१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

कान्छीमाया तामाङ फाउण्डेसनद्वारा नगरपालिकालाई एम्बुलेन्स

प्रकाश बराल

बागलुङ — कान्छीमाया तामाङ फाउण्डेसनले गलकोट नगरपालिकामा एम्बुलेन्स सहयोग गरेको छ । फाउण्डेसनका संस्थापक डा. दिलबहादुर तामाङले नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

कान्छीमाया तामाङ फाउण्डेसनद्वारा नगरपालिकालाई एम्बुलेन्स

तामाङले ५ वर्षदेखि यहाँको नगरपालिका, नगर अस्पताल, स्वास्थ्य चौकी समेतमा लाखौंका उपकरण र सामग्री सहयोग गर्दै आएका छन् ।

हटिया र नरेठाँटी स्वास्थ्य चौकी, तथा बौर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा फाउण्डेसनले नियमित सहयोग गर्दै आएको गलकोट–४ का अध्यक्ष बलबहादुर खत्रीले बताए ।

गलकोट–४ को आधारभूत स्वास्थ्य सेवा केन्द्रमा फाउण्डेसनले भिडियो एक्सरे, अक्सिजन कन्सन्ट्रेसन मेसिन सहयोग गरेको हो । त्यस्तै नरेठाँटी स्वास्थ्य चौकीमा बेड, औषधिसहित लाखौंका उपकरण र स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

बुधबार फाउण्डेसनका संस्थापक डा. तामाङले नगर प्रमुख भरत शर्मा गैरेलाई 'ख' वर्गकाे एम्बुलेन्स हस्तान्तण गरेका हुन् । आफ्नी आमाको दुर्घटनामा मृत्यु भएपछि डा. तामाङले आमाको नाममा ‘कान्छीमाया तामाङ फाउण्डेसन’ स्थापना गरेका थिए ।

फाउण्डेसनमार्फत यहाँको अस्पताल र स्वास्थ्य चौकीसम्म आएर उनले पटक-पटक सहयोग गरेका हुन् । उक्त एम्बुलेन्स तत्कालकालागि वडा ३ र ४ का स्वास्थ्य संस्थाले उपयोग गर्ने तयारी छ । हाल नगर अस्पतालमा पनि ख वर्गकै अर्को एम्बुलेन्स संचालित छ ।

ग्रामीण क्षेत्रमा हुने दुर्घटना तथा अन्य स्वास्थ्य समस्याले मानिसले ज्यान गुमाउन नपरोस् भनेर सहयोग गरेको डा. तामाङले बताए ।
एम्बुलेन्स नहुँदा स्थानीय गम्भीर विरामी अस्पताल जान परे ट्याक्सी रिर्जभ गरेर पोखरासम्म पुग्थे । ट्याक्सीमा अक्सिजन सेवा र बिरामीलाइ राख्ने सुविधासम्पन्न बेड नहुँदा अप्ठ्यारो थियो । ‘एम्बुलेन्स आएपछि बिरामीलाई अक्सिजन समेत दिएर पठाउन सकिने भयो’ गलकोट–३ का अध्यक्ष फमबहादुर खत्रीले भने, ‘ग्रामीण क्षेत्रका बासिन्दाको राम्रो उपचार पनि सम्भव हुने भएको छ ।’ नगर अस्पतालमा समेत तामाङले अत्यावस्यक सामाग्री किन्न भन्दै बुधबार नगद ५५ हजार रुपैयाँ प्रदान गरे ।

सरकारले पछिल्लो समय 'ग' वर्गका सबै एम्बुलेन्स विस्थापित गर्ने तयारी गरेको छ । ख बर्गको एम्बुलेन्स भएपछि बिरामीको उद्धारमा समेत सहयोग पुग्ने नगर अस्पतालका प्रमुख डा. राजेश पौडेलले बताए । डा. तामाङ हाल धुलिखेल अस्पतालमा जनरल सर्जनको रुपमा कार्यरत छन् ।गलकोट नगर अस्पताल मध्यपहाडी लोकमार्गको हटिया बजारदेखि ५ किमि उत्तरमा छ ।

प्रकाशित : पुस १२, २०८० १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?