कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

म्याग्दीका वनै पिच्छे डढेलो 

म्याग्दी — लामो खडेरीसँगै सातायता जिल्लाका सामुदायिक, राष्ट्रिय, आरक्ष र संरक्षण क्षेत्रका वनमा डढेलो लाग्ने क्रम बढेको छ । डिभिजन वन कार्यालयका अनुसार सोमबार मात्र बेनी नगरपालिका–७ र ८ स्थित वराहपाखो सामुदायिक वन, वडा–२ र ३ को तोराखेत जंगल, ठूलो रानीवन, मंगला गाउँपालिका–४ आलडाँडा सामुदायिक वन र अन्नपूर्ण गाउँपालिका–१ दोवा सामुदायिक वन, वडा–६ को साल्जा, खोप, महभीर, जुकेपानी, भुर्दुङ सामुदायिक वनमा डढेलो लागेको छ । 

म्याग्दीका वनै पिच्छे डढेलो 

मंगला गाउँपालिकाको आलडाँडा र अन्नपूर्णको दोवा र घारको जंगलमा ५ दिनदेखि डढेलो निभेको छैन । फागुनयता जिल्लाका ५५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेको डिभिजन वन कार्यालयले जनाएको छ । त्यसबाहेक हिमालमूनिका राष्ट्रिय वन र चरन क्षेत्रमा लागेको डढेलोको कतै अभिलेख छैन ।

‘बस्ती नजिकका प्रायः सबै भीर र जोडिएका वन डढेलोले काला बनेका छन् । माथिल्लो चरन क्षेत्र पनि उस्तै काला देखिन्छन्,’ डिभिजन वन अधिकृत चन्द्रमणि सापकोटाले भने, ‘हाम्रो कार्यालयकै आवास क्षेत्र डढेलोको चपेटामा परेको छ ।’

अनेक प्रयत्न गर्दा पनि डढेलो लगाउने चलन रोक्न नसकिएको उनले बताए । ‘हिमाली क्षेत्रमा सिकारीले डढेलो लगाउने गरेको सुनिए पनि बस्ती नजिकका भीरपाखामा स्थानीयले नै आगो लगाउँछन्,’ उनले भने ।

वन कार्यालयले डढेलो रोकथामका लागि प्रचार–प्रसार गर्न, डढेलो नियन्त्रणमा प्रभावकारी काम गर्ने सामुदायिक वन समूहलाई पुरस्कार, डढेलो नियन्त्रणमा खटिने ब्यक्तिलाई खाजा–पानी खर्च र डढेलो लगाउनेविरुद्ध सुराकी परिचालन समेत १० लाख बढी खर्च गर्दै आएको छ । डढेलो नियन्त्रण गर्न जिल्लास्तर र ६ वटै स्थानीय तहमा डढेलो नियन्त्रण सञ्जाल गठन भए पनि प्रभावकारी हुन सकेको छैन ।

डढेलोको धुँवाले वन विनाससँगै वातावरण पनि प्रदूषित भएको छ । बेनीको वायुमा १ सय २५ पिएम प्रदूषण देखिएको छ । त्यस्तै डिभिजन कार्यालयको अभिलेख अनुसार म्याग्दीको २ लाख २९ हजार ७ सय ६ हेक्टर क्षेत्रफल मध्ये ३६.७६ प्रतिशत वन, १.८५ झाडी, २१.२७ प्रतिशत क्षेत्र चरन क्षेत्रले ओगटेको छ ।

ढोरपाटन सिकार आरक्षले १ हजार २ सय ६० हेक्टर, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) ले ३ हजार ७ सय ५३ हेक्टर वन क्षेत्र ओगटेको छ ।

डिभिजन कार्यालय मातहतको रहेको ७९ हजार ४ सय ३९ हेक्टर वन मध्ये २४ हजार २ सय २ हेक्टर ३ सय १० वटा सामुदायिक वन उपभोक्ता समूहमार्फत व्यवस्थापन हुँदै आएको छ । करिब ५ हेक्टर कबुलियत, धार्मिक र निजी वन छ । बाँकी सबै राष्ट्रिय वन हो ।

डढेलोको अवस्थाबारे बुझ्न कर्मचारी खटाइएको र बस्तीभन्दा माथि ठूलो क्षेत्रमा राष्ट्रिय वन भएकोले नियन्त्रणमा चुनौती भइरहेको वन अधिकृत सापकोटाले बताए ।

प्रकाशित : चैत्र ५, २०८० १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?