कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठेकेदारले सडक अलपत्र पारेपछि स्थानीयले चल्न दिएनन् गाडी

प्रकाश बराल

बागलुङ — मध्यपहाडी लोकमार्ग निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले काम नगरेपछि स्थानीयले आइतबार दिनभर यातायातका साधन चल्न दिएनन् । 

काठेखोला गाउँपालिका वडा नं ५ र ६ को घोडाबाँधेदेखि अक्षेते तर्फको खण्डमा सवारी चल्न नदिएका हुन् । दुईवटा वडाका अध्यक्ष र जनप्रतिनिधि तथा स्थानीय मिलेर बनाएको लोकमार्ग सरोकार समितिले सडक अवरुद्ध गरेको हो ।

सम्झौताअनुसार चार वर्षअघि नै निर्माण सकिनुपर्नेमा काम अझै नसकिएको, हिउँदमा धुलो, वर्षात्‌मा हिलोको सास्ती खेप्नुपर्ने र स्थानीयले उक्त मार्गमा चल्ने सवारी चढ्न पनि गलकोट तर्फको भाडा तिर्नुपर्ने समस्याले बन्द गराएको वडा नं ६ का अध्यक्ष जगुपति कFडेलले बताए । ‘सडक नबन्दा हामीले वर्षौंदेखि सास्ती खेपेका छौं,’ कँडेलले भने, ‘यो अवस्था कहिलेसम्म खेप्ने भन्ने हाम्रो सरोकार हो ।’

दुवैतर्फ स्थानीयले सवारी चल्न नदिँदा लोकमार्गको यात्रा गरेका सयौं यात्रुहरु घोडाबाँधे र अक्षेतेमा अलपत्र परेका थिए ।

बागलुङ बजारदेखि अक्षेते हुँदै सुलडाँडासम्मको १२ किलोमिटर खण्ड सिद्धिसाइ भारत निर्माण कम्पनी र सुलडाँडादेखि घोडाबाँधे १३ किमि खण्ड सूर्य कन्स्ट्रक्सनले निर्माण जिम्मा लिएको थियो । हरेक वर्ष काम नगरी ठेकेदारलाई म्याद बढाइँदा लोकमार्ग जीर्ण छ ।


प्रकाशित : जेष्ठ २१, २०८० १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?