कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

एम्बुलेन्समै पीडितको बयान

प्रकाश बराल

बागलुङ — सामान्यतया अदालतमा परेको मुद्दामा जाहेरवाला वा निवेदन कर्ता उपस्थित भएर बयान दिने  चलन छ । बुधवार भने जिल्ला अदालत बागलुङमा फरक दृश्य देखियो । एम्बुलेन्समा आएका बिरामीलाई अदालतका कर्मचारीले एम्बुलेन्स भित्रै राखेर बयान गराए । त्यो पनि अर्काको सहारामा ।

एम्बुलेन्समै पीडितको बयान

उनी बोल्न सक्ने अवस्थामा थिएनन् । न त उठेर बाहिर निस्कननै सक्थे । बयान दिने व्यक्ति घाइते हुन् । गत कात्तिक २९ गतेको सडक दुर्घटनाका घाइते उनी अझै अस्पतालमा उपचाररत छन् । उनलाई पोखराबाट एम्बुलेन्समा जिल्ला अदालत बागलुङ पुर्‍याइएको थियो । घाइतेको एम्बुलेन्स भित्रै बयान भएको हो ।

गत कात्तिक २९ गते रायडाँडाबाट बागलुङ बजार आउँदै गरेको बोलेरो पिकअप जिप बानपा ३ को पावरहाउस नजिकै पल्टिँदा बानपा १० भकुण्डेका ६५ बर्षिय कविराम थापा घाइते भएका थिए । सामान्य जस्तो लाग्ने दुर्घटनामा उनी गम्भिर घाइते भएकोले अझै उपचार भैरहेको छ ।

गम्भीर घाइते थापालाई पोखरा उपचारका लागि लगियो । पोखरामा नभएपछि काठमाडौंँस्थित मेडिसिटी अस्पतालमा उपचार भयो । अहिले पनि थापाको देब्रो हर चल्दैन । बोली निस्केको छैन । शरिरभर घाउका खत छन् । ७ महिनादेखि अस्पतालमा बस्दा उनीहरुको लाखौं खर्च भैसकेको छ ।

पीडितको तर्फबाट थापाका भाञ्जा हिमलाल थापाको जाहेरीले जिल्ला अदालतमा ‘अपराध दुर्घटना’ अर्थात सवारी अंगभंग मुद्दामा चालक मनोज केसी बिरुद्ध मुद्दा चलेको छ । अदालतले पीडितकै बयान गर्ने आदेश दिएपछि बुधवार पोखरामा उपचाररत थापालाई एम्बुलेन्सबाट अदालत ल्याइएको थियो ।

जानीजानी दुर्घटना बनाएको आरोपमा चालक केसी बिरुद्ध मुद्दा परेको हो । यो सरकारवादी मुद्दा हो । तर पीडितले लामो समयसम्म जाहेरी दर्ता समेत गर्न सकेका थिएनन् । ‘लामो प्रयासपछि मात्रै हामीले मुद्दा दर्ता गर्न सकेका हौं’ मंगोल नेशनल अर्गनाइजेसन गोपाल गुरुङ समूहकी गण्डकी प्रदेश अध्यक्ष मिनु पुनले भनिन्, ‘पीडितलाइ न्याय दिन पनि धेरै गाह्रो भयो ।’ घाइते थापा उक्त संगठनका बागलुङ संयोजक हुन् ।

पीडित थापा पत्नि लेखमायाले ७ महिनादेखि स्याहार गरेर बसेकी छिन् । घाइतेको इशारा र लेखेर दिएको जानकारीबाट सरकारी वकिलको कार्यालयका कर्मचारीले थापाको बयान लिएका थिए । दाहिने हात चल्ने भएकोले थापाले कतिपय प्रश्नको उत्तर लेखेर दिएका थिए । कतिपय जानकारी पत्नि लेखमायाले बताएकी थिइन् । ‘सवारी दुर्घटनामा मृत्यु भएमा सवारी ज्यान, अपांग भएमा सवारी अंगभंग सम्बन्धी मुद्दा चल्छ’ बरिष्ठ अधिवक्ता कृष्णप्रसाद शर्मा निउरेले भने, ‘थापाको मुद्दा सवारी अंगभंग सम्बन्धी हो ।’ पीडितलाई एम्बुलेन्समा ल्याएर बयान गराएको भने जिल्लामै पहिलो घटना भएको उनल बताए ।

यो घटना कति गम्भिर रहेछ भन्ने कुरा अदालतलाईपनि प्रष्ट भएको निउरेले बताए । ‘पीडितको पक्षमा बोलिदिने कोही नभएकोले सबैले साथ दिनुपर्छ’ पुनले भनिन्, ‘हामीले सांगठनिक हिसावले साथ दियौं, नागरिक समाजले पनि न्यायकालागि साथ दिनुपर्छ ।’ पीडितको उपचारकालागि अहिले सम्म २९ लाख रुपैयाँ भन्दा बढी खर्च भैसकेको पत्नि लेखमायाले बताइन् । तर चालकले भने ५ लाख दिएर मिलाउन खोजेपछि पीडितले कानूनी उपचार खोजेका थिए । चालक धरौटीमा छुटेका छन् । उपचार खर्च र पीडितको भरण पोषणकालागि अदालतले फैसला गरे बमोजिम चालकले भराउनुपर्ने कानूनी प्रावधान छ ।

प्रकाशित : वैशाख १२, २०८१ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?