कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बर्दियामा हात्तीले घर भत्कायो

कमल पन्थी

बर्दिया — मधुवन नगरपालिका-३ भगरैयास्थित खाता जैवीक मार्ग आसपासमा हात्तीले पक्की घरसहित केही भौतिक संरचना भत्काएको छ ।

बर्दियामा हात्तीले घर भत्कायो

स्थानीय सनत शाहको घरमा हात्तीले आक्रमण गरी भत्काएको खाता रेन्जपोस्टका सहायक वन अधिकृत सन्तोष चौधरीले बताए । शनिबार घरमा कोही नभएका बेला आक्रमण गरेकाले मानवीय क्षति नभएको पीडितले बताएका छन् ।

शाहको घरसँगै जोडिएको सशस्त्र प्रहरी बलले हवाई फायर गरेपछि हात्ती भागेको शाहले बताए । तीन दिन अघि मधुवन—३ कोठीयाघाटस्थित शिव मन्दिरको हातामा रहेको आश्रम पनि हात्तीले धक्का दिएर भत्काएको छ ।

'पोथी हात्ती निकै आक्रामक बनेको छ,’ सहायक वन अधिकृत चौधरीले भने, ‘केही दिनअघि कोठीयाघाट स्थित प्रहरी चौकीबाट हात्ती धपाउन खटिएका प्रहरीलाई समेत लखटेको छ ।'

स्थानीय अधिकारीहरूका अनुसार भारतीय सीमासँग जोडिएको कतरनीयाघाट वन्यजन्तु आरक्षबाट आउजाउ गर्ने हात्तीले जैवीक मार्गमा आतंक फैलाएको छ ।

यस्तै बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि तैनाथ सेनाको कच्ची पोस्ट पनि हात्तीले भत्काएको प्रमुख संरक्षण अधिकृत अशोक कुमार भण्डारीले बताए । हात्तीले विगतमा जस्तो मानवीय क्षति नपुर्‍याए पनि केही दिनयता उपद्रव मञ्चाएको उनले बताए ।

हात्ती धपाउन राखिएको साइरन पनि राति नबज्ने गर्दा हात्ती समुदायमा प्रवेश गरेको आफूहरूलाई जानकारी नहुने स्थानीयहरू बताउँछन् । गर्मीयाम सुरु भएयता बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनीयाघाटबाट जैवीकमार्ग हुँदै वन्यजन्तुहरू हुलका हुल आउजाउ गर्ने गरेका छन् । बर्दिया निकुञ्जमा १ सय २० वटा हात्ती रहेको अनुमान रहेको प्रमुख संरक्षण अधिकृत भण्डारीले जनाए ।

प्रकाशित : वैशाख २४, २०८० १५:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?