खर्च घटाउन गण्डकीका मुख्यमन्त्री अधिकारीको निर्देशन- गण्डकी - कान्तिपुर समाचार

खर्च घटाउन गण्डकीका मुख्यमन्त्री अधिकारीको निर्देशन

प्रतीक्षा काफ्ले

कास्की — गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्री र सचिवलाई अनावश्यक खर्च घटाउन निर्देशन दिएका छन् । बिहीबार बसेको बैठकमा मुख्यमन्त्री अधिकारीले पुँजीगत खर्च बढाउन र चालु खर्च घटाउन निर्देशन दिएका हुन् ।

आर्थिक ऐन, नियम तथा कार्यविधि कार्यान्वयन गरी पुरानो बेरुजु रकम फर्छ्यौट गर्न एवम् नयाँ बेरुजु हुन नदिन पहल गर्नुपर्ने उनले बैठकमा बताएका थिए । मुख्यमन्त्रीले प्रदेशको सुशासन कायम गर्नुपर्नेमा पनि जोड दिएका थिए ।

प्रदेश गौरवका आयोजनालाई अगाडि बढाउन, समपुरक, विशेष र वित्तीय समानीकरण अनुदानको गुणात्मकता ल्याउन समन्वय, सहअस्तित्व र सहकार्यको अवधारणालाई व्यवहारमा उतार्ने गरी ठोस कार्यक्रम र कार्ययोजना समन्वयात्मक ढंगबाट सम्पादन गर्नेगरी व्यवस्था मिलाउन, सबै मन्त्रालयले आवधिकरुपमा ठोस नतिजासहितको कार्य प्रगति प्रतिवेदन पेस गर्न पनि निर्देशन दिएका छन् ।

प्रकाशित : माघ १२, २०७९ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रपति र उपराष्ट्रपति चुनावबारे दाहालले मागे नेताहरूको सुझाव

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुक अब राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा जाने भन्दै त्यसबारे धारणा बनाउन स्थायी कमिटी सदस्यहरूलाई आग्रह गरेका छन् । स्थायी कमिटीको बिहीबार सुरु भएको बैठकमा दाहालले समसामयिक राजनीतिक विषयमा ब्रिफिङ पनि गरेका थिए ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको फागुन २९ गते कार्यकाल सकिन लागेको र नयाँ राष्ट्रपतिका लागि निर्वाचन तयारी भइरहेको अवस्थामा दाहालले पार्टीका नेताहरूबाट सुझाव मागेका हुन् ।

स्थायी कमिटी सदस्य महेश्वरजंग गहतराजले मुलुकको अबको राजनीतिबारे धारणा बनाएर आउन अध्यक्ष दाहालबाट आग्रह भएको बताए । 'अब मुलुक राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा केन्द्रित हुन्छ । स्थायी कमिटीको यो बैठकमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे पनि छलफल हुन्छ । यसबारे सबैले धारणा बनाउनुहोला भन्नुभएको छ,' गहतराजले भने ।

एमालेसँगको गठबन्धनलाई नै अगाडि बढाउने आफ्नो पूर्ण प्रयास रहने कुरा पनि दाहालले स्थायी कमिटीमा राखेका थिए । उनले एमालेसँग २०७५ सालमा भएको पार्टी एकतादेखि एकता विघटनसम्मका विषय पनि राखेका थिए ।

स्थायी कमिटी सदस्य जयपुरी घर्तीले बैठकमा अध्यक्ष दाहालले राखेका विषयबारे भनिन्, 'विगतमा पार्टी एकता भयो फेरि विघटन भयो, यो पृष्ठभूमिमा अहिले सरकार बनेको छ । यो गठबन्धन टिकाउने र अर्को निर्वाचनसम्म लैजाने भन्ने हाम्रो कोसिस रहन्छ भन्ने कुरा राख्नुभएको थियो ।'

राष्ट्रपति निर्वाचनबारे दाहालले सत्ता साझेदार एमालेसँग छलफल चलिरहेको जानकारी स्थायी कमिटीलाई दिएका थिए । कांग्रेसले सरकारलाई विश्वासको मत दिएको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने विषयमा गठबन्धनमा रहेका अन्य राजनीतिक दलका नेताहरूसँग पनि छलफल चलिरहेको उनले बताएका थिए ।

एमालेले गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार उठाउने भनेको र कांग्रेसले पनि विश्वासको मत दिएपछि राष्ट्रपतिमा दाबी गरेको कुरा दाहालले बताएका थिए । यस विषयमा दाहालको भनाइ उदृत गर्दै घर्तीले भनिन्, 'सबैसँग छलफल गरेर जानुपर्छ । कांग्रेसले पनि समर्थन गरेर आएको छ । राष्ट्रपतिबारे गठबन्धनमा पनि छलफल भइरहेको छ ।' सत्ता गठबन्धनभित्र एमालेबाट राष्ट्रपति र माओवादी केन्द्रबाट उपराष्ट्रपति उम्मेदवार बनाउने सहमति छ ।

स्थायी कमिटी बैठकपछि नेता देवेन्द्र पौडेलले राष्ट्रपतिमा संविधान रक्षा गर्ने व्यक्तिलाई अगाडि सार्नुपर्ने अभिव्यक्ति दिएका छन् । 'राष्ट्रपतिमा संविधानको व्यवस्थाअनुरुपको व्यक्तित्वलाई अगाडि सार्न सक्यौं भने भोलि हुने सम्भावित दुर्घटनालाई नियन्त्रण, संविधान संरक्षण, सहमति कायम गर्न र अहिलेको बनावट भएको संसद्लाई पाँच वर्ष पूरै लैजान सकिन्छ,' माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार पौडेलले भने, 'राष्ट्रपतिका लागि एमालेबाहेक सहमति वा कांग्रेस बाहेकको राष्ट्रिय सहमति भनेको होइन । एमाले र कांग्रेस सहितको सहमति भनेको हो । सहमतिको व्यक्तित्वलाई अगाडि बढाउन सक्यौं भने राम्रो हुन्छ ।'

माओवादी स्थायी कमिटीको बैठकले शुक्रबारदेखि एजेन्डामा छलफल गर्ने भएको छ । उपाध्यक्ष एवं पार्टी प्रवक्ता कृष्णबहादुर महराले शुक्रबार बिहान ११ बजेदेखि एजेन्डामा छलफल गर्नका लागि बैठक बस्ने बताए । संगठन विस्तार, पार्टीमा उपाध्यक्ष थप तथा समसामयिक राजनीतिक विषयमा स्थायी कमिटी बैठकमा एजेन्डा राखिएका छन् ।

प्रकाशित : माघ १२, २०७९ १८:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×