कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

गोबर बेचेर अतिरिक्त आम्दानी

घनश्याम खड्का

म्याग्दी — बेनी नगरपालिका–७ टुनीखर्कका कृष्णप्रसाद शर्माको गोठमा २० वटा भैंसी छन् । शर्मा कृषि तथा पशुपन्छी फार्म चलाइरहेका उनले नियमित दुध बेचेर राम्रै आम्दानी गर्छन् । अचेल आफ्नो फर्मबाट दुधमात्रै बेच्दैनन्, यसैपालि पनि उनले गोबर मल बेचेर तीन लाख रुपैयाँ हात पारिसकेका छन् ।

गोबर बेचेर अतिरिक्त आम्दानी

गाईभैंसीको गोबर बेचेर वार्षिक चार लाख बढी कमाउँछन् । गोबरमल बेचेर माघयताका तीन महिनामा तीन लाख आम्दानी भएको र थप एक लाख ४० हजार बढीको घाँस साटेको उनले बताए ।

शर्माले पाकेको (कम्पोष्ट भएको) गोबर मल ५० केजीको बोरा एक सय रुपैयाँमा विक्रि गर्छन् । आलो (कम्पोष्ट भैनसकेको) मल भने ५० रुपैयाँ बोरा बिक्रि हुन्छ । शर्माको गोठबाट रघुगंगा गाउँपालिका, बेनी नगरपालिका, गौश्वारा, खवरा, बगरफाँट, पुलाचौर समेत छिमेकी पर्वतको जलजला, १ बाँसखर्क, ४ मिलनचोकसम्मका कृषकले किनेर लैजाने गरेका छन् ।

‘खास त गाईभैसीको दुध उत्पादन गरेको हो । गाईभैसीको मलमुत्र बेचेर पनि राम्रो आम्दानी भएको छ । यो कृषकका लागि सप्लिमेन्ट्र कमाई भैरहेको छ,’ कृषक कृष्ण शर्माले भने, ‘गोठेमल तथा घाँससँग साटेको मलको मूल्य गर्दा बार्षिक ४ लाख जति कमाई भयो । मल खोज्न कृषकहरु गोठमै आउँछन् ।’

बेनी–६ बाँसबोटका दुर्गा पौडेलले पनि गोबर मल बेचेर यो वर्ष ३ लाख २० हजार नगद बुझेका छन् । पौडेलको गोठबाट ट्याक्टर र ट्रिपरमा ब्यवसायिक फलफुल तथा तरकारी खेती गर्ने टाढाका कृषकले मल लगेका छन् । उनको गोठबाट हिमालपारिको मुस्ताङका स्याउ कृषकले पनि लैजाने गरेका छन् । पछिल्ला तीन वर्षदेखि पुस/माघ महिनामा पौडेलले ३–४ ट्रक मल मुस्ताङ पठाउँदै आएका छन् ।

पशुपालक कृषकले गाईभैंसीको गोबर बेचे पनि गहुँत भने आफ्नै खेतबारीमा प्रयोग गर्दै आएका छन् । केही घरमा पशुपालन नगरेका कृषकले मकै, धान खेती गर्न खेतबारीको घाँससँग गाईभैंसीको गोबर (प्राङ्गारिक मल) साट्ने गरेका छन् । घरमा एउटा मात्र भैंसी भएको तर खेतीबाली धेरै लगाउने कृषकले गोठेमल किनेरै पनि लैजान्छन् ।

‘भैसीको गोबर बेचिन्छ । गहुँत भने आफ्नै खेतबारीमा प्रयोग गर्छु । मेरो गोठबाट प्रत्येक १० दिनमा ७ हजार लिटर गहुँत जम्मा हुने रहेछ । माग आएमा मल जस्तै ब्यवस्थित रुपमा ड्रममा प्याक गरी गहुँत पनि बेच्ने सोच्दैछु,’ पौडेल पशुपालन फार्मका संचालक दुर्गा पौडेलले भने, ‘जिल्लामा सुन्तला खेती विस्तार भएसँगै हाम्रो मलको माग पनि बढेको छ ।’

घर–घरमा चौपाया पाल्ने चलन घट्दै गएसँगै करेसाबारीकै लागि पनि जैविक मल किन्ने बढेका छन् । व्यवसायिक सुन्तला खेती र अर्गानिक तरकारी खेती गर्ने कृषकले टाढासम्म गएर प्राङ्गारिक मल किनेर प्रयोग गर्दै आएका छन् ।

कृषकहरुका अनुसार बाख्राको मल (झुतो) ५० केजीको बोरामा प्रति बोराको दुई सय ५० रुपैयाँमा र कुखुराको सुली प्रति बोरा एक सय रुपैयाँमा विक्रि हुने गरेको छ । घरमा ८–१० बाख्रा, २–३ भैसी र एक हल गोरु पाल्नेले पनि बर्षमा ४०–५० हजारको मल बेच्ने गरेका छन् ।

‘मेरो बाख्रा फार्मबाट आफ्नै बारीमा पुग्दो प्रयोग गरी बेचेको बार्षिक दुई लाख रुपैयाँ बढीको झुतो बेच्ने गरेको छु,’ बेनी–४ डाँडाखेतका महेन्द्र बानियाँले भने, ‘असोज/कात्तिकमा आलु रोप्ने बेला, मंसिरमा गहुँ छर्ने समय र फागुन/चैत मकै रोप्ने सिजनमा मलको माग आउँछ ।’

प्रकाशित : चैत्र २६, २०८० २२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?