ्दै गर्दा विशेषगरी करेट र कोब्राले टोकेर विष लागेका बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् ।

‘विषरहीत सर्पले टोकेमा १० देखि १२ घन्टा विष लाग्छ कि भनेर निगरानीमा राख्छौं । उक्त समयमा विष लागेको कुनै लक्षण नपाए घर फर्काउने गरेका छौं’, डा. आचार्यले भने, ‘विष लागेको अवस्थाका बिरामीलाई उनीहरूको स्वास्थ्य अवस्था हेरेर कम्तीमा दुई हप्तासम्म आईसीयू र भेन्टिलेटरमा राखेर सुधार नहुँदासम्म उपचार गर्छौं ।’ निगरानीमा राखिएका बिरामीलाई विष नलागेको भेटिएमा १२ घन्टापछि सर्पदंशबाट बच्ने उपाय सिकाएर घर पठाउने गरेको उनको भनाइ छ ।

यसैबीच सर्पदंशबाट बच्नका लागि राति सुत्नुभन्दा पहिले ओछ्यान राम्ररी सफा गरेर, झुल टाँगेर मात्र सुत्नुपर्ने उनले सुुझाव दिए ।

साथै भुइँमा नसुत्ने, घर वरपर भएको जंगल वा झाडीलाई सफा बनाउनुपर्ने उनको सुझाव थियो । बाँकेको राँझास्थित सर्पदंश उपचार केन्द्रमा जेठमा मात्रै तीन जना सर्पदंशका बिरामी आएको स्वास्थ्य प्राविधिक राजन कुँवरले बताए । उनले विष लागेका दुई जनालाई थप उपचारका लागि नेपालगन्जको भेरी अस्पतालमा पठाइएको जानकारी दिए ।

प्रकाशित : जेष्ठ २८, २०८० १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×