कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गण्डकीमा स्ववियु निर्वाचन कतै सम्पन्न, कतै स्थगित

सबैभन्दा बढी विद्यार्थी रहेको पोखराको पृथ्वीनारायणलगायत कास्कीका कुनै पनि क्याम्पसमा निर्वाचन भएन

पर्वत — त्रिभुवन विश्वविद्यालयअन्तर्गत पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानलका उम्मेदवार विजयी भएका छन् । खसेको १ सय ८५ मतमध्ये नेविसंघका तर्फबाट अध्यक्षका उम्मेदवार सतिश रेग्मीले १ सय ३१ मत ल्याए ।

गण्डकीमा स्ववियु निर्वाचन कतै सम्पन्न, कतै स्थगित

उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुकी जोस्ना कुँवरले ५३ मत ल्याइन् । त्यसैगरी, सचिवमा नेविसंघका लक्ष्मण रेग्मी, कोषाध्यक्षमा क्रान्तिकारीकी पवित्रा नेपाली विजयी भए । सदस्यहरूमा नेविसंघकी पूजाकुमारी पोख्रेल, क्रान्तिकारीकी मनीषा परियार र सविना क्षेत्री विजयी भए । समानुपातिकतर्फ संयुक्त प्यानलले १ सय २९ र अनेरास्ववियुले ५५ मत ल्याएको निर्वाचन अधिकृत रमेश शर्माले बताए । पर्वतमा त्रिविविबाट सम्बन्धनप्राप्त १२ क्याम्पस रहेको भए पनि गुप्तेश्वरबाहेक अन्यमा भने निर्वाचन हुन सकेन । कुश्माकै शिवालय बहुमुखी क्याम्पस, जनता सुदर्शन बहुमुखी ठूलीपोखरी, फलेवासको पर्वत, शंकरपोखरी, अन्नपूर्ण, महाशिलाको महाशिला बहुमुखी क्याम्पसलगायत जिल्लाभरका अन्य कुनै पनि क्याम्पसमा तयारी नपुगेको भन्दै स्ववियु निर्वाचन हुन सकेन ।

गोरखामा सर्वसम्मत

गोरखा क्याम्पस र द्रव्य शाह बहुमुखी क्याम्पसमा सर्वसम्मत रूपमा स्ववियु सभापतिसहितको पदाधिकारी र सदस्य निर्विरोध निर्वाचित भएका छन् । विद्यार्थी संगठनले तालमेल गरी उम्मेदवारी दर्ता गराएसँगै सबै पद निर्विरोध बनेको हो । गोरखा क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका विष्णु पाण्डे निर्वाचित हुँदा नेविसंघका परशुराम भट्ट सचिव र क्रान्तिकारीकी सुस्मिता दुवाडी कोषाध्यक्ष भए । गोरखा नगरपालिका–९ को द्रव्य शाह बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका सौनक घिमिरे र सचिवमा क्रान्तिकारीका सचिन खनाल, कोषाध्यक्षमा नेविसंघका अविन श्रेष्ठ निर्वाचित भए ।

धौलागिरि र नवजागरणमा स्थगित

विद्यार्थी भर्नाको विषयलाई लिएर विवाद भएको पूर्वी नवलपरासीको चोरमारास्थित नवजागरण बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित भएको छ । नेविसंघले नयाँ विद्यार्थी भर्ना गरेको आरोप लगाउँदै अखिलले क्याम्पसमा तालाबन्दी गरेका कारण निर्वाचन हुन नसकेको हो । आइतबार मतदान गराउने भनिए पनि तालाबन्दी नखुलेका कारण स्ववियु निर्वाचन हुन नसकेको हो । नेविसंघले अखिललाई र अखिलले नेविसंघबीच निर्वाचन जित्नैका लागि विद्यार्थी खोजेर नयाँ भर्ना गराएको आरोप प्रत्यारोप छ । त्यहाँ २ सय ५० भन्दा धेरै विद्यार्थी छन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष चन्द्रबहादुर रानाले चाँडै सहमति कायम गरेर स्ववियु निर्वाचन गराइने बताए ।

पोखरा संवाददाताका अनुसार सबैभन्दा बढी विद्यार्थी रहेको पोखराको पृथ्वीनारायणलगायत कास्कीका कुनै पनि क्याम्पसमा स्ववियु निर्वाचन भएन । बागलुङको एकमात्रै आंगिक क्याम्पस धौलागिरि बहुमुखी क्याम्पसमा पनि आइतबार निर्वाचन हुन सकेन । विद्यार्थी संगठनले विभिन्न माग गरेर मनोनयन दर्ताकै समयमा निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन हुन नसकेको हो । अखिल क्रान्तिकारीले सबै मतदाताको एकै प्रकारको नयाँ परिचयपत्र जारी गर्नुपर्ने र फर्जी विद्यार्थी हटाउनुपर्ने माग राखेको थियो । उक्त मागमा एमालेनिकट अनेरास्ववियुलगायत संगठनले समर्थन जनाएका थिए । साता दिन लामो तालाबन्दीले निर्वाचन कार्यक्रम प्रभावित भएको थियो । निर्वाचन अधिकृत भक्तिराम न्यौपानेले पटकपटक निर्वाचनको कार्यतालिका सार्दै गएका थिए । पछि निर्वाचन अधिकृत पदबाटै राजीनामा दिएपछि अर्को निर्वाचन कहिले हुने अन्योल भएको छ । क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले चैत १८ भित्र निर्वाचन गर्न विद्यार्थी संगठनसँग छलफल गरिरहेको बताए ।

नेविसंघ निर्वाचन मिति घोषणा गर्नुपर्ने माग गर्दै गतसाता अनशन बसेको थियो । २ हजार ४ सय विद्यार्थी भए पनि धौलागिरि बहुमुखी क्याम्पसमा १ हजार ७ सय विद्यार्थी मतदाता कायम भएका छन् । १० विद्यार्थी समूहले संगठन दर्ता गरेपछि निर्वाचन कार्यालयमा तालाबन्दी भएको हो । यसैबीच गलकोट बहुमुखी क्याम्पसमा नेविसंघका लोकेन्द्र गैरेको अध्यक्षतामा सर्वसम्मत स्ववियु कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा नेविसंघकै सुप्रिया गौतम, सचिवमा अखिल क्रान्तिकारीका गगन विक र कोषाध्यक्ष र सहसचिवमा अनेरास्ववियुका गण्ोश सापकोटा र सुष्मा पन्त चयन भएको निर्वाचन अधिकृत नवराज गौतमले जानकारी दिए । बरेङको सर्वोदय क्याम्पसमा अखिल छैटौंका गणेश पौडेल नेतृत्वको स्ववियु निर्विरोध घोषणा भएको छ ।

प्रकाशित : चैत्र ६, २०७९ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?