कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८७

पुनहिल पुग्ने नेपाली बढे, विदेशी पर्यटक घटे

म्याग्दी — पर्यावरणमा नकरात्मक प्रभाव पार्ने गरी जथाभावी खनिएको सडकले पैदलमार्ग प्रदुषित बनेपछि अन्नपूर्ण गाउँपालिका-६ घोरेपानीमा पर्ने प्रख्यात पर्यटकीय गन्तव्य लुङतुङ डाँडो अर्थात् पुनहिल चढ्ने विदेशी पर्यटकको संख्या घट्दै गएको छ । 

पुनहिल पुग्ने नेपाली बढे, विदेशी पर्यटक घटे

अन्नपूर्ण चक्रिय पदमार्गको प्रमुख गन्तव्य रहेको घोरेपानीसम्म मोटरबाटो खनेपछि लुङतुङडाँडो (पुनहिल) चढ्न आउने नेपालीको संख्या हृवात्तै बढेको छ । तर विदेशी पर्यटकको संख्या भने वर्षेनि घट्दै गएकोमा पर्यटन व्यवसायी चिन्तित बनेका छन् । व्यवसायीका अनुसार कोरोनाकालपछि घोरेपानीमा विदेशी पर्यटकको संख्या लयमा आउन सकेको छैन ।

‘मोटरबाटो आएपछि घोरेपानीको पर्यटन क्षेत्रमा केही लाभ केही हानी भएको छ । नेपालीको संख्या बढेको छन् । तर विदेशी पर्यटक घटेका छन् । पैदलयात्रा गर्न रुचाउने पर्यटक मोटरबाटोबाट दिक्क छन्,’ घोरेपानी पर्यटन ब्यवस्थापन समितिकी अध्यक्ष मीना पुनले भनिन्, ‘मेरो अनुभवमा विदेशी पर्यटक घट्नु मोटरबाटोको बढी असर हो ।’

नेपाली तथा विदेशी पर्यटकबाट प्रवेश शुल्क उठाउने र कफी सप संञ्चालन ठेक्का पाएको स्थानीय माईलोदाई होटल एण्ड रेष्टुरेन्टको अभिलेख अनुसार यो बसन्त ऋतुमा दैनिक नेपाली अधिकतम ४ सय २५ जना र विदेशी अधिकतम दैनिक २ सय ७५ जना लुङतुङडाँडो (पुनहिल)मा उक्ले । स्थानीय अन्नपूर्ण गाउँपालिकाले लुङतुङडाँडो (पुनहिल) प्रवेशमा शुल्क लिन ६३ लाख ११ हजारमा ठेक्का दिएको हो ।

व्यवसायीको मोटरबाटोको नकरात्मक असरले गर्दा विदेशी संख्या घटेको अनुमानलाई तथ्याङ्कले पनि पुष्टी गर्छ । घोरेपानी स्थित प्रर्यटन प्रहरीको अभिलेख अनुसार कोरोनाकाल अघि (कोरोनाकालमै सडक खनिएको) दैनिक ७ सय जनासम्म विदेशी पर्यटक आउने घोरेपानी/पुनहिलमा अहिले ६० प्रतिशतबढी विदेशी पर्यटक आगमन घटेको छ ।

‘यस बसन्त ऋतुको सिजनमा अधिकतम नेपाली आउँदा ४ सय २५ जनासम्म पुगे । विदेशी पर्यटक भने जम्मा दुई सय ७५ को हाराहारीमा मात्र आए । अहिले नेपाली र विदेशी विस्तारै घट्न थालेका छन’ लुङतुङडाँडो उक्लने स्वदेशी तथा विदेशी पर्यटकसंग प्रवेश शुल्क उठाउँदै आएका कर्मचारी विरेन पुनले भने, ‘विदेशी पर्यटक त आउनै छोडे भनेनी हुन्छ । विदेशी पर्यटकको संख्या आधाभन्दा धेरै घटेको छ ।’

विदेशी पर्यटकहरु बास बस्दा शान्त रहने, बास बस्न समयमै आउने, खाना अर्डर गर्ने र समय तालिकामा खाने र विदेशी पर्यटकले खाने परिकारमा मुनाफाको दर बढी आउने भएकोले पर्यटन क्षेत्रका व्यवसायीको पहिलो रोजाई विदेशी पर्यटक नै हुने गर्छन् । विदेशी पर्यटक बास बसेको बेला होटलमा रुम खाली राखेर पनि व्यवसायी नेपालीलाई बास दिन आनकानी गर्ने गरेका छन् ।

व्यवसायीहरुका अनुसार नेपालीहरुमा पदयात्रा र घुमफिर संस्कृति तथा होटलवास र सरसफाई सभ्यतामा सिकारु नै छन् । नेपाली बसेको होटलमा बढी होहल्ला हुने, परिकार धेरै खाने भएपनि मुनाफा कम हुने र होटल सरसफाईमा बढी लगानी गर्नु पर्ने भएकोले विदेशी पर्यटक रोजाईमा परेका हुन् । गाडी पुग्ने भएकोले नेपालीहरु अक्सर शनिवारीय वा एक–दुई दिनको छुट्टी मनाउन पुनहिल पुग्छन् । छुट्टी मनाउन आएकाहुँदा उनीहरु अक्सर रमाईलो गर्न खोज्छन्, जुन कुरा दिनभर हिंडेर थकित भै सुतेका विदेशी पर्यटकले रुचाउँदैनन पनि ।

‘नेपालीहरुमा बढ्दो घुमफिर संस्कृतिले पर्यटन व्यवसायलाई भरथेग गरेको छ । हामी सबै पर्यटकको उत्तिकै सम्मान गछौं । विभेदरहित स्वागत गर्छौ,' घोरेपानीका पर्यटन/होटल व्यवसायी शुशिल गर्वुजाले भने, ‘हामी नेपालीले पनि अलिकती घुमफिर गर्दा यात्रा सभ्यतालाई सिक्दै जानु पर्छ । अरुको खुसीमा असर नपार्न सजग हुर्नै पर्छ ।’

प्रकाशित : वैशाख २, २०८१ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?