१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

पालिकामा फोहोर व्यवस्थापन चुनौती

म्याग्दी, पर्वत — नयाँ नगर र गाउँपालिकाका मुकाममा तीव्र सहरीकरणसँगै फोहोर व्यवस्थापनको पनि चुनौती थपिन थालेको छ । म्याग्दी सदरमुकाम रहेको बेनी नगरपालिका–७ र ८ को फोहोर व्यवस्थापन सबैभन्दा चुनौती छ । बेनीको फोहोर २० वर्षदेखि २ किलोमिटर उत्तर सेतीपहिरोस्थित बेनी–जोमसोम सडकबाट कालीगण्डकी नदी किनारामा फालिएको छ । यसको विरोध हुँदै आएको छ ।

पालिकामा फोहोर व्यवस्थापन चुनौती

कालीगण्डकीको सोही स्थानबाट देवशिला उत्खनन गरी भारतको अयोध्यामा भगवान् रामको मूर्ति बनाउन लगिएपछि फोहोर हटाउन बेनीलाई थप दबाब परेको छ । ‘अहिले अर्को विकल्प नपाइएकोले कालीगण्डकी नदी किनारामा फोहोर व्यवस्थापन गर्दै आएका छौं,’ बेनी नगरप्रमुख सुरत केसीले भने, ‘त्यो डम्पिङ साइट सकेसम्म छिटो हटाउन चाहेका छौं । बस्तीदेखि अलि टाढा ठाउँ खोजी गर्दै छौं ।’

पालिका मुकाममा सहरी विकासको योजनाबिनै तीव्र भवन निर्माण र बजारीकरण सुरु भएसँगै त्यहाँबाट निक्लने फोहोरमैला व्यवस्थापन समस्या हुन थालेको हो । अहिले बस्ती छेउका खोल्साखोल्सीमा जथाभावी फाल्ने गरिएको छ । अव्यवस्थित रूपले फालिएका प्लास्टिकजन्य फोहोर यत्रतत्र छरिएको र हावाले उडाएर बस्ती र खेतबारीमा छपक्कै छाप्ने गरेको छ । सिसाजन्य फोहोर उस्तै असरल्ल छ ।

त्यसैगरी पश्चिम मंगला गाउँपालिका केन्द्र बाबियाचौर बजारबाट निस्कने फोहोर पछिल्ला तीन वर्षदेखि मंगला–२ लाम्पाटामुनि म्याग्दीखोला किनाराको पाना बगरमा फाल्ने गरिएको छ । नदी किनारामा प्रदूषण भएको भन्दै स्थानीयले विरोध जनाउँदै आएका छन् । पालिकाले सिसाजन्य, प्लास्टिकजन्य, औषधिजन्य तथा घरायसी फोहोर सबैलाई एकै स्थानमा फाल्ने गरेको छ । ‘योजनाबद्ध बस्ती विकास नभएकाले फोहोर ट्र्याक्टरमा उठाएर केही पर खाली स्थानमा फाल्ने गरिएको थियो,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले भने, ‘जनघनत्व बढेसँगै फोहोरको मात्रा बढ्यो, व्यवस्थित नहुँदा स्थानीयको अवरोध स्वाभाविक हो । अहिले पाने बगरमा व्यवस्थित रूपले फोहोर व्यवस्थापन गर्न सहमति भएको छ ।’

मालिका गाउँपालिका केन्द्र रहेको दरवाङ बजारमा पनि फोहोर ब्यवस्थापन चुनौती बनेको छ । दरवाङ बजारबाट निस्कने फोहोरमैला नछुट्याई म्याग्दी नदी किनाराको छ्यारछ्यारेमा फालिने गरिएको छ । पालिकाले निजी क्षेत्रसँग साझेदारी गरी संकलित फोहोरबाट पुनः प्रयोग गर्न मिल्ने, सड्ने र नसड्ने वस्तु छुट्याई फोहोरमैला व्यवस्थापन गर्ने योजना रहेको जनाएको छ । मालिकाले चालु आवमा फोहोर व्यवस्थापन गर्न १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । ‘दरवाङमा सिसाजन्य फोहोर व्यवस्थापन ठूलो चुनौती छ, त्यसैले पालिकाले ग्लास क्रसर ल्याई सिसालाई पेल्ने योजनामा छौं,’ गाउँपालिका अध्यक्ष वेगप्रसाद गर्वुजाले भने ।

बजारक्षेत्रको फोहोर व्यवस्थापनमा लामो समयदेखि समस्या झेल्दै आएको पर्वतको कुश्मा नगरपालिकाले फोहोर बर्गिकरण गरेर व्यवस्थापन सुरु गरेको ३ वर्ष पुग्यो । नगरभित्रको फोहोरलाई कुहिने र नकुहिने गरी व्यवस्थापन सुरु गरेको कुश्माले २ वर्षदेखि फोहोरबाट आम्दानीसमेत गर्न थालेको छ । कुश्मा–४ छमर्केस्थीत घुम्तीमा फोहोर व्यवस्थापन हुँदै आएको छ ।

जग्गा छनोटमा ३ वर्षसम्म संघर्ष गरेको कुश्माले २०७६ फागुनमा मध्यपहाडी लोकमार्गको छमर्के घुम्तीदेखि ५ सय मिटर तल जंगलभित्रको खाली जग्गा फेला पारेको थियो । ३२ रोपनी जग्गा पालिकाले १० वर्षका लागि लक्ष्मीनारायण गुठी तथा अन्य ४ व्यक्तिसँग भाडामा लिएर फोहोर व्यवस्थापन सुरु गरेको नगरप्रमुख रामचन्द्र जोशीले बताए । उनका अनुसार सामुदायिक स्रोत तथा वातावरणीय विकास केन्द्र (सेक्रेट नेपाल) सँगको साझेदारीमा ५ वर्षे सम्झौता गरी फोहोरको व्यवस्थापन थालेको हो ।

नगरपालिकाको ४, ५, ६, ७, ८ र ९ वडाभित्रको फोहोर संकलन गरी व्यवस्थापन सुरु गरिएको हो । त्यसअघि मोदीवेणी, बडागाउँ डिल, सिल्मी, चुवाको डिललगायत जग्गा छनोट गरिएकोमा विवाद भएको थियो । केही समय गुप्तेश्वर बहुमुखी क्याम्पसको छेवैमा पोखरा–बाग्लुङ सडक र बडागाउँको डिलबाट फोहोर विसर्जन गर्दा स्थानीय र सरोकारवालाले विरोध गरेपछि नगरले विकल्प खोजेको हो । त्यसरी फालेको फोहोर सिधै कालीगण्डकीमा मिसिने र त्यसले वातावरणमा गम्भीर असर पर्ने गरेको भन्दै पुनरावेदन अदालत बागलुङमा रिट निवेदन परेको थियो ।

कुश्माले कुहिने फोहोरलाई खाडलमा थुपारेर कम्पोस्ट मलको रूपमा बिक्री गरिने सूचना अधिकारी ध्रुवराज पौडेलले बताए । सेक्रेट संस्थाका कार्यक्रम संयोजक टीकाराम भुसालका अनुसार कुहिनेभन्दा नकुहिने फोहोरबाट राम्रो आम्दानी हुन्छ । अहिले सेक्रेटले फोहोर वर्गीकरणमा मात्रै १२ कामदार खटाएको छ । व्यवस्थित वर्गीकरण सुरु भएपछि दैनिक १० हजारसम्म आम्दानी हुन सक्ने अनुमान गरिएको भए पनि अपेक्षित जग्गा नहुँदा व्यवस्थापनमा केही समस्या भएको भुसालले जनाए । फोहोर व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक पूर्वाधार र गाडीको व्यवस्थापन गरेको छ ।

नगरभित्रका विभिन्न होटल व्यवसाय तथा ससाना उद्योग कलकारखानाबाट निस्किने सिसा र प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा फलेवासलाई समस्या छ । अधिकांश ग्रामीण क्षेत्रका बासिन्दाले प्लास्टिकजन्य फोहोर जलाउने गरेको भए पनि सिसाजन्य फोहोर व्यवस्थापनमा समस्या भएको नगरका प्रवक्ता अच्यूत तिवारीले बताए ।

मदिरा तथा सर्वसाधारणले प्रयोग गर्ने औषधिका बोतल व्यवस्थापन सहज नहुँदा नगरभित्र वातावरणीय प्रदूषण बढ्दो छ । फलेवासले गतवर्ष सिसाजन्य फोहोर संकलन गरेर खाडल खनेर दबाएको जनाएको छ । तर, उक्त प्रक्रिया पनि दिगो र भरपर्दो हुने नदेखिएपछि चालु वर्ष उक्त कार्यक्रम सञ्चालन गरेको छैन ।

प्रकाशित : चैत्र २५, २०७९ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?