कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

स्थानीय सामानमा उपभोक्ताको आकर्षण

झन्डै ७ लाखले गरे मेला अवलोकन, २० करोडभन्दा बढीको कारोबार
घनश्याम गौतम

रूपन्देही — उद्योगीलाई राहत र उपभोक्तालाई उत्साह दिंदै बुटवलमा औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव मंगलबार सकिएको छ । मेला ७ लाख दर्शकले अवलोकन गरेका छन् । झण्डै २० करोडको कारोबार भएको छ ।

स्थानीय सामानमा उपभोक्ताको आकर्षण

प्रदर्शनीमा स्थानीय उत्पादनका सामग्री र प्रविधिसम्बधी जानकारी राखिएको थियो । सांस्कृतिक कार्यक्रम र बाल उद्यानमार्फत मनोरञ्जन पनि प्रदान गरिएको थियो । १३ दिनसम्म चलेको मेलामा आयोजकले अपेक्षा गरेभन्दा धेरै दर्शकले अवलोकन गरेका छन् ।

रूपन्देही उद्योग संघ, नेपाल उद्योग परिसंघ काठमाडौं र लुम्बिनी प्रदेश उद्योग परिसंघको आयोजनामा पुस ७ गतेदेखि प्रदर्शनी सुरु भएको थियो । संघले राजधानीबाहिर २०४५ सालदेखि हरेक वर्ष प्रदर्शनी गर्दै आएको थियो । कोभिडका कारण तीन वर्षदेखि रोकिएको प्रदर्शनी संघले यस वर्ष आयोजना गरेको हो । लामो समयपछि भएको प्रदर्शनीमा देखिएको उपभोक्ताको भीड र स्थानीय स्तरमा उत्पादित सामग्रीमा देखिएको चासोले उद्योगी र व्यवसायीलाई उत्साहित बनाएको छ । कृषि मेलामा स्थानीय उद्योगबाट प्रशोधित कृषि, जडीबुटीजन्य दर्जन बढी उत्पादन र नयाँ प्रविधिको खोजी, युवा उद्यमीलाई प्रोत्साहनमा उपभोक्ताले चासो दिएको संघका अध्यक्ष एवं प्रदर्शनीका संयोजक माधव पौडेलले बताए ।

आयोजकले टिकटका लागि २० काउन्टरको व्यवस्था गरेकामा दर्शकको भीड बढेपछि पाँचवटा काउन्टर थप्नुपरेको थियो । ‘भूकम्प, नाकाबन्दी, कोभिड महामारीलगायतका असहजता र समस्यासँग लड्दै अस्थिरताको बीच लगानी गरिरहेका उद्योगी व्यवसायीलाई प्रदर्शनीले केही आशा र उत्साह जगाएको छ,’ उनले भने, ‘बजारलाई चलायमान बनाउन थोरै भए पनि प्रदर्शनीले सकारात्मक भूमिका निर्वाह गरेको छ । दर्शक र उपभोक्ताको उपस्थितिले हामीलाई थप उत्साहित बनाएको छ ।’ स्थानीय उत्पादनमा उपभोक्ताको चासो बढेको उनले बताए । स्थानीय स्तरमा उत्पादित उद्योगको बजारीकरणमा प्रदर्शनीले महत्त्वपूर्ण सहयोग पुर्‍याएको पौडेलले बताए ।

प्रदर्शनीमा ४ सय १५ स्टल थिए । ५० प्रतिशतभन्दा बढी स्टल स्थानीय उत्पादनका थिए । खाद्य सामग्रीका स्टल झण्डै दुई दर्जन थिए । मुस्ताङको आलु, फापर, सिस्नोको पाउडर, दाल, गुन्द्रुकदेखि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बनेका अचार, विभिन्न पोषणयुक्त खाद्यान्न, पहाडी जिल्लामा उत्पादित कोदोको पीठो, आटोलगायतका स्टलमा उपभोक्ताको विशेष आकर्षण देखिन्थ्यो । किचनका लागि आवश्यक उत्पादनदेखि काष्ठकलाका सजावटयुक्त सामग्री पनि प्रदर्शनीमा थिए । खाद्यान्न, तयारी कपडा, घरायसी सामग्री र सजावटका सामग्रीका स्टलमा पनि उपभोक्ताको बढी भीड देखियो । स्टलमा राखिएका सामग्रीको अवलोकन गर्ने र जानकारी लिने उभोक्ताको संख्या पनि ठूलो रहेको किचनका सामान बिक्रीका लागि स्टल राखेका रूपन्देहीकै उद्योगी महेशप्रसाद पन्थले बताए । ‘सामान किन्नेभन्दा पनि सोधपुछ गर्ने ग्राहक धेरै आए,’ उनले भने, ‘उत्पादित सामानको प्रचारप्रसारले उद्योगलाई राम्रै सहयोग हुनेछ ।’

दैनिक हुने सांस्कृतिक कार्यक्रम र राष्ट्रिय कलाकारको उपस्थितिले पनि प्रदर्शनीमा दर्शक बढाएको थियो । सरकारको २ अर्ब बढी लागतमा बुटवल मण्डपमा तयार भइरहेका संरचनामा यस वर्ष प्रदर्शनी आयोजना गरिएकाले त्यसको अवलोकनका लागि पनि दर्शकको भीड लाग्यो । तर, मण्डपभित्र मेला एवं प्रदर्शनीका लागि बनेका संरचना पूर्ण भइसकेका छैनन् । अधिकांश संरचना निर्माणाधीन भएकाले पनि अर्को वर्षदेखिको मेला थप आकर्षण र व्यवस्थित हुने प्रदर्शनीको भौतिक संरचना एवं स्टल व्यवस्थापन समितिका संयोजक एवं संघका वरिष्ठ उपाध्यक्ष दिलीप सापकोटाले बताए । मेला र प्रदर्शनी स्टलहरूकै लागि लक्षित गरेर पूर्वाधार निर्माण भइरहेकाले उपभोक्तालाई सहज भएको छ । अघिल्ला प्रदर्शनीहरूमा धुलो उड्ने समस्याले व्यवसायी र उपभोक्ता हैरान हुन्थे । अहिले त्यसबाट मुक्ति पाए ।

‘प्रदर्शनीमा उपभोक्ताको सहजताका लागि एकै प्रकृतिका उत्पादनको एकै पेभेलियन बनाएर स्टल राखिएको थियो,’ वरिष्ठ उपाध्यक्ष सापकोटाले भने, ‘जस अनुसार कृषि, फुड तथा वेभरेज, कपडालगायतका १० वटा विभिन्न प्रकृतिका उत्पादनहरूको पेभेलियन एकैसाथ भएकाले सहजै अवलोकन भए ।’ त्यसले उद्योगी र उपभोक्ता दुवैलाई फाइदा पुगेको उनले बताए । पेभेलियन तयार गर्ने उद्योग काठमाडौंको भएको र काठमाडौंबाटै आएर जडान गर्नु पर्दा यो वर्ष केही खर्चिलो भएको सापकोटाले बताए । प्रदर्शनीमा लुम्बिनी प्रदेशका पाल्पा, अर्घाखाँची, गुल्मी, नवलपरासी, कपिलवस्तु, प्यूठानसँगै बाग्लुङ र स्याङ्जाका अतिरिक्त सिमाना क्षेत्रका भारतीय बस्तीबाट पनि उपभोक्तो भीड लागेको थियो ।

संघका महासचिव हरिबहादुर खत्रीका अनुसार प्रदर्शनीको १३ दिने अवधिमा ७ लाख बढीले अवलोकन गरेका छन् । सार्वजनिक बिदाका दिनको उपस्थिति प्रदर्शनीमा हेर्नलायक नै बन्यो । ‘क्रिसमस, ल्होसार र शनिबार बढी भीड लाग्यो, त्यसले थप ५ वटा टिकट काउन्टरको छुट्टै व्यवस्थापन गर्‍यौं,’ उनले भने, ‘दर्शकको मायाले हामी उत्साहित छौं ।’ उनले मेलामा झण्डै २० करोड बढीको कारोबार भएको बताए । स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने उद्देश्यका साथ प्रदर्शनी आयोजना गरिएकामा त्यसमा सफलता मिलेको पनि उनले बताए । प्रदर्शनीमा स्थानीय तथा राष्ट्रिय कलाकारको एकल प्रस्तुति, दोहोरी गीत प्रतियोगिता, टिकटक ट्यालेन्ट हन्टको अडिसन तथा प्रदर्शनी आइडलको प्रस्तुति भए । प्रदर्शनी स्थलमा औद्योगिक विकास तथा स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने र कृषि तथा पर्यटन प्रवर्द्धनका लागि विभिन्न विषयमा गोष्ठी, अन्तरक्रिया र छलफल पनि गरिएको संघका प्रेस सल्लाहकार सुमन अधिकारीले बताए ।

प्रकाशित : पुस २०, २०७९ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?