१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

घरबाटै हराएका ४३ जना भेटिएनन्

प्रकाश बराल

बागलुङ — गलकोटका ६३ वर्षीय लोकबहादुर केसी २०७६ असार ३ गते एकाएक घरबाटै हराए । केसी बेपत्ता भएपछि परिवारका सदस्यले प्रहरीमा खबर गरे । छिमेकी, आफन्त र प्रहरीले धेरै खाेजी गर्दा पनि केसीको पत्ता लगाउन सकेको छैन ।

सकेसम्मको खोजी गरे पनि कुनै सूचनासमेत नपाएको बुहारी रिताले बताइन् । वडाध्यक्ष राजबहादुर थापाले वडामा पनि केसीलाई बेपत्ताको सूचीमा राखिएको बताए । प्रहरीको सूचीमा पनि उनी बेपत्ता अवस्थामा रहेको मात्र तथ्यांक राखिएको छ । केसीजस्ता धेरै मानिस एकाएक घरपरिवारबाट हराएपछि नभेटिनेको सूची लामो छ ।

गत जेठ ५ गतेदेखि ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीसमेत बेपत्ता छन् । उनी देश-विदेशमा कता छन् भनेर प्रहरीले बताएको छैन । उनीहरु जस्तै घरबाटै विभिन्न कारणले हराएकाहरु अझै फर्केका छैनन् । आफ्नो परिवारका सदस्यहरु बेपत्ता भएको भन्दै प्रहरीमा उजुरी दिएकाहरुले पनि आफन्त भेटिएको सूचना नदिएकोले उनीहरु प्रहरीको बेपत्ता सूचीमा छन् ।

हराएका धेरैजसो भेटिए पनि केहीको सम्पर्क नै नपाइने गरेको बागलुङ प्रहरीका डीएसपी मदन केसीले बताए । ‘प्रविधि प्रयोग गरेर सकेसम्म प्रमाणसमेत खोज्ने प्रयास भएका छन्, तर कतिपय बेपत्ताहरु भेट्न सकिएको छैन,’ उनले भने । घरपरिवारमा झै-झगडा हुनेबाहेक सामान्य अवस्था भएका समेत हराएको उनले बताए ।

बागलुङ प्रहरीको महिला तथा बालबालिका सेलका अनुसार सबैभन्दा धेरै महिला हराएको उजुरी आउने गर्छ । तर अधिकांश भेटिएका छन् । केहीको पत्तोसमेत लाग्दैन ।

प्रहरीको महिला सेलकी प्रमुख देवी पुर्जाका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा बागलुङबाट ८९ महिला, ३८ पुरुष, ११ बालक र २८ बालिका हराएको तथ्यांक छ । ती मध्ये महिला ८८, पुरुष ३५, बालक ११ र बालिका २६ जना भोटिए । यो वर्ष ६ जनाको भने पत्तो लागेन । आर्थिक वर्ष २०७९/०८० मा ७४ महिला, ३४ पुरुष, ८ बालक र १७ बालिका हराएका थिए । ७१ महिलामात्रै भेटिए । ३१ पुरुष, ८ बालक र १७ बालिका भेटिए । यो वर्ष पनि ६ जना बेपत्ता छन् ।

चालु वर्षको चार महिनामा ३३ महिला, ८ पुरुष, ३ बालक र ८ बालिका हराएको उजुरी परे पनि खोजी गर्दा ३० महिला फेला परेका छन् । ७ पुरुष, ३ बालक र ८ बालिका भेटिएको र ४ जना अझै बेपत्ता छन् । डिएसपी केसीका अनुसार २०७६ देखि अहिलेसम्म ४३ जना भने बेपत्ता छन् । बेपत्ता मध्ये ३२ महिला छन् । ८ पुरुष, १ बालक र २ बालिका बेपत्तामा परेका हुन् । उनीहरुको तथ्यप्रमाण समेत नभेटिएको केसीले बताए । ‘यहाँबाट मानव बेचबिखन जस्तो अपराध भएको थाहा छैन, तर किन र कहाँ हराए भन्ने रहस्यमय छ,’ केसी भन्छन्, ‘मोबाइल नबोकेर हिँडेकालाई खोज्न धेरै मुस्किल पर्छ ।’ मोबाइल भएकालाई ट्रयाकिङ गरेर पनि पत्ता लगाउन सकिने उनले बताए ।

विभिन्न घटनामा हराएकाको उजुरी आएपछि एक/दुई दिन मात्र खोजी गरिन्छ । त्यसपछि प्रहरीले वास्ता नगरेको आफन्तहरु गुनासो गर्छन् । ‘निरन्तर दबाब र स्थानीयको पनि चासो नभएसम्म खोजी अभियान पूर्ण हुँदैन,’ अधिवक्ता राम शर्माले भने ।

सामाजिक र राजनीतिक क्षेत्रका व्यत्तिहरु हराउँदा पनि प्रहरीले सबै संयन्त्र प्रयोग नगरेको स्थानीय तुलसी गौतमले बताए । ‘नगरप्रमुख हराएको पनि ७ महिना भयो, अहिले पनि भेटिएका छैनन्,’ उनले भने, ‘प्रहरीले कता छन् भन्ने त भन्न सक्नुपर्ने हो ।’

प्रहरीका प्रमुख फेरिए पिच्छे सधैं अवैध हतियार खोजेर बरामद गरिन्छ । स्थानीय मदिरा बनाउनेको खोजी गरेर नष्ट गर्ने चलन छ । तर बेपत्ता भएकाको बारेमा खोजी नभएको गौतमले गुनासो गरे ।

प्रकाशित : मंसिर २७, २०८० १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?