१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८

राष्ट्रपतिसँग याेजना माग्दै मन्त्री-सांसद

प्रकाश बराल

बागलुङ — नेपालको संविधानले राष्ट्रपतिलाई संवैधानिक भूमिकाका मात्रै राखेकाे छ । कार्यकारी अधिकार मन्त्रिपरिषद् र सार्वभौम सत्ता सम्पन्न संसद्‍मा छ । तर संघीय संसद्‍मा सदस्य, पूर्वमन्त्रीदेखि प्रदेश सरकारका बहालवाला मन्त्रीसमेतले राष्ट्रपतिसँग विकासका याेजना माग गरेका छन् ।

राष्ट्रपतिसँग याेजना माग्दै मन्त्री-सांसद

बागलुङ उद्योग वाणिज्य संघले आयोजना गरेको सातौं बागलुङ महोत्सव उद्घाटन गर्न आएका राष्ट्रपति रामचन्द्र पौडेल सहभागी कार्यक्रममा बागलुङबाट प्रतिनिधित्व गर्ने पूर्वमन्त्री समेतले विकास निर्माणमा बजेट बिनियोजन गरिदिन आग्रह गरे । उनीहरुले राजनीतिक नेतृत्व भन्दा ठूलो व्यपारीलाई सम्बोधन गरे ।

पूर्व शिक्षामन्त्री तथा माओवादीका सचिवसमेत रहेका सांसद देवेन्द्र पौडेलले राष्ट्रपतिलाई बागलुङका सडक, खानेपानी, सिंचाइलगायतका योजनामा बजेट नभएकोले बिनियोजन गरिदिन आग्रह गरे । उनले धेरै आयोजना अलपत्र परेकोले विकासमा साथ दिन राष्ट्रपतिलाई आग्रह गरे । उनले भने, 'राजनीतिक रूपमा पनि बागलुङसँगको साइनो रहेकोले सम्माननीयले बागलुङको विकासमा पक्कै सहयोग गर्नुहुनेछ ।'

सरकारको नेतृत्व गरेको पार्टीका सचिवसमेत रहेका पौडेलले उद्योग वाणिज्य संघले अभिभावक भएर विकासमा अगुवाइ गर्नुपर्ने औल्याए । ‘उद्योग वाणिज्य संघले अभिभावकत्व लिएर विकास गर्नुपर्छ,’ पौडेलले भने, ‘व्यवसायीहरुले राजनीतिक दललाई पनि समेटेर जानुहोला ।’ संघको अगुवाइमा हुने विकास निर्माणमा साझेदार बन्न दलहरू तयार रहेको उनको अभिव्यक्ति थियो । बागलुङमा ठूला आयोजना सञ्चालन हुन नसकेको, भएका योजना पनि अलपत्र परेको जस्ता गुनासो समेत उनले राष्ट्रपतिलाई सुनाए ।

गण्डकी प्रदेश सरकारका पर्यटन उद्योग, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले पनि तिनै विषय उठाएर राष्ट्रपतिलाई विकासमा सहयोग गरिदिन आग्रह गरे । उनले विभागीय मन्त्री भएर काममा साथ दिए पनि पर्‍र्याप्त नभएको गुनासो गरे । प्रदेशबाट कतिपय ऐन नियम बनाएको तर संघबाट ती काममा साथ चाहिएको भन्दै राष्ट्रपतिमार्फत माग गरे । प्रतिनिधिसभा सदस्य देवीप्रकाश भट्टचनले पनि विकास निर्माणमा राष्ट्रपतिले सहयोग गर्नुपर्ने बताए । उनले पनि उत्तरगंगालगायतका विकास योजना बारे चासो राख्दै ती काममा राष्ट्रपतिले बजेट विनियोजन गर्न साथ दिनुपर्ने धारणा राखेका थिए ।

बागलुङ नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठले त जिल्लाको विकासका लागि दर्जन बढी योजनाको फेहरिस्त सुनाए । ती योजनामा ठूलो लगानी चाहिएको भन्दै उनले राष्ट्रपतिको ध्यानकर्षण गराए । त्यतिमात्र हैन हाल नगरपालिकाले आफ्नो भवन बनाउन जग्गाको व्यवस्थापन गर्न नसकेको गुनासो पनि सुनाए । ‘नगरपालिकालाई जग्गा व्यवस्थापनकालागि प्रधानमन्त्रीसम्म कुरा पुगेको छ, अझै भएको छैन, पहल गरिदिनुहुन अनुरोध छ,’ श्रेष्ठले भने, ‘आन्दोलनमा नेतृत्व गरेको, जेल समेत बसेको जिल्ला भएकोले सम्माननीयको ध्यान जानेछ ।’

कार्यक्रममा आएका पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले श्रेष्ठका सबै मागमा समर्थन जनाए । ‘राष्ट्रपतिज्यूले पनि चासो राख्नुहोला, समयमा साथ दिनुहुनेछ,’ केसीले भने, ‘सरकारले भुक्तानी नदिएर धेरै योजना अलपत्र पर्दैछन् ।’ कालीगण्डकी करिडोर रकम अभावकै कारण मरणासन्न भएको टिप्पणी गरे । उनले तत्काल राज्यको श्रोत परिचालन गरेर गौरवका आयोजना संचालन गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए । ती समस्या प्रधानमन्त्री समक्ष पनि पुर्‍याउने केसीको भनाइ थियो । केसीले कम्तीमा एक वर्ष सरकार टिकेको टिप्पणी समेत गरेका छन् ।

नेताहरुले आफै गर्न सक्ने काम संविधान र संसद बुझेकाहरुले सेरेमोनियल राष्ट्रपतिलाई माग गर्नु राम्रो नभएको अधिवक्ता राम शर्माले बताए । ‘संविधान र राष्ट्रकै अभिभावकलाई केही जानकारी दिनु राम्रो हो, तर बजेट विनियोजनमा समेत भूमिका खेलिदिन आग्रह गर्नु अलि सुहाएन,’ शर्माले भने, ‘सांसदहरूले संसद्‍मै बहस गरेर विकासका योजना बनाउनुपर्छ ।’ राजनीतिक रूपमा अझै सिक्न बाँकी रहेको समेत उनले बताए ।

राष्ट्रपति पौडेलले भने विकास निर्माणमा साथ दिने वचन दिएका छन् । उनले विकास गर्दा दिगो र वातावरण मैत्री हुनुपर्ने धारणा राखेका थिए । ‘अबको विकास वातावरणमैत्री हुनुपर्छ त्यसमा सबैको चासो र चिन्तन चाहिन्छ,’ राष्ट्रपति पौडेलले भने, ‘विकासका काममा तपाईंहरू होस्टे गर्नु, मैले पनि हैंसे गर्नेछु ।’ विकास गर्दा हिमाली श्रृंखला पनि जोगिने गरी योजना बनाउन पनि उनले सुझाए ।

बुधबारदेखि सुरु भएको बागलुङ महोत्सव पुस २१ गतेसम्म चल्ने उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले बताए । महोत्सवमा स्थानीय, घरेलु तथा लघु उद्योगको विकास गर्ने लक्ष राखिएको छ । आर्थिक विकासकालागि महोत्सवमार्फत सहयोग गर्ने, स्थानीय उत्पादनलाई जोड दिने र सामाजिक क्षेत्रमा पनि योगदान गर्ने संघले लक्ष राखेको कँडेलले बताए ।

प्रकाशित : पुस ११, २०८० १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?