१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०६

बागलुङमा लक्ष्यको १० प्रतिशत कम राजश्व संकलन

प्रकाश बराल

बागलुङ — आन्तरिक राजश्व कार्यालय बागलुङले लक्ष्यको १० प्रतिशत कम मात्रै राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७९/८० मा कार्यालयले १ अर्ब ५ करोड ५१ लाख राजश्व संकलन गर्ने लक्ष्य बनाएकोमा असार मसान्तसम्म ९५ करोड ३१ लाख रुपैयाँ मात्रै संकलन गर्न सकेको हो ।

बागलुङमा लक्ष्यको १० प्रतिशत कम राजश्व संकलन

आर्थिक संकट उब्जेकोले रोजगारी र आम्दानी कम हुनु तथा विकास निर्माणको रकम खर्च हुन नसक्नुले राजश्व संकलनको लक्ष्य पूरा हुन नसकेको प्रमुख कर अधिकृत शालिकराम आचार्यले बताए । कार्यालयको तथ्यांक अनुसार सबैभन्दा धेरै आयकरबाट संकलन भएको छ । आयकरबाट ३९ करोड ५६ लाख, मूल्य अभिवृद्धि करबाट २६ करोड १५ लाख, कर्पोरेट आयकरबाट १२ करोड २९ लाख, लगानी आयकरबाट १३ करोड ७० लाख र अन्तशुल्कबाट ३ करोड ६० लाख रुपैयाँ संकलन भएको हो ।

अघिल्लो आर्थिक वर्ष ९० करोड ४० लाख राजश्व संकलन गरेको कार्यालयले पछिल्लो वर्ष लक्ष्य बढाएको थियो । गत वर्षको तुलनामा ५ प्रतिशत राजश्व बढेपनि लक्ष्यमा भने पुग्न नसकेको हो । संकलित राजश्वमध्ये पनि असारमा मात्रै २४ करोड ४५ लाख संकलन भएको थियो । यसअघि पोखरा पुगेर तिर्नुपर्ने कर बागलुङमै तिर्न पाएपछि करको दायरा बढेको छ । चार वर्षअघि खुलेको आन्तरिक राजश्व कार्यालयमा कर तिर्ने अहिले २५ हजार करदाता पुगेका हुन् । पोखरा छउन्जेल जिल्लाबाट ५ हजार करदाता मात्रै कर तिर्थे ।

यसअघिका तीन वर्षसम्म लक्ष्यको ४२ प्रतिशत बढीसम्म कर संकलन हुन्थ्यो । गत आर्थिक वर्ष करको लक्ष्य भेट्न नसके पनि करको संख्या भने बढिरहेको छ । बागलुङको कर संकलन चार वर्षमा ५१ करोड, ६८ करोड, ७५ करोड हुँदै ८० करोड पुगेको थियो । गत आबमा भने लक्ष्य नभेटे पनि ९५ करोड राजश्व संकलन गर्न सकेको हो । कार्यालयले करदाता शिक्षा अभियान ग्रामीण क्षेत्रसम्म विस्तार गरेपछि कर संकलन बढेको आचार्यले बताए । ‘चालु वर्ष विकास निर्माण समेत ठप्प भएकोले कर संकलन नभएको हो’ उनले भने, ‘कतिपय काम भएका योजनाको भुक्तानी समेत रोकिएकोले कर संकलन ढिला भएको हो ।’ चालु वर्ष भुक्तानी हुने रकमको पनि कर संकलन हुने उनले बताए ।

प्रकाशित : श्रावण १५, २०८० १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?