कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

डिस्पेन्सरीबाट प्रादेशिक अस्पताल

प्रकाश बराल

बागलुङ — दैनिक ३ सय ५० बिरामीको उपचार त नियमित जस्तै छ । पछिल्ला तीन/चार वर्षदेखि सडक दुर्घटनाका घाइतेको उपचार बागलुङमै सम्भव भएको छ । सीमित जटिल प्रकृतिका समस्या मात्रै रिफर गरिन्छन् ।

डिस्पेन्सरीबाट प्रादेशिक अस्पताल

रुकुमकोटदेखि बागलुङ बजारसम्मको झण्डै २ सय किमी खण्डमा अर्को अस्पताल छैन । बागलुङदेखि पोखरा ७२ किमी टाढा छ । त्यसैले मध्यपहाडी लोकमार्ग हुँदै यात्रा गर्नेले जुनसुकै उपचार सेवा लिन पनि धौलागिरी अस्पतालको भर पर्नु पर्छ । बागलुङस्थित धौलागिरी अस्पतालको इमरजेन्सी शाखामा जहिल्यै बिरामीको भीड लागिरहन्छ । वार्डहरु पनि भरिभराउ देखिन्छन् ।

२०७७ मा कोरोना संकट आउनु अघि धौलागिरी अस्पताल पनि रिफर सेन्टर जस्तै थियो । कतिपयले अस्पतालमै नछिरी ट्याक्सी खोजेर पोखरा पुग्थे । कोरोनाको संकटलाई सदुपयोग गरेर यहाँको व्यवस्थापन समिति, अस्पताल प्रशासन र राजनीतिक नेतृत्वले अस्पतालको गुणस्तर सुधार्न मेहेनत गरे ।

‘अस्पताल जस्तै थिएन, अपरेशन गर्नुपर्ने गर्भवती आए पहिलेनै पोखरा पठाउनु पर्थ्यो,’ बरिष्ठ नर्सिङ अधिकृत देवी भट्टराईले भनिन्, ‘अहिले जटिल समस्याको उपचार र अपरेशन पनि यहीं हुन्छ ।’ चिकित्सक र स्वास्थ्यकर्मीको राम्रो उपस्थितिले अस्पतालले सेवा प्रवाह थेग्न सकेको उनले बताइन् ।

कोरोना संक्रमणकै समय पारेर अस्पतालमा अक्सिजन प्लान्ट जडान भयो । ‘कोरोनाको पहिलो भेरियन्टको उपचार गर्दा पोखरा देखि दैनिक चार खेप अक्सिजन सिलिण्डर ओसार्ने समस्या थियो,' अस्पतालका पूर्व अध्यक्ष केवी रानामगरले भने, ‘प्लान्ट जोडेपछि गाउँका स्वास्थ्य चौकीमा अस्पतालबाट सिलिण्डर भरेर पठाउन सकिने भयो ।’

२ करोड ९३ लाखको लागतमा बनेको प्लान्टबाट ८ सय लिटर प्रति मिनेट अक्सिजन उत्पादन भएको हो । अस्पतालको १ सय १५ बेडमा अक्सिजन प्लान्ट जडान भइसकेको छ । २ सय बेड पुर्‍याउने र सबैमा अक्सिजन प्लान्ट जडान गर्ने तयारी रहेको मेडिकल सुपरिटेण्डेन्ट डा. रविरन्जन प्रधानले बताए । गण्डकी प्रदेश सरकारले यो अस्पतालाई पोखरास्थित गण्डकी अस्पतालपछिको दोश्रो तहमा धौलागिरी अस्पताललाई प्रादेशिक तहमा राखेको छ ।

प्रधान आँफै कन्सल्टेन्ट जनरल फिजिसियन हुन् । एक वर्षदेखि बरिष्ठ स्त्री रोग बिशेषज्ञ डा. रेखा पौडेल, बरिष्ठ बालरोग बिशेषज्ञ डा. किरण तिवारी, कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा. अमित ढुंगाना क्रियाशील छन् । तीन जना कन्स्ल्टेन्ट फिजिसियन, ६ जना सर्जन, १ हाडजोर्नी विशेषज्ञ, १ जना छाला तथा यौन रोग विशेषज्ञ, १ रेडियोलोजिष्ट सहित रेडियो ग्राफर, २ जना डेन्टल सर्जन सहित १६ जना विशेषज्ञ छन् । ११ जना मेडिकल अधिकृत समेत कार्यरत छन् ।

‘पहिला अधिकांशले नियुक्तिसँगै काज सरुवा पनि मिलाएर आइपुग्थे, अहिले यो क्रम रोकिएको छ,’ अस्पताल विकास समितिका सदस्य लक्ष्मी जिसी कार्कीले भनिन्, ‘अस्पतालको सेवा प्रभावकारी बन्दै गएपछि फर्कन खोज्नेले पनि यहाँ बसेर सेवा दिएका छन् ।’ सबै प्रकारका सेवा दिंदा बिरामीलेपनि ट्याक्सी खोजेर पोखरा जान नपरेको उनले बताइन् ।

अस्पतालमा १० वटा डायलायसिस मेसिन संचालनमा आएपछि समय कुर्नुपर्ने बिरामी शुन्य भएको छ । अस्पतालमा आधारिक एकद्वार संकट व्यवस्थापन केन्द्र, पोषण सुधार केन्द्रपनि संचालनमा छ । गत असोजदेखि यहाँ सिटिस्क्यान मेसिन जडान भएको छ । उक्त मेसिन जडान भएपछि ७ महिनामा ६ सय ४० जनाले सिटिस्क्यानको सेवा लिएको प्रधानले जानकारी दिए ।

४ वटा आइसियु कक्ष बनेका छन् । १० वटा पुर्‍याउने गरी तयारी भएको छ । ‘अस्पतालमा धेरै काम भएका छन्, तर एकाध घटनाले अझैपनि अस्पतालको साख बढेको छैन,’ व्यवस्थापन समितिका अध्यक्ष नारायण शर्मा पौडेलले भने, ‘व्यवस्थापन चुस्त र आएका बिरामीको राम्रो उपचार गर्न सके विश्वास बढाउन सकिन्छ ।’ सेवा प्रवाह चुस्त बनाउन जस्तोसुकै काम गर्ने अधिकार प्रशासनलाई दिइएको उनले बताए ।

चैत ५ गतेको निसीखोला दुर्घटनाका घाइते २८ जनालाई प्राथमिक उपचार र २० जनाको सम्पूर्ण उपचार समेत बागलुङमै संभव भएको थियो । आएका बिरामीलाइ अस्पतालमै खाना खुवाउने र कपडा फेरेर पठाइएको बरिष्ठ नर्सिङ प्रशासक शान्ति भण्डारीले बताइन् । ‘च्यातिएका कपडा, खाली खुट्टा आएका बिरामीलाई त्यसै पठाउन सकिएन’ भण्डारीले भनिन्, ‘तत्कालै छलफल गरेर उनीहरुको अत्यावस्यक आवस्यकता पुरा गरेर पठायौं ।’ अस्पतालले तत्काल दिएको सेवाबाट बिरामीका आफन्त पनि प्रभावित थिए ।

अस्पतालका तीनवटा अत्याधुनिक भवन छन् । अस्पतालको आफ्नै फार्मेसी संचालन भएको छ । लक्षित समुदायलाई नि:शुल्क सेवा पनि छ । स्वास्थ्य बीमा कार्यक्रम मार्फत धेरैले उपचार पनि पाएका छन् । ‘अस्पतालले मुटु उपचार केन्द्र बनाउने योजना अगाडि सारेको छ, त्यसका लागि नीतिगत र आर्थिक व्यवस्थापनको काम भैरहेको छ’ पौडेलले भने, ‘त्यसपछि सहरका अस्पताल सरह बनाउन सकिन्छ ।’

स्वास्थ्य सेवा निर्देशनालयको न्युनतम सेवा मापदण्ड अनुगमनमा धौलागिरी अस्पतालले ९० अंक पाएर गण्डकीमा उत्कृष्ठ घोषित समेत भएको छ । हाल अस्पतालमा ४ बेड आइसियु, ४ बेड बाल उपचार केन्द्र, २९ बेड आइसोलेसन र १५ वटा बेड इमरजेन्सीमा छन् । बाँकी वाडमा गरी २सय पुर्‍याउन लागिएको हो ।

ट्रमा सेवाको सुरुवात

२०७१ सालमा संविधानसभाका सदस्य हरिबहादुर खड्काको सडक दुर्घटनामा निधन भएपछि धौलागिरी अस्पतालमा ‘हरि खड्का ट्रमा सेन्टर’ बनाउने सरकारी नीति बनेको थियो । गत आर्थिक वर्षको बजेटमा गण्डकी प्रदेश सरकारले बिनियोजन गरेको १० करोड बजेट मध्येबाट साँढे सात करोड रुपैयाँमा सिटि स्यान जडान भएको छ । त्यसबाहेक दक्ष चिकित्सक, ट्रमाका लागि अन्य उपकरण तथा सामाग्री पनि खरिद गरिएको प्रधानले बताए ।

आर्थिक वर्ष २०७६/०७७ मा ट्रमा सेन्टरकालागि गण्डकी प्रदेशको ५० लाख बजेट बिनियोजन गरेको थियो । उक्त बजेट न्युन थियो । उक्त बजेटले केही उपकरण खरिद गरेर राखिएको थियो । सिटिस्याक्न जडान गरेपनि रेडियोलोजिष्ट र अन्य उपकरण समेत जडान हुँदा ७ महिनामै ६ सय ४० जनाले सेवा लिन सकेका हुन् । अस्पतालमा २ सय सैया बनाउने लक्ष पुरा भएपछि ट्रमा सेवालाई सेन्टरको रुपमा संचालन गरिने प्रधानले जानकारी दिए । ‘सी भवन बनिसकेकोले अब ट्रमा सेन्टर बन्न केही प्राविधिक बिषय मात्रै बाँकी रहेको छ,’ प्रधानले भने, ‘सेन्टर बनिसकेपछि नियमति उपचारको सेवा पनि संचालन हुनेछ ।’ केही दक्ष जनशक्ती नियमित रहने गरी व्यवस्थापन समितिले पहल गरिरहेको हो ।

आइसियु बेड बढाउने योजना सँगै हिंसा पीडित महिलाकालागि ओसीएमसी कक्ष पनि निर्माण भैसकेको छ । अस्पतालको आइसियुमा १० बेड र ओसीएमसीमा कम्तिमा ४ बेड बनाउन पहल भएको हो । त्यस बाहेक डी र ई ब्लक बनाउने अस्पतालको लक्ष छ । ‘राजमार्गमा हुने सडक दुर्घटनाले चोटपटकका बिरामीको संख्या बढीरहेको छ’ अस्पतालका एनेस्थेसियोलोजिष्ट डा. अमित ढुंगानाले भने, ‘दुइजना सर्जन डाक्टर कार्यरत हुँदा ट्रमाबाट नियमित उपचार संभव छ ।’

उपचार मात्र नभइ राख्ने सुविधासम्पन्न कोठा र उपचार पद्दती प्रभावकारी बनाउन लागेको उनले बताए । २ जना सर्जन बस्दा मासिक ४० वटा सम्म बिभिन्न अपरेशन भैरहेको पनि उनले सुनाए । अस्पतालको ट्रमा उपचारको रेकर्ड राखेका कर्मचारीका अनुसार ४ जना देखि ७ जना सम्मले दैनिक उपचार पाएको तथ्यांक छ । बागलुङ नगरपालिकाले पनि चालुवर्ष ट्रमा उपचारकक्ष व्यवस्थापन गर्न २० लाख रुपैयाँ विनियोजन गरेको छ ।

डिस्पेन्सरीबाट प्रादेशिक अस्पताल

धौलागिरी अस्पताल ‘२०१४ मा डिस्पेन्सरी’को रुपमा स्थापना भएको थियो । स्तरउन्नती हुँदै अहिले गण्डकी प्रदेशको अस्पताल बनेको हो । उक्त डिस्पेन्सरीमा घाउचोट लागेमा उपचार हुन्थ्यो । बोतलमा आउने विभिन्न प्रकारका औषधिको मात्राबाट उमेर, रोग र समय अनुसारको डोज बनाएर खुवाएको डिस्पेन्सरीका संस्थापक ९० प्रमुख ९० वर्षिय कृष्णबहादुर श्रेष्ठ बताउँछन् । २०१७ सालमा डा.सच्चेकुमार पहाडीलाई पठाएर सरकारले जिल्ला अस्पतालको मान्यता दिएको श्रेष्ठले बताए । त्यसपछि मात्र यहाँ थप उपचार सेवा सुरु भएको थियो ।

बागलुङ बजारको लाम्पाटामा काँचो ईटाले बनेको र खरले छाएको ४ कोठे भवनमा स्थापित डिस्पेन्सरी अहिले फोटोमा मात्रै सिमित छ । त्यसपछि यहाँ जिल्ला अस्पताल, अञ्चल अस्पताल हुँदै अहिले प्रादेशिक अस्पताल संचालनमा आएको हो । सुधारको क्रममा २०५० को दशकमा ३ जना डाक्टर बसेर सेवा दिने अस्पतालको स्वरुप बनेको थियो ।

त्यस अघि एकदुइ जना स्वास्थ्यकर्मीको भरमा अस्पताल संचालित थियो । ‘बिरामीलाई उपचार गर्न बोलाए भने म्याग्दी सम्म पुग्नु पर्थ्यो’ श्रेष्ठ भन्छन्, ‘उपचारबारे नजानेका मानिसलाई केही सहयोग गरेका थियौं ।’ अस्पतालबाट सयौंले सेवा र सन्तुष्टि पाएको उनको अनुभव छ । डिस्पेन्सरी रहँदा केही समय काम गरेका श्रेष्ठले स्वास्थ्य सहायकको पदमा बसेर पछि ५ वर्ष सम्म बागलुङ अस्पतालमा कार्यरत थिए । त्यस बाहेक २०५९ सालमा अस्पताल बिकास समितिको अध्यक्ष समेत श्रेष्ठ भए ।

दैनिक एकदुइ जनाले उपचार गराउने डिस्पेनसरी जिल्ला अस्पताल हुँदै अञ्चल अस्पताल बनेपछि दैनिक एकसय बढीले उपचार पाउन थाले । अञ्चल हटेपछि धौलागिरी अस्पतालमा धेरै भौतिक, व्यवस्थापकीय र प्रशासनिक परिवर्तन समेत भए । पुराना भवन भत्काएर नयाँ भबन बन्न सुरु भयो । अहिले यहाँ ३ सय ५० जना दैनिक उपचार गर्न आउँछन् । १ सय बढी शैया भएको अस्पताललाई नर्सिङ कलेजको अनुमति दिने सरकारले निर्णय समेत गरिसकेको छ । त्यसकालागि अस्पताल व्यवस्थापन समितिले गृहकार्य थालिसकेको व्यवस्थापन समितिका सदस्य कृष्ण शंकर श्रेष्ठले बताए ।

प्रकाशित : चैत्र ३०, २०८० १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?